पृथ्वीपुर छोटी भन्सार बन्द भएपछि स्थानीय आन्दोलित



कैलाली ।
सरकारको निर्णयअनुसार भजनी नगरपालिका–५ स्थित पृथ्वीपुर छोटी भन्सार कार्यालय बन्द गरिएपछि स्थानीयवासी आन्दोलनमा उत्रिएका छन् । भन्सार पुनस्र्थापनाको माग गर्दै स्थानीय नागरिक, भजनी उद्योग वाणिज्य संघ तथा विभिन्न सरोकारवाला पक्षको सहभागितामा संघर्ष समिति नै गठन गरी भन्सार कार्यालय पुनः सञ्चालनको माग गरिरहेका छन् ।

पृथ्वीपुर भन्सार पुनस्र्थापना संघर्ष समितिका संयोजक अमृत केसीले सरकारले गरेको भन्सार बन्द गर्ने निर्णय त्रुटिपूर्ण रहेको बताएका छन् । उनका अनुसार भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका लगायतका स्थानीय तहका नागरिकले यही नाकामार्फत दैनिक उपभोग्य वस्तुको आयात–निर्यात गर्दै आएका थिए । भन्सारबाट उल्लेखनीय राजस्वसमेत संकलन भइरहेकाले कार्यालय बन्द गर्नु स्थानीय हितविपरीत भएको उनको भनाइ छ ।

भन्सार बन्द भएपछि संघर्ष समितिले स्थानीय तहका प्रमुखहरूलाई ध्यानाकर्षण गराउनुका साथै सम्बन्धित भन्सार कार्यालयमा ज्ञापनपत्रसमेत बुझाइसकेको जनाएको छ । यसै विषयमा छलफल गर्न भजनी नगरपालिका, बर्दगोरिया गाउँपालिका, कैलारी गाउँपालिका र घोडाघोडी नगरपालिकाका प्रमुखसहितको टोली बिहीबार काठमाडौँ जाने तयारीमा रहेको संयोजक केसीले जानकारी दिए ।

उनका अनुसार पृथ्वीपुर भन्सार कार्यालय सत्ति भन्सार कार्यालयबाट करिब २०–२२ किलोमिटरको दूरीमा रहेको छ । सत्ति भन्सारबाट करिब ७ किलोमिटरमै अर्को भन्सार सञ्चालनमा रहँदा पृथ्वीपुर भन्सार मात्र बन्द गर्नुको औचित्यमाथि स्थानीयले प्रश्न उठाएका छन् । संघर्ष समितिले अब छोटी भन्सार पुनः सञ्चालन मात्र नभई पृथ्वीपुरमा मूल भन्सार कार्यालय नै स्थापना गर्नुपर्ने माग अघि सारेको छ ।

‘अब हामीलाई कुनै पनि हालतमा मूल भन्सार कार्यालय नै चाहिन्छ,’ संयोजक केसीले भने । स्थानीयका अनुसार वि.सं. २०२२ सालदेखि सञ्चालनमा रहेको पृथ्वीपुर भन्सार कार्यालयलाई एकाएक बन्द गर्नु नियमसंगत नभएको र यसले स्थानीय व्यापार, राजस्व संकलन तथा जनजीवनमा प्रत्यक्ष असर पारेको उनीहरूको भनाइ रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०८३ साउन २१ गते बिहीबार