बाँसगढी ।
बाँसगढीमा रहेको वाईवाई चाउचाउ उत्पादन गर्ने सिजी फुड्समा कार्यरत मजदुरहरुलाई कोरोना देखिएपछि उच्च सर्तकता अपनाइएको
छ । आइतबार फुड्समा कार्यरत ४२ जनामा कोरोना पुष्टि भएपछि बाँसगढीमा उच्च सर्तकता अपनाइएको हो । सोमबार बिहानैदेखि भदौं २८ गते मध्यरातसम्म बाँसगढीमा निषेधाज्ञा जारी गरिएको छ ।
एकैपटक ठूलो संख्यामा कोरोना संक्रमण पुष्टि भएपछि उच्च सर्तकता अपनाइएको बाँसगढी नगरपालिकाले जनाएको छ । नगर स्वास्थ्य प्रमुख धन बहादुर रेग्मीका अनुसार सिजी कोरोना पुष्टि भएकामध्ये ३४ जना नगरभित्रका विभिन्न वडामा बासिन्दाहरु हुन् । ‘हाम्रा संक्रमित सबै नागरिकहरुको कन्ट्याक्ट ट्रेसिङ सोमबार गरिसकेका छौं’ उनले भने, ‘कन्ट्याक्ट ट्रेसिङ गर्दा सम्पर्कमा आएका सबैको स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्नेछौं ।’
संक्रमितमध्ये अधिकांश घरबाट नै सिजीमा काम गर्न जाने भएकाले जोखिम बढेको आंकलन गरिएको छ । त्यसैले निषेधाज्ञा नै लगाएर कन्ट्याक्ट ट्रेसिङ र परीक्षणको दायरा बढाउनुपरेको बाँसगढी नगरपालिकाले जनाएको छ । बाँसगढी नगरभित्र अहिलेसम्म १ हजार ७ सय ७७ जना क्वारेन्टिनमा बसिसकेका छन् भने हाल क्वारेन्टिनमा १४ जना रहेका छन् ।
९१ जनामा कोरोना संक्रमण पुष्टि भएकोमा ४२ जना कोरोना जितेर घर फर्किसकेको नगर स्वास्थ्य शाखा प्रमुख रेग्मीले जानकारी दिए । अहिले नगरभित्र ४७ जना संक्रिय कोरोना संक्रमितहरु रहेको उनले बताए । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको नगर स्वास्थ्य शाखाले जनाएको छ । ४२ जनाको कन्ट्याक्ट ट्रेसिङमा परेकाहरुमध्ये पीसीआर परीक्षण गर्दा केही संक्रमित थपिनसक्ने भएकाले नगरपालिकाले सोही अनुसार तयारी गरेको छ ।









प्रतिक्रिया दिनुहोस्