कोरोना बिमाले केही राहत दिनेछ: सगरमाथा इन्स्योरेन्स क्षेत्रीय प्रबन्धक उपाध्याय



नेपालमा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिदै जान थालेपछि कोरोना बिमाको प्याकेज ल्याइएको थियो । उक्त कोरोना बिमा गरेका बीमितले कोरोना संक्रमण पुष्टि भएको खण्डमा दुई किसिमका दाबी भुक्तानि रकम पाउँछन् । त्यो बिमा पोलिसि हो ५० हजार र एक लाख रुपैयाँको ।

पछिल्लो समय नेपालमा कोरोना संक्रमितहरु पनि दैनिक जसो थपिरहेका छन् । केही दिनयता दैनिक एक हजार भन्दा बढी नयाँ संक्रमितहरु थपिरहेको अवस्था छ । मृतकको संख्या पनि दैनिक एक दर्जन भन्दा बढी नै छ । कोरोनाको जोखिम बढेसँगै मानिसहरुको कोरोना बिमातर्फ आकर्षण बढिरहेको छ ।

कोरोना बिमामा भाग लिनेहरुको बारेमा संख्या बढिरहदा केही दिनयता केही विवादहरु समेत सतहमा आएका छन् । कोरोना बिमा, गर्ने तरिका भुक्तानि दाबी कसरी गर्ने लगायतका बिषयमा रहेर सगरमाथा इन्स्योरेन्स कम्पनी नेपालगञ्जका क्षेत्रीय प्रबन्धक गोबिन्द प्रसाद उपाध्यायसँग कुराकानी गरेका छौं ।

१. कोरोना बिमा भनेको के हो ?

अहिले विश्वले नै कोरोना महामारी भोगिरहेको छ । त्यसबाट नेपाल समेत अछुतो रहन सकेको छैन ।

नेपालमा कोरोना संक्रमितलाई केही सहज होस् भन्ने उद्देश्यका साथ कोरोना बिमा ल्याइएको हो । कोरोना महामारी भोगिरहेको बेला संक्रमित भएपछि यसले केही भएपनि मानिसहरुलाई आर्थिक रुपमा सहज हुनसक्छ ।

यस्तो महामारीका समाजमा केही गर्न सकियोस् भनेर बिमा कम्पनीहरुले कोरोना बिमाको कार्यक्रम ल्याएका हुन् । सजिलो रुपमा भन्नुपर्दा कोरोना बिमा भनेको कुनै व्यक्तिले कोरोना बिमा गरिसकेपछि संक्रमित भएर रकम पाउनु नै हो ।

कोरोना बिमा दुई किसिमको छ । ५० हजार र १ लाख रुपैयाँको योजना रहेको छ । यसमध्ये जुनसुकै एक वटा बिमा गर्न सकिन्छ । कोरोना संक्रमित भएपछि दिने राहातलाई नै कोरोना बिमा भनिन्छ ।

२. मानिसहरुले कोरोना बिमा कसरी गर्न सक्छन् ?

बिमा समितिको निति नियम र मापदण्डमा रहेर बिमा कम्पनीहरुले कोरोना बिमा गर्ने गर्दछन् ।

राम्रो कम्पनिले समेत सोही अनुसार बिमा गरिरहेको छ । सबै नेपालीहरु कोरोना बिमा कार्यक्रममा सहभागि हुन सक्छन् अर्थात् सबैले बिमा गर्न पाउँछन् । कोरोना बिमा गर्दा तीन किसिमबाट गर्न सकिन्छ । तीन किसिमको बिमामा पारिवारिक, संस्थागत र व्यक्तिगत रहेको छ ।

पारिवारिक बिमा गर्दा नाता खुल्ने प्रमाणको साथै आफु बस्ने वडाबाट ३५ दिनदेखि सोही ठाउँमा नै बसिरहेको भन्ने सिफारिस ल्याउनुपर्छ । यसमा प्रती व्यक्ति तीन सय मात्र रकम बिमा कम्पनीमा बुझाउनुपर्छ । व्यक्तिगत बिमा गर्दा एक हजार रुपैयाँ बुझाए पुग्छ । त्यसैगरी संस्थागत बिमा गर्दा कार्यालयको लेटर प्याडमा चिट्ठी चाहिन्छ ।

यसमा भने बिमा गर्दा प्रति व्यक्ति ६ सय रुपैयाँ रकम बुझाउनुपर्छ । यो प्याकेजमा लिएर बिमा गरेकाहरु संक्रमित भएमा १ लाख रुपैयाँ बिमा कम्पनीबाट पाउँछन् ।

५० हजार पाउनेगरी बिमा गरेमा प्रक्रिया माथिको सबै पूरा गर्नुपर्छ । तर बिमा कम्पनिलाई बिमा बापतको रकम आधा मात्र बुझाउनुपर्छ । बिमा गर्ने व्यक्तिहरुले अन्य व्यक्तिगत कागजपत्र भने बिमा कम्पनीमा

दिनुपर्छ । त्यसपछि बिमा कम्पनिहरुले कोरोना बिमा गरिदिन्छन् । सरकारी कर्मचारीहरुको भने निःशुल्क रुपमा बिमा हुने गरेको छ । त्यसको लागि सम्बन्धित कार्यालयले नाम ठेगानासहित चिठ्ठी पठाउनुपर्छ । रकम भने सरकारबाट नै बिमा कम्पनीले लिने गर्दछन् ।

३. कोरोना संक्रमण भएको अवस्थामा बिमीतले बिमा रकम दाबी भुक्तानी पाउन कस्तो प्रक्रिया अपनाउनुपर्छ ?

बिमा दाबी भुक्तानी पाउनको लागि कोरोना पीसीआर रिपोर्ट चाहिन्छ । पीसीआर रिपोर्ट आएपछि सम्बन्धित व्यक्तिले जतिसक्यो छिटो बिमा कम्पनीमा बिमा दाबी भुक्तानी पाउन भनेर निवेदन दिनुपर्छ ।

पीसीआर रिपोर्ट सरकारले तोकेको सरकारी पीसीआर प्रयोगशालामा मात्र परीक्षण गरेको पीसीआर रिपोर्ट मान्य हुन्छ । पीसीआर रिपोर्ट पोजिटिभ आएका व्यक्तिले टेलिफोन मार्फत भएपनि मौखिक रुपमा सम्बन्धित बिमा कम्पनीमा जानकारी गराउनुपर्छ ।

४. केही दिनयता कोरोना बिमाको बिषयलाई लिएर एउटा विवाद आएको छ । यस्तो विवाद बाहिर आउनुको खास कारण के–हो ?

बिमा रकम भुक्तानि गर्दा बिमीतलाई बिमा कम्पनिहरुले कहिल्लै पनि अनावश्यक दुख लिन चाहदैनन् । सरल तरीकाले बिमा दाबी भुक्तानि दिन चाहान्छन् । हामीले सरल रुपमा कोरोना बिमाको दाबी भुक्तानि दिदा केही समस्याहरु देखिए । त्यसो हुँदा खेरी मान्यता प्राप्त प्रयोगशालाबाट पोजिटिभ रिपोर्ट आइसकेपछि भुक्तानि दिने मनासाय थियो ।

केही साना नितिगत कुरा टेकेर नेगेटिभ रिपोर्ट आएकाहरुले पनि पोजिटिभ रिपोर्ट आएको बनाइएको पाइयो । अहिले के नेपाल सरकारबाट मान्यता प्राप्त सरकारी नै निकायबाट गरिएको परीक्षणमा पोजिटिभ रिपोर्ट आएपछि मात्रै भुक्तानि दिने भनेर भनेको छ । त्यसले गर्दा सिस्टमलाई पनि राम्रो गर्छ । बिचमा केही समस्या देखिएकोले त्यसलाई सुधार्न मात्र खोजिएको हो ।

बिमीतहरुलाई दुःख दिन खोजिएको होइन । प्रक्रिया पु¥याएर आउने सबै बिमीतहरुले बिमा रकम दाबी भुक्तानि पाउनुहुन्छ । दाबी भुक्तानि रकम नपाउने भनेको होइन केही दिनअघि आएको नियमले सरकारी ल्यावमा पीसीआर परीक्षण गर्दा पोजिटिभ आएका रिपोर्टहरुलाई मात्र लागू गर्ने भनेको हो ।

५. कोरोना संक्रमितहरुले बिमा रकम पाउन ढिलाई हुने गरेको बताउँछन् । पछिल्लो समय यस्तो समस्या किन आइरहेको छ ?

बिमा दाबी भुक्तानिका लागि निवदेन सँगै कागजपत्र आइसकेपछि छानविन गर्नुपर्ने हुन्छ । मैले अघि भनेको जस्तै केही दुई चार जनाले गलत कागजपत्र पेश गरेर बिमा दाबी भुक्तानि गरेको जस्तै अन्यको पनि हुनसक्छ ।

त्यसैले सत्यतथ्य पत्ता लगाउनको लागि बीमा दाबी भुक्तानिको लागि निवेदन र कागजपत्र कम्पनिमा आइसकेपछि छानविन प्रक्रिया चल्छ । त्यसपछि मापदण्ड पुगेर आएर निवेदनले मात्र बिमा रकम भुक्तानि पाउँछन् । गलत दाबी भुक्तानि गर्नेलाई नदिने र सहि दाबी गर्ने भुक्तानि दिनुपर्ने भएकाले पछिल्लो समय अलि धेरै फाइल समेत आउने भएकाले दाबी भुक्तानिमा केही ढिलाई भएको छ ।

केही दिन ढिलो भएपछि सहि तरिकाले दाबी भुक्तानि गर्नेहरुले बिमा रकम पाउँछन् । केही दिन ढिलो हुँदैमा तपाईहरुले दाबी गरेको नपाउने भन्ने हुँदैन । मापदण्ड पुगेमा सबैमा पाउनुहुनेछ भन्ने विश्वास म सबैलाई दिलाउन चाहान्छु ।

६. अहिले कोरोना बिमा गर्नेतर्फ आम मानिसहरुको आकर्षण तपाई कस्तो देख्नुहुन्छ ?

बिमा कम्पनीहरुले अहिलेसम्म ल्याएका प्याकेजमध्ये कोरोना बिमा आकर्षित प्याकेजका रुपमा देखिएको छ । आम मानिसहरुको अहिले यो प्याकेजमा एकदमै धेरै आकर्षण पाइएको छ ।

बीमा रकम दाबी भुक्तानीको लागि केही कडा प्रक्रिया समावेश गरिएको भएपनि सहि सलामत काम गरेमा दाबी भुक्तानी पाइहालिल्छ भनेर मानिसहरु ढुक्क हुनुहुन्छ । बीमितहरुमा कोरोना बिमा प्याकेजले खुसी छाएको छ ।

निम्न आय भएकाहरुलाई पीसीआर परीक्षण गर्दा कोरोना देखिएमा बिमा बापतको रकम पाइने हुँदा आर्थिकमा समेत टेवा पुग्छ । दिनभरी काम गरे साँझ बिहानको खाने जोहो गर्नेहरुलाई कोरोना पोजिटिभ भएमा यो बिमा प्याकेजले ठूलो मद्धत गर्दछ ।

कोरोना बिमा उच्च घरानाका भन्दा बढी न्यून वर्गका मानिसहरुलाई गर्न प्रोत्साहन गर्ने काम बिमा कम्पनीहरुले गरिरहेका छन् । धेरै भन्दा धेरै यो कार्यक्रममा निम्न आय भएका मानिसहरु समावेश हुनुपर्छ भन्ने हाम्रो मान्यता हो । उच्च घराना र निम्न आय भएका सबैलाई कोरोना बिमा गर्न सकिन्छ ।

निम्न आय भएकाहरु समेत सजिलै कोरोना बिमा गर्न सकुन भनेर सरकारले समेत बिमा शुल्कमा पचास प्रतिशत छुट दिएको छ । त्यसैले कोरोना बिमा मानिसहरुको आकर्षण मात्र होइन दिनप्रतिदिन कोरोना बिमा गराउनेहरुको संख्या समेत बढिरहेको छ । कोरोना बिमा प्रति मानिसहरु एकदमै खुसी हुनुहुन्छ ।

७. कोरोना बिमा गर्नेहरु बढी संख्यामा कुन वर्गका मानिसहरु रहेका छन् ?

कोरोना बिमाको मुल उद्देश्य झुपडीमा बस्नेहरुलाई समेत लाभान्वित गर्ने हो । बिमा कम्पनीहरु यो कार्यक्रममा न्यून आय भएका मानिसहरुको घरदैलोसम्म पुग्नुपर्छ ।

कोरोना बिमामा तल्लो स्तरका धेरै मानिसहरु आकर्षण भएको देखिन्छ । खासगरी शहर बजारमा बस्ने मानिसहरुमा कोरोना बिमाको बारेमा विभिन्न सञ्चार माध्यमबाट धेरै जानकारी हुँदा पहिले यहाँका उद्योगी व्यवसायीको बिमा गर्ने संख्या धेरै थियो ।

पछिल्लो समय भने कोरोना बिमाको बारेमा तल तलसम्म पनि जानकारी भएपछि दुर दराजका मानिसहरु पनि कोरोना बिमा गराउन आइरहनुभएको छ ।

अहिलेको स्थितीमा गाउँ र शहरका मानिसहरुको तुलना गर्दा कोरोना बिमा गर्ने मानिसहरु बराबरी जस्तै हुनुहुन्छ । अब गाउँ मानिसहरुले समेत कोरोना बिमा धेरै गर्नुहुन्छ भन्ने आशा लिएका छौं ।

८. सगरमाथा इन्स्योरेन्सले कोरोना बिमा गर्न आउनेहरुलाई कसरी सहज रुपमा सेवा लिने बातावरण बनाइदिएको छ ?

हाम्रो कम्पनीको सेवा लिन आउने सेवाग्राहीलाई छिटो छरितो सेवा दिने नै उद्देश्य छ । कोरोना बिमा प्याकेज सुरु भएपछि अलिकती बिमा गर्नेहरुको कार्यालयमा भिड देखिन्छ ।

स्वास्थ्य सुरक्षा तथा सामाजिक दुरी कायम गरेर कार्यालयमा आउने सेवाग्राहीलाई सेवा दिने गरेका छौं । सगरमाथा कम्पनीका देशैभरीमा कार्यालयहरुबाट कोरोना बिमा हुने गर्दछ ।

हाम्रो कम्पनीले सबै क्षेत्रका व्यक्तिहरुको कोरोना बिमा गर्ने गरेको छ । कार्यालयमा कोरोना बिमा गर्न आउनेहरुलाई छिटो भन्दा छिटो सेवा दिने गर्दछौं । कोरोना पोजिटिभ आइसकेपछि बीमितले गरेको दाबी भुक्तानि समेत छिटो दिने प्रयास हाम्रो हुनेछ ।

पछिल्लो समय निवदेनमाथि राम्रोसँग छानविन गर्नुपर्ने भएकाले दाबी भुक्तानि केही दिन ढिलो हुने गरेको चाही हो । आवश्यक कागजपत्र पुगेको खण्डमा दाबी भुक्तानि पाउनुहुन्छ भन्ने म जानकारी गराउन चाहान्छु ।

९. अन्त्यमा कोरोना बिमा गरेका र नगरेकाहरुलाई तपाई के भन्न चाहानुहुन्छ ?

अहिलेसम्म बिमा कार्यक्रममा सहभागि नभएकाहरुलाई कार्यक्रममा सहभागिता जनाउन आग्रह गर्दछु । यो तपाईहरुकै लागि बिमा समिति र बिमा कम्पनीहरुले ल्याएको कोरोना बिमा प्याकेज हो । कोरोना बिमा गराएर कतैबाट कोरोना लागेमा केही भएपनि राहात पाइन्छ । त्यसले निम्न आय भएकाहरुलाई केही सहज पक्कै हुनेछ ।

कोरोना बिमा गरिसकेकाले बुझ्नुपर्ने के छ भनेपछि बिमा गरेको १५ दिनपछि मात्र कोरोना पोजिटिभ आएपछि बिमा दाबी भुक्तानि पाइनेछ । बिमा गरेको १५ दिनपछि मान्यता प्राप्त ल्यावबाट पीसीआर परीक्षण गर्दा कोरोना पोजिटिभ आएपछि छिटो भन्दा छिटो सम्बन्धित बिमा कम्पनीमा आवश्यक कागजातसहित दाबी भुक्तानिको लागि निवेदन दिए एक लाख रुपैयाँ पाउनुहुनेछ ।

तपाईहरुकै लागि यो कोरोना बिमा प्याकेज ल्याइएको हो । तपाईहरुले सगरमाथा लगायतका बिमा कम्पनीमा गएर कोरोना बिमा गर्न सक्नुहुनेछ ।

 प्रस्तुतीः कृष्ण ओली         

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ २२ गते सोमबार