नेपालगञ्ज ।
बाँकेको खजुरा गाउँपालिकामा सोमबार रातीदेखि निषेधाज्ञा जारी गरिएको छ । आईतबार पहिलोपटक सबैभन्दा बढी कोरोना संक्रमित भेटिएपछि गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको हो । कोरोना भाइरस संक्रमण रोकथाम तथा न्यूनिकरणका लागि जिल्ला प्रशासन कार्यालय बाँकेले सोमबार निषेधाज्ञा जारी गर्ने निर्णय गरेको थियो ।
एक सूचना जारी गर्दै सोमबार राती १२ बजेदेखि लागू हुने गरि खजुरा गाउँपालिकामा निषेधाज्ञा लगाइएको छ । नेपालगञ्ज–गुलरिया सडकखण्डको कपास विकासदेखि वीपि प्रतिक्षालयसम्मको दायाँबायाँ ५ सय मिटर क्षेत्रमा पर्ने सबै वडामा निषेधाज्ञा जारी गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिए ।
निषेधाज्ञा आगामी भदौ २७ गते राती १२ बजेसम्म जारी रहनेछ । खजुरा गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको बैठकबाट उक्त क्षेत्र सिल गर्ने भनि सिफारिस आएकोले सोही अनुसार जिल्ला प्रशासन कार्यालय बाँकेले निर्णय गरेको हो । यो अवधिमा स्वास्थ्य, शान्ति, सुरक्षा, विद्युत, दूरसञ्चार, खानेपानी, फोरमैला व्यवस्थापन, ग्यास, पेट्रोलियम पदार्थ, औषधी पसल, डेरी र एटिएम जस्ता अत्यावश्यक सेवाहरु सञ्चालन गर्न पाउनेछन् ।
यस्तै यो अवधिमा एम्बुलेन्स, शव बहान, झण्डावाला गाडी, कुटनितिक गाडी, लामो दूरीका मालबहाक गाडी, निर्माण सम्बन्धि ढुवानीका सवारी साधन, अत्यावश्यक सेव सञ्चालनमा खटिएका जनशक्तिले प्रयोग गरेका सवारी तथा सवारी पास पाएका साधन मात्र चल्न पाउनेछन् ।









प्रतिक्रिया दिनुहोस्