सम्पादकिय : अनावश्यक रुपमा खर्च नगरौं



तीन तहका सरकार कोरोना कहरसँग लडिरहेका छन् । ६ महिनादेखि निरन्तर कोरोना विरुद्धको अभियानमा सरकारहरु सक्रियरुपमा लागिरहेको अवस्था छ । तर पनि एकतिर तीनै तहका सरकार कोरोना विरुद्धको अभियानमा लागिरहेका छन् । अर्कातिर कोरोना संक्रमण बढिरहेको छ । यस्तो अवस्थामा कोरोनाबाट बच्नुको अर्को विकल्प छैन । पछिल्लो समय झन् लक्षण सहितको कोरोना पुष्टि हुनु र मृतकको संख्या बढ्नुले झन् जोखिम निम्त्याइरहेको छ । कोरोनाका बारेमा सचेतना भन्दा पनि अपवाह बढी फैलाइएका कारण पनि यस्तो समस्या देखिएको हो । कोरोना लागेमा आत्मविश्वासका साथ जितिन्छ भन्ने कुरा सिकाउन जरुरी देखिन्छ ।

कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपालले निकै चर्काे रुपमा खर्च गरेको छ । नेपालको कोरोना रोकथाम तथा नियन्त्रणका लागि अरबौं रकम खर्च भैसकेको छ । तर अहिलेसम्म पनि खर्च गरे अनुसारको भने प्रतिफल आएको देखिदैन । अहिले नेपालमा दिनदिनै कोरोना संक्रमित बढ्दै गएको देखिन्छ । कोरोना परीक्षणका लागि जनताहरुले रकम तिरेपछि मात्र कोरोना परीक्षण गरिन्छ । नेपालका क्वारेन्टिनमा कतिपय गाउँबाट नै गाँस, बास, कपासको व्यवस्था गरेको समेत देखिएको छ । कतिपय विद्यालयहरुमा महिनौसम्म पनि एउटै कपडाहरु प्रयोग गरिएको देखिन्छ । तर नेपाल सरकारले अरबौ रकम खर्च कहाँ ग¥यो त ? यस्तै बाँकेमा पनि आठ स्थानीय तहले १९ करोड भन्दा बढी खर्च गरेका छन् । चैत्र ११ गतेदेखि नेपालमा सरकारले लकडाउन गरेको थियो ।

लकडाउन तथा निषेधाज्ञा गरेको ६ महिनामा स्थानीय तहहरुले १९ करोड ३२ लाख ८७ हजार २ सय ७९ रुपैँया खर्च गरेका छन् । कोरोना रोकथाम तथा नियन्त्रण गर्नेका लागि जिल्लामा सबैभन्दा बढी नेपालगञ्ज उप–महानगरपालिकाले खर्च गरेको छ भने सबैभन्दा कम डुडुवा गाउँपालिकाले खर्च गरेको छ । नेपाली नागरिकलाई खर्च अनुसारको सेवा सुविधा हुन आवश्यक छ । यहाँका स्थानीय तहको खर्च हेर्दा लाग्छ, यहाँका नागरिकहरुले धेरै कुरा पाए । पाइरहेका छन् । तर यर्थात त्यस्तो छैन, करोडौ खर्च गरेका स्थानीय तहमा एकपटक राहत नपाएका नागरिक समेत छन् । उनीहरु आफ्नो भाग्यलाई सराप्दै बसिरहेका छन् । तर जनप्रतिनिधि भने कोरोना विरुद्धको अभियान सक्रिय रुपमा लागिरहेको बताइरहेका छन् । जनताले तिरेको करको सदुपयोग खै ?

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २५ गते बिहीबार