शुभाकर विश्वकर्मा । कोहलपुर (बाँके) ।
सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय फिर्ता लिन, देशमा व्याप्त भ्रष्टाचार अन्त्य लगायतका माग राख्दै भदौ २३ गते देशभरका जेनजी युवाहरूको शान्तिपूर्ण आन्दोलनको घोषणा गरे । शान्तिपूर्ण आन्दोलनमा होमिएका विद्यार्थी र युवामाथि बर्बर दमन ग¥यो । एकैदिन देशभर प्रहरीको गोलीबाट १९ जना विद्यार्थी तथा युवाको ज्यान गयो । उनीहरूको टाउको र छातीमा ताकेरै गोली हालेर शान्तिपूर्ण आन्दोलनमा गएका युवाहरूको हत्या गरियो ।
सरकारी दमन बर्बरताको देशभर व्यापक विरोध भएपछि सोहीदिन गृहमन्त्री रमेश लेखकले सोही दिन राजीनामा दिए । भोलिपल्ट अर्थात् भदौ २४ गते आन्दोलन हिंसात्मक बन्यो । आन्दोलनकारीले सरकारी संचरना र नेताहरूका घर जलाउन थालेपछि बाध्य भएर प्रधानमन्त्री केपी शर्मा ओलीलेसमेत राजीनामा दिए । उक्त दिन बाँकेमा समेत बिहानैदेखि युवाहरू सडकमा आइसकेका थिए । बाँकेमा दिनभर प्रदर्शन, तोडफोड र आगजनी भयो । आन्दोलनमा पहिलो दिनको भन्दा धेरै सङ्ख्यामा आन्दोलनकारीहरूको सहभागिता रहेको थियो ।
उनीहरूले प्रदर्शनभन्दा तोडफोडलाई प्राथमिकता दिए । निसानामा नागरिकसँग प्रत्यक्ष जोडिएका अत्यावश्यक सेवाप्रदायक सरकारी कार्यालय परे । आन्दोलनकारीहरूले मुख्यगरी नेपालगन्ज र कोहलपुर क्षेत्रमा रहेका सरकारी कार्यालय, स्थानीय तह र निजी सम्पत्ति आगजनी र तोडफोड गरे । ती कार्यालयहरूमा लुटपाटसमेत गरियो । मंगलबार र बुधबार गरी बाँकेमा मात्रै जम्मा ४६ वटा सरकारी कार्यालय, स्थानीय तहका कार्यालय तथा वडा कार्यालय, राजनीतिक दलका पार्टी कार्यालय र निजी सम्पत्तिमाथि आगजनी, तोडफोड र लुटपाट गरिएको छ । यस्तै नेपालगन्जमा रहेका केही सुरक्षा निकायका संरचना र सालिकसमेत भत्काइएको छ ।
आगजनी, तोडफोड र लुटपाटबाट सबैभन्दा धेरै नेपालगन्जमा क्षति भएको छ । नेपालगन्ज क्षेत्रमा १४ सरकारी कार्यालय, दुई वटा पार्टी कार्यालयमा आगजनी तथा तोडफोड गरिएको छ । यस्तै कोहलपुर क्षेत्रका १२ वटा सरकारी कार्यालय, नगरपालिका, वडा कार्यालयमा आगजनी र तोडफोड गरिएको हो । कोहलपुरस्थित राजस्व कार्यालयमा आगजनीका साथै लुटपाट गरियो । कोहलपुर नगरपालिकामा सबैभन्दा धेरै क्षति पुगेको छ । कोहलपुर नगरपालिकाका नगरप्रमुख पूर्णप्रसाद आचार्यको घरमा समेत आगजनी भएको थियो । नगरपालिकाका कार्यालय जलाउनुका साथै सवारीसाधनमा समेत तोडफोड र आगजनी गरिएको छ ।
यस्तै, कोहलपुर उपप्रमुख संगीता सुवेदीसहित वडा नम्बर ११ की वडा अध्यक्ष कल्पना शर्माको घरका साथै नापी, मालपोत र नापी कार्यालयका साथै तीन प्रमुख राजनैपितक दलका नगर कार्यालयमा समेत आन्दोलनकारीहरूले तोडफोड गरेका थिए । यस्तैगरी, डुडुवा र नरैनापुर गाउँपालिकामा समेत तोडफोड र आगजनी भएको छ । नरैनापुर र कोहलपुर नगरपालिकाभरी ६ वटा वडा कार्यालय आगजनी र तोडफोड भएको छ । देशभर भएको आन्दोलनमा बाँकेका दुई जना युवाले ज्यान गुमाएका छन् ।
क्षतिग्रस्त निकायमा सेवा प्रवाह बन्द
मंगलबार र बुधबार आगजनी गरिएका संरचना सम्पूर्णरूपमा खण्डहर बनेका छन् । कार्यालयभित्र रहेका संरचना, महत्वपूर्ण कागजात र सवारीसाधनसमेत चलेका कारण ती कार्यालयहरूमा सेवा पूर्णरूपमा बन्द भएको छ । अधिकांश कार्यालयहरूले सूचना जारी गर्दै आन्दोलनमा क्रममा कार्यालयमा क्षति पुगेका कारण अनिश्चितकालीन रूपमा देशमा अवस्थामा सामान्य नहुसञ्जेलसम्म सेवा प्रवाह बन्द गराएका छन् । बाँकेका आठ स्थानीय तहमध्ये चार वटा स्थानीय तहमा आगजनी, तोडफोड र लुटपाट गरिएको छ ।
आन्दोलनको प्रभाव नदेखिएका स्थानीय तहहरूसमेत देशमा असामान्य परिस्थिति सिर्जना भएको भन्दै दैनिक सेवा सञ्चालन गर्न सकेका छैनन्। आन्दोलनबेला संरचना जलाइएका नेपालगन्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाले अनिश्चितकालीन रूपमा सेवा बन्द गरिएको सूचना जारी गरेरै जानकारी गराएका छन् । यस्तै जानकी गाउँपालिकाले समेत विद्यामान देशको परिस्थितिलाई मध्यनजर गर्दै सेवा प्रवाह बन्द गरिएको जनाएको छ ।
नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि शर्माले हालको परिस्थिति सामान्य नहुँदासम्मको लागि नियमित सेवा स्थगन गरिएको बताएका छन् । उनका अनुसार आन्दोलनको क्रममा नेपालगन्ज उपमहानगरपालिकाको मुख्य कार्यालयमै आगजनी गरिएका कारण संरचनाहरू पूर्णरूपमा ध्वस्त भएका छन् । उनले जारी गरेको सूचनामा भनिएको छ, ‘उपमहानगरपालिकाको केन्द्रीय निकायसहित मातहतका निकायहरूमा क्षति भएको छ ।
आगजनी, लुटपाट भइ भौतिक संरचनासहित अन्य महत्वपूर्ण संरचनाहरू जलेर नष्ट भएको छ । मातहतका सम्पूर्ण कार्यालयहरूमा सरसफाइको कार्य सुरु गरेका छौँ । केही सेवा प्रवाह गर्न सकिने अवस्था छैन ।’ यता कोहलपुर नगरपालिकाले पनि एक सूचना जारी गर्दै सेवा स्थगन गरिएको जानकारी दिएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर गिरीका अनुसार आन्दोलनका कारण नगरपालिकामा धेरै क्षति पुगेको छ ।
अहिले देशमा विषय परिस्थितिका कारण कार्यालयले सेवा प्रवाह गर्न सक्ने अवस्था नरहेको र माथिबाट आदेश नआएको वा कार्यालयको सेवा प्रवाह सुचारु गर्न सक्ने अवस्था नभएकोले तत्कालका लागि सेवा स्थगन गरिएको जनाइएको छ । यता जानकी गाउँपालिकाले भदौ २७ गते (आज)सम्म शोक बिदा दिएको छ । देशभरको जेनजी आन्दोलनका कारण बाँकेका दुईजनाले ज्यान गुमाएको र देशको अवस्था विषम रहेको भन्दै सेवा प्रवाह बन्द गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाका प्रवक्ता टीकानाथ यादवले गाउँपालिकाको सम्पूर्ण सेवाप्रवाहका साथै बन्द गरिएको जनाएका छन् । यस्तै भूमि सुधार तथा मालपोेत कार्यालय बाँकेले कार्यालयको संरचना पूर्णरूपमा ध्वस्त भएको जनाएको छ । मोठ–श्रेस्ता तथा मुद्दाका सम्पूर्ण मिसिलसमेत आगजनी भई जली नष्ट भएका कारण यस्तो अवस्थामा सेवा प्रवाह गर्न असहज भएकोले तत्कालका लागि कार्यालयबाट प्रवाह गरिने सेवा बन्द गरिएको कार्यालयले जनाएको छ ।
बाँकेमा आगजनी, तोडफोड र लुटपाट गरिएका संरचना
१. नेपालगन्ज उपमहानगरपालिका
२. आन्तरिक राजस्व कार्यालय नेपालगन्ज
३. बाँके जिल्ला अदालत
४. उच्च अदालत तुल्सीपुर नेपालगन्ज इजलास
५. भूमि सुधार तथा मालपोत कार्यालय नेपालगन्ज
६. नापी कार्यालय नेपालगन्ज
७. यातायात व्यवस्था कार्यालय नेपालगन्ज
८. नेपालगन्ज भन्सार कार्यालय
९. इलाका प्रहरी कार्यालय जयसपुर
१०. जिल्ला प्रशासन कार्यालय बाँके
११. कृषि ज्ञान केन्द्र
१२. जिल्ला हुलाक कार्यालय बाँके
१३. जमुनाहा हेल्थ डेस्क
१४. ट्राफिक प्रहरी कार्यालय नेपालगन्ज
१५. नरैनापुर गाउँपालिकाको कार्यालय
१६. नरैनापुर गाउँपालिका वडा नम्बर ४ को कार्यालय
१७. नरैनापुर गाउँपालिका वडा नम्बर ६ को कार्यालय
१८. डुडुवा गाउँ कार्यपालिकाको कार्यालय
आगजनी गरिएका पार्टी कार्यालयहरू
१९. नेपाली काँग्रेस बाँकेको कार्यालय
२०.नेकपा एमाले बाँकेको कार्यालय
कोहलपुर क्षेत्रमा आगजनी भएका संरचना
२१. कोहलपुर नगर कार्यपालिकाको कार्यालय
२२. राजस्व कार्यालय कोहलपुर
२३. कोहलपुर नगरप्रमुख पूर्णप्रसाद आचार्यको निजी घर
२४. कोहलपुर वडा नम्बर ८ को कार्यालय
२५. कोहलपुर वडा नम्बर ९ को कार्यालय
२६. कोहलपुर वडा नम्बर ११ को कार्यालय
२७. कोहलपुर वडा नम्बर १४ को कार्यालय
२८. इलाका प्रशासन कार्यालय कोहलपुर
२९. कोहलपुर नगर विकास समितिको कार्यालय
३०. महिला बालबालिका तथा ज्येष्ठ नागरिक शाखा कोहलपुर
३१. कोहलपुर नगरपालिका रोजगार शाखा
३२. नगरस्तरीय युवा सञ्जाल कोहलपुर
३३. कोहलपुर हुलाक कार्यालय
अतिरिक्त हुलाक कार्यालय कोहलपुर-१४
तोडफोड भएका संरचना (नेपालगन्ज)
३४. पुस्पलाल चोक
३५. गणेशमान चोक
३६. वीपी चोक
३७. सेतु विक चोक
तोडफोड भएका संरचना (कोहलपुर)
३८. कोहलपुर नगरपालिकाकी उपप्रमुख संगीता सुवेदीको घर
३९. कोहलपुर–११ की वडाध्यक्ष कल्पना शर्माको घर
४०. मालपोत कार्यालय कोहलपुर
४१. नापी कार्यालय कोहलपुर
४२. यातायात व्यवस्था कार्यालय कोहलपुर
४३. नेपाल विद्युत् प्राधिकरण कोहलपुर वितरण केन्द्र
कोहलपुरका पार्टी कार्यालयहरू
४४. नेकपा (माओवादी केन्द्र) नगर समितिको कार्यालय कोहलपुर
४५. नेपाल कम्युनिष्ट पार्टी ‐एमाले) नगर समिति कोहलपुर
४६ नेपाली काँग्रेस क्षेत्र नम्बर १ को कार्यालय कोहलपुर









प्रतिक्रिया दिनुहोस्