‘कोरोनादेखि डराइहाल्नु पर्ने अवस्था छैन तर सावधानी चाहिँ अपनाऔँ’



नेपालमा कोरोना भाइरसका संक्रमितहरुको संख्या दिन प्रतिदिन बढ्दै गइरहेको छ । संक्रमितको संख्या बढेसँगै मृतकको संख्या पनि पहिलेको तुलनामा बढेको पाइन्छ । तर संक्रमित र मृतकको संख्या बढ्दै गएपनि पछिल्लो समय मानिसहरुको संक्रमणको त्रास भने घट्दै गएको पाइएको छ । कयौँ मानिसहरुले कोरोना केहि पनि होइन । यो सामान्य फ्लू मात्रै हो । लागिहाल्यो भने पनि उपचार ग¥यो भने सजिलै निको हुन्छ । अनावश्यक रुपमा बढी प्रचारप्रसार गरियो भन्ने गरिएको पाइन्छ । यसै सन्दर्भमा खासमा कोरोना भनेको के हो  ? यसको उपचार कसरी गरिन्छ  ? जोखिम कत्तिको छ  ? भन्ने बारेमा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा कार्यरत कन्सल्टेन्ट जनरल फिजिसियन डा. अनिल श्रेष्ठसँग गरिएको कुराकानी  :

१. कोरोना भाइरस (कोभिड–१९) भनेको के हो ? यो मानिसमा कसरी लाग्छ ?

पछिल्लो समय विश्वमा नै महामारीका रुपमा देखिएको कोराना भाइरस अर्थात कोभिड–१९ भनेको एक प्रकारको भाइरसका कारण लाग्ने रोग हो । यो भाइरस मानिसको शरीमा प्रवेश गरेपछि विभिन्न असरहरु देखाउने गरेको छ । विभिन्न माध्यमबाट कोरोनाको संक्रमण मानिसमा लाग्ने वा सर्ने गरेको पाइन्छ । विषेश गरेर कुनै संक्रमित व्यक्तिले खोक्दा, हाछ्यू गर्दा निस्कने थुकका छिटाहरु अर्को स्वस्थ्थ व्यक्तिमा पर्न गयो भने छिटो सर्ने सम्भावना हुन्छ । त्यो बाहेक संक्रमित व्यक्तिसँग हात मिलाउँदा, अंकमाल गर्दा, उसले प्रयोग गरेका सरसमानहरु प्रयोग गर्दा कोरोना संक्रमण सर्ने गरेको पाइन्छ । जस्तो संक्रमितले प्रयोग गरेको टेबल, कुर्सी, लत्ताकपडा लगायत अन्य भाँडाकुडाहरुबाट अर्को स्वस्थ व्यक्तिले प्रयोग ग¥यो भने त्यो स्वस्थ्थ व्यक्तिमा पनि सर्न सक्ने सम्भावना बढी हुन्छ । अर्को कुरा सरसफाईको कमीका कारण पनि यो संक्रमण मानिसमा लाग्ने गरेको छ ।

२. कोरोना संक्रमण भइसकेपछि मानिसमा के कस्ता लक्षणहरु देखा पर्दछन् ?

कोरोना संक्रमण लागिसकेपछि सामान्यतया मानिसहरुमा घाँटी खसखस गर्ने सुख्खा खोकी लाग्ने, ज्वरो आउने, टाउँको दुख्ने, स्वासप्रश्वासमा समस्या देखिने, नाकको गन्ध हराउने जस्ता लक्षणहरु देखिने गरेका छन् । त्यसका साथै कुनै–कुनै संक्रमितहरुमा पखाला लाग्ने, स्याँस्याँ हुने लक्षणहरु पनि देखिएको अवस्था छ । सबै संक्रमितहरुमा एउटै लक्षण देखिन्छ भन्ने पनि छैन । अहिलेसम्म हेर्ने हो भने व्यक्ति पिच्छे नै फरक फरक लक्षण देखिने गरेको पाइएको छ । कुनै व्यक्तिलाई ज्वरो मात्र आउने गरेको छ भने कुनैलाई ज्वरो, सुख्खा खोकी, टाउँको दुख्ने जस्ता लक्षणहरु पनि देखिने गरेका छन् । फेरि कुनै व्यक्तिमा दुबै लक्षणहरु पनि देखिने गरेको छ । यसले गर्दा सबै व्यक्तिमा एउटै लक्षण देखिन्छ भन्ने छैन । कुनै संक्रमित व्यक्तिमा लक्षण नै नदेखिएको पनि छ ।

३. अस्पतालमा आउने सम्भावित संक्रमित र संक्रमितहरु उपचार कसरी गरिरहनु भएको छ ?

विशेष गरेर हामीले ज्वरो आएका, रुघाखोकी लागेका, नाकको गन्ध हराएका, टाउँको दुख्ने, पखाला लाग्ने समस्या भएका विरामीहरुलाई छुट्टै राखेर चेकजाँच तथा उपचार गर्ने गरेका छौँ भने यस्ता कुनै पनि लक्षण नभएका विरामीहरुलाई ओपिडिमा पठाउने गरेका छौँ । उहाँहरुको नर्मल पहिलेको जस्तैगरी उपचार भइरहेको छ । तर लक्षण देखिएकाहरुलाई ओपिडिमा जान दिएका छैनौँ । उनीहरुका लागि हामीले अस्पतालमा फिवर क्लिनिक, ब्ल्याक जोन भनेर छुट्याएका छौँ । घरमा पठाउन मिल्ने व्यक्तिहरुलाई सामान्य औषधी दिएर पठाउने र पीसीआरको लागि बोलाउने गरेका छौँ । आज हुने भए आजै र आज नहुने भए अर्को दिन आउनु भनेर बोलाउने गरिएको छ भने जसलाई घर पठाउन मिल्दैन, उनीहरुलाई डाइरेक्ट आइसोलेसन वा आइसियूमा राखेर उपचार सुरु गर्ने गरिएको छ ।

४. अहिलेसम्म आधिकारिक रुपमा कुनै पनि देशले कोरोनाको औषधी बनाइसकेको छैन । यो अवस्थामा संक्रमितहरुलाई कुन औषधी अथवा कसरी उपचार गरिन्छ ?

कोरोना पोजेटिभ केसहरु अस्पताल आइसकेपछि हामीले उनीहरुलाई तीन भागमा छुट्याउने गरेका छौँ । माइल, मोडेड र सिडिएस अथवा क्रिटिकल तीन वटाकै आ–आफ्नै लक्षण हुन्छन् । उनीहरुको लक्षण र प्यारामिटरको आधारमा संक्रमित अक्सिजनको मात्रा, स्वास फेर्ने गतिका आधारमा वर्गीकरण गरिन्छ । उनीहरुको लागि कस्तो औषधी कसलाई दिने भन्ने छुट्टाछुट्टै खाका तयार पारिएको छ । हुन त अहिलेसम्मकुन औषधी दिएर १०० मा १०० प्रतिशत भाइरस मार्छ, संक्रमित ठिक हुन्छ भन्ने एकिन छैन तर केहि आशा लाग्दा एक दुई वटा औषधीहरु छन् । ती औषधीहरु हामीले प्रयोग गरिरहेको अवस्था छ । त्यो बाहेक औषधीहरु पनि छन् जो संक्रमितहरुलाई दिँदा सञ्चो भएर पनि भएका छन् । त्यो नै कोरोनाको औषधी हो भन्ने सकिने अवस्था छैन । किनकी कुनै प्रमाणित भएको छैन । अहिले यसको औषधीहरु संसारभरी नै ट्राईलकै क्रममा छ । अझै एक वर्ष लाग्न सक्छ, अनि मात्रै हामी एकिन गर्न सक्छौँ । यसरी तीन भागमा वर्गीकरण गरिएका मध्ये माईल केसका लागि सामान्य ज्वरो, रुघाखोकी, रगत पातलो बनाउने भिटामिन सी, जिङ्क ट्याब्लेट जस्ता औषधीहरु दिने गरेका छौँ भने मोडेड र सिरियस केसका लागि अलि विशेष औषधीहरु प्रयोग गर्नुपर्ने हुन्छ । मोडेड खालका केसहरुमा अक्सिजनको कमी हुन्छ । उनीहरुलाई अक्सिजनसँगै रेमिड शिविर इन्जेक्सन दिने गरिएको छ । त्यसले विरामीहरु छिटो निको हुने गरेको पाइएको छ । सिरिएर केसमा पनि यो इन्जेक्सन दिने गरिएको छ । यसका साथै स्टुराइट नामक औषधी र प्लाज्मा थेरापी विधि पनि उपयोगी देखिएको छ ।
५. संक्रमण देखिसकेपछि कति दिन आइसोलसन वा अस्पतालमा बस्नु पर्ने हुन्छ ?

सुरुको चरणमा सामान्यतया कुनै व्यक्तिमा संक्रमण देखियो भने संक्रमण देखिएको १४ दिन आइसोलेसनमा राख्ने गरिन्थ्यो । १४ दिनसम्म पनि कुनै लक्षण नदेखिएपछि अन्त्यमा पीसीआर परीक्षण गरेर रिपोर्ट नेगेटिभ आएपछि मात्रै सात दिन होम आइसोलेसन बस्ने गरि पठाउने गरिएको थियो । अहिले पछिल्लो समय आइसोलेसनमा बसेको १४ दिनपछि संक्रमितमा कुनै पनि लक्षण नदेखिएमा जाँच नै नगरी सात दिन होम आइसोलेसनमा बस्ने गरी डिस्चार्ज गर्ने गरिएको छ । १४ दिन आइसोलेसनमा बसेर निको भएको व्यक्तिमा दुई महिनासम्म पनि पोजेटिभ देखिने हुन्छ । तर ऊ निको भइसकेको हुन्छ । यसमा अहिले मानिस झुक्किने गरेको पाइन्छ । निको भइसकेको व्यक्तिमा २ महिनासम्म पनि जाँच गर्दा रिपोर्ट पोजेटिभ देखिन सक्छ । तर यसले कुनै असर गर्दैन । यसलाई निको भइसकेको भनेर बुझ्नुपर्छ ।

६. संक्रमण देखिसकेपछि यसको उपचारमा कति खर्च लाग्छ ? विरामीले तिर्नु पर्छ कि अथवा सरकारले निःशुल्क उपचार गर्ने
गरेको छ ?

खर्चको कुरा गर्ने हो भने माइन अर्थात सामान्य लक्षण देखिएको संक्रमित छ भने औषधीहरु पनि सामान्य नै प्रयोग गर्नुपर्ने हुन्छ । खर्च पनि त्यति लाग्ने कुरा भएन । महँगो खालको प्लाज्मा थेरापी, रेमिड शिविर जस्ता औषधीहरु प्रयोग गर्नुपर्ने हुँदैन । सामान्य भिटामिन बी, सी जस्ता औषधीहरु प्रयोग हुन्छ । यसमा त्यति खर्चिलो हुँदैन । खर्चिलो भनेको मोडेड र सिरिएस केसमा हो । यस्ता संक्रमितहरुका लागि रेमिड शिविर औषधी प्रयोग गर्नुपर्छ । अरु औषधी भन्दा यो औषधी अलि महँगो छ । यो औषधी सरकारी रेट अनुसार एउटा भाइललाई ८ हजार रुपैयाँसम्म पर्छ । मोडेड र सिरिएस खालको एक जना विरामीलाई ६ भाइल औषधी दिनुपर्छ । एउटा व्यक्तिलाई ६ भाइल औषधी दिँदा ४८,००० रुपैयाँ रेमिड शिविर औषधीको मात्रै पर्छ । यस्तै प्लाज्मा थेरापी पनि महँगो नै पर्छ तर यि सबै औषधीको खर्च सरकारले नै व्यहोर्ने गरेको छ ।

७. कोरोना संक्रमण हुन नदिन वा संक्रमित भइसकेपछि खानपानमा ध्यान दिन कत्तिको जरुरी हुन्छ ?

हामीले हाम्रो स्वास्थ्यको लागि सरसफाइसँगै र पौष्टिक आहारमा पनि ध्यान दिन जरुरी छ । सफा र पौष्टिक खाना कारणले नै हाम्रो शरीरमा रहेको रोगसँग लड्ने रोगप्रतिरोधात्मक शक्ति बढाउँने भएकाले खानपानमा विषेश ध्यान दिनुपर्ने हुन्छ । कोरोना संक्रमण हुन नदिन वा भइसकेपछिको कुराका सन्दर्भमा विशेष गरेर यस्तो खाना खानुपर्छ वा खानु हुँदैन भन्ने छैन । सधै जसरी नै सफा, स्वच्छ र पौष्टिक खाने कुराहरु खानु पर्ने हुन्छ । कुनै पनि रोग लाग्न नदिँन खानपानसँगै व्यक्तिगत सरसफाइमा पनि उत्तिकै ध्यान दिन जरुरी हुन्छ । प्रायः रोगहरु फोहोरकै कारण लाग्ने हुनाले खानपानसँगै सरसफाईमा पनि विषेश ध्यान राख्नु पर्दछ । कोरोना लाग्न नदिनका लागि मात्र नभई आफू स्वस्थ्थ रहन र अन्य रोगहरु नलाग्न दिनका लागि सधै ताजा र हरिया सागपात, फलफुल, गेडागुडी जस्ता पौष्टिक खानाहरु सधै सेवन गर्नुपर्ने हुन्छ ।

८. कोरोना संक्रमण भएको बेला माछा, मासु खानु हुँदैन भन्ने गरिन्छ । साँच्चीकै खान नमिल्ने हो ?

त्यस्तो होइन, गलत बुझाइले गर्दा यस्तो भनिएको हो । मानिसहरुले कोरोना मात्र नभई टाइफाइड, जण्डिस, ग्यास्टिक जस्ता रोगहरु लागेमा पनि माछा, मासु खानु हुँदैन भन्ने गरेका छन् । तर खानै नमिल्ले चाहिँ होइन । खान मिल्छ । मान्छेहरुले त्यस्तो भन्नुको कारण के हो भने, माछा, मासु भन्ने बित्तिकै चिल्लो, पिरो, मसालेदार हुन्छ, त्यस्तोले असर गर्छ भनेर भन्ने गरेका हुन् । ज्वरो आउँदा, टाइफाइड, जण्डिस हुँदा पनि खान मिल्छ तर चिल्लो पिरो, मसलाहरु कम गरेर शरीले पचाउन सक्ने जति खानुपर्छ ।

९. अहिले सम्मको अवस्था हेर्दा एक पटक संक्रमण पुष्टि भएको व्यक्तिलाई फेरि अर्को पटक संक्रमण हुन सक्ने सम्भावना कति हुन्छ ?

अहिलेसम्मको अवस्था हेर्ने हो भने डाक्टर, चिकित्सक, वैज्ञानिकहरुले यसबारेमा एकिन गरेर भन्न सकिरहेको अवस्था छैन । एक पटक संक्रमण भएको व्यक्तिलाई अर्को पटक फेरी लाग्न पनि सक्छ, नलाग्न पनि सक्छ । ग्यारेन्टीका साथ भन्ने सकिने अवस्था छैन । कुनै पनि निकायबाट एक पटक संक्रमण भएको व्यक्तिलाई फेरी पनि संक्रमण हुन्छ भनेका छैनन् तर पनि मेरो विचारमा एक पटक संक्रमण भएको व्यक्तिलाई फेरी पनि संक्रमण हुन सक्ने सम्भावना छ भन्ने लाग्छ ।

९. कोरोना संक्रमण निको भएर घर गइसकेका व्यक्तिहरुमा फेरी कुनै त्यस्तो समस्या देखिने गरेको छ कि छैन ?

अहिले त्यस्तो पाइएको छैन । संक्रमण भएर निको भइसकेको व्यक्तिमा घर गइसकेपछि अन्य कुनै त्यस्तो लक्षणहरु देखिएको पाइएको छैन । किन भने हामीले यहाँ भर्खर भर्खरै उपचार सुरु गरेका छौँ । केहि हप्ता मात्रै भयो । उहाँहरु निको भएर घर गएपछि कुनै त्यस्तो समस्याहरु लिएर आउनु भयो भने थाहा होला तर अहिलेसम्म आउनु भएको छैन । निको भएका व्यक्तिहरुमा अन्य कुनै लक्षण देखियो अथवा समस्या देखियो भने उहाँहरु मलाई यस्तो समस्या देखिएको छ, लक्षणहरु देखिएका छन् भनेर अहिलेसम्म आउनु भएको छैन ।

१०. पछिल्लो समय केही मानिसहरुले कोरोना केही पनि होइन । लागिहालेमा पनि सजिलै निको भइहाल्छ, अनावश्यक प्रचारप्रसार गरियो भन्ने गरेको पाइन्छ । उनीहरुले भनेजस्तै हो ?

यसलाई मानिसहरुले दुई तरिकाले लिने गरेको पाइएको छ । एकथरी कोरोना केहि पनि होइन, यसलाई सामान्य रुपमा लिनुपर्छ भन्ने गरेको पाइन्छ भने अर्कोथरीले कोरोना भनेको त खतरनाक रोग हो, यो लाग्यो भने बाच्न पनि गाह्रो हुन्छ भन्ने गरेका छन् । यि दुईथरी भनाइलाई आत्मासाथ गर्दै हामी बिचको बाटोबाट जानु पर्ने हुन्छ । उनीहरुले भनेका केहि कुरामा सत्यता छ तर १०० प्रतिशत नै ठिक छ भन्ने छैन । हामीले यसलाई केहि होइन भनेर हेल्चक्राई वा लापरवाही ग¥यौ भने पनि बाँच्न गाह्रो छ । यदि लागिहाल्यो भने मरिहाल्छ कि भनेर डराइहाल्नु पर्ने अवस्था पनि छैन । वास्तविक अवस्था के छ भने कोरोना लाग्यो भने १०० मा ८० प्रतिशतलाई खास्सै कुनै असर गर्दैन । कुनै लक्षण पनि देखिँदैन । यदि देखिहाल्यो भने पनि सामान्य ज्वरो आउने, रुघाखोकी लाग्ने, टाउँको दुख्ने जस्ता लक्षणहरु देखिएर निको भइहाल्छ । तर समस्या हुने भनेको १०० मा २० प्रतिशतलाई हो । उनीहरुलाई आइसोलेसनमा राख्ने हुन सक्छ । अझ त्यसमा पनि २० प्रतिशतको ५ प्रतिशतलाई एकदमै जटिल समस्या देखिन सक्छ । उनीहरुलाई स्वासप्रश्वासको समस्या देखिने, अथवा अन्य जटिल समस्याहरु देखिएर आइसीयूमा राखेर उपचार गर्नुपर्ने, भेन्टिलेटरमा राखेर कृतिम श्वास दिनुपर्ने हुन सक्छ र १ देखि ५ प्रतिशतको मृत्यु पनि हुन सक्छ । त्यसैले हामीलाई कोरोनालाई सामान्य रुपमा लिनु हुँदैन । १०० मा ५ प्रतिशत मृत्यु हुनु भनेको सानो संख्या होइन । पोजेटिभ भयो भन्दैमा एकदमै डराउनु पर्ने अवस्था पनि छैन । तर सर्तकता र सावधानी अपनाउन भने जरुरी छ ।

११. अन्त्यमा आम नागरिकहरुलाई के सुझाब दिन चाहनु हुन्छ ?

म आम नागरिकलाई के सुझाव दिन चाहन्छु भने अनावश्यक रुपमा घर बाहिर ननिस्कांै, धेरै भिडभाड हुने ठाउँमा पनि नजाऔँँ । जानै पर्ने भएमा मास्क र सेनिटाइजरको अनिवार्य प्रयोग गरौँ । सभा, सम्मेलनको आयोजना नगर्ने, आफ्नो मान्छे हो भन्दैमा कुनै कसैसँग पनि मास्क नलगाएर नजिक नबस्ने, हात मिलाउने, अंकमाल गर्ने जस्ता कार्यहरु नगर्ने, किन कि ८० प्रतिशत मानिसहरुमा लक्षण पनि नदेखिने भएकाले उनीहरुमा पनि संक्रमण हुन सक्छ । उनीहरुको सम्पर्कमा गयौँ भने स्वस्थ व्यक्तिलाई पनि सर्न सक्छ । त्यसैले सावधानी अपनाउन जरुरी हुन्छ । कुनै व्यक्तिसँग अन्तक्र्रिया वा छलफल गर्ने परेमा भौतिक दुरी कायम गर्ने, मास्क र सेनिटाइजरको प्रयोग गर्ने, पटक पटक साबुन पानीले हात मुख धुने जस्ता कार्यहरु गर्नुपर्ने हुन्छ । कोहि व्यक्तिमा संक्रमण देखिएको भए वा लक्षण देखिएको भए उनीहरुको सम्पर्कबाट टाढा रहने गर्नु पर्दछ । आफू पनि सुरक्षित रहाँै र अरुलाई पनि सुरक्षित हुन मद्धत गरौँ ।

 प्रस्तुतीः यानबी साहु

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २५ गते बिहीबार