सहकारीलाई देश विकासको मेरुदण्डको रुपमा हेरिन्छ । सहकारी क्षेत्रमा लामो समयदेखि देशको विभिन्न क्षेत्रमा विकासमा महत्वपूर्ण भूमिका समेत निर्वाह गर्दै आएको छ । सहकारी भनेको सहकार्यको अर्को माध्यम समेत हो । सहकार्यबाट समाजको हितमा काम गर्ने आधार समेत हुन्छ । समुदायमा आधारित रही सदस्यको हितका लागि सामूहिक रूपमा काम गर्ने एकीकृत समूहका रुपमा सहकारीलाई हेरिन्छ । आर्थिक, सामाजिक, साँस्कृतिक रूपान्तरणमा यसको भूमिका समेत उल्लेख्य रहेको छ । नेपालमा समेत सहकारीको स्थापनाकालदेखि नै विशेषगरी ग्रामिण क्षेत्रको विकास र त्यस क्षेत्रका नागरिकहरुको हक र हितका लागि काम गरेको पाइन्छ ।
नेपालमा २०१३ सालमा सहकारीको स्थापना भएको हो । हालसम्म करिब ३० हजार सहकारी संस्था सञ्चालनमा छन् । यिनीहरुले लाखौं मानिसलाई सहकारी अभियानमा समेटेका छन् । रोजगारी पदान गर्नुका साथै क्षमता विकासमा समेत भूमिका खेलेका छन् । सहकारीको आकर्षणको क्षेत्र आर्थिक रुपमा विपन्न वर्ग, महिला तथा सिमान्तकृत समुदाय समेत हो । देशमा भएका विभिन्न राजनीतिक परिवर्तनसँगै जनतामा आएको जागरणका कारण उनीहरु सहकारीमा गोलबन्द भएका हुन् । सहकारीले उनीहरुलाई बचत गर्न मात्रै होइन । उत्पादशिल क्षेत्रमा समेत लगाएका छन् । त्यसको उदाहरण दैलेखका सहकारी बनेका छन् । सहकारीले नै किसानहरुलाई तरकारी उत्पादन गर्न लगाएर बजारीकरण समेत गरिदिएको छ । जसले गर्दा त्यहाँका किसानलाई उत्पादन बिक्रि नहुने समस्या छैन ।
उनीहरुको आम्दानी समेत मनग्य भइरहेको छ । जसका कारण उनीहरुको दैनिकी मात्रै होइन जीवनमा समेत परिवर्तन आएको छ । सहकारी साँच्चै किसानहरुको सारथी बनेको छ । केही जिल्लामा सहकारीहरुले राम्रो काम गरिरहेको भएपनि केही क्षेत्रमा सहकारी क्षेत्र लक्षित वर्गको हितमा नभएको समेत देखिन्छ । सहकारी क्षेत्रमा भएका विभिन्न प्रकरणहरु बेलाबेलामा सतहमा आइरहन्छन् । सहकारी क्षेत्रमा सबल पक्ष मात्रै छैनन् । दुर्बल पक्ष समेत छन् । जुनसुकै क्षेत्रमा राम्रा कामको निरन्तरता र नराम्रा कामको सुधार अपरिहार्य मानिन्छ । देशमा संघीय शासन लागू भएपनि सहकारी क्षेत्रमा पनि विकेन्द्रीकरण भएको अवस्था छ । अहिले सहकारी सञ्चालनको स्वीकृति स्थानीय सरकारले दिन सक्छन् । सहकारीको महत्व नेपालमा मात्र नभएर विश्वभर नै अत्यन्त ओजिलो र गर्विलो छ । सहकारी सधै किसानको सारथी बन्नुपर्छ ।









प्रतिक्रिया दिनुहोस्