मातापिताको नाममा अक्षयकोष स्थापना



कोहलपुर ।

बाँकेको डुडुवा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत परशुराम उपाध्यायका दुई दाजुभाइ मिलेर माता पिताका नाममा अक्षयकोष स्थापना गरेका छन् । प्रमुख प्रशासकीय अधिकृत उपाध्याय र हाल अमेरिकामा रहेका उनका भाइ डा.गंगा प्रसाद शर्माले बैजनाथ गाउँपालिका वडा नम्बर १ चिसापानीमा रहेको सूर्योदय माध्यमिक विद्यालयमा अक्षयकोष स्थापना गरेका हुन् । अक्षयकोषको राखि एक लाख एघार हजार एक सय एघार रुपैयाँ रहेको छ ।

कोष स्थापनाका लागि प्रमुख प्रशासकीय अधिकृत उपाध्यायले मंगलबार वडा नम्बर १ का अध्यक्ष रुप बहादुर मल्ल र विद्यालयका प्रधानाध्यापक जय बहादुर विष्टलाई संयूक्त रुपमा सो रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । उक्त अक्षयकोषबाट विद्यालयमा अध्धयनरत गरिब तथा जेहेन्दार दुई जना विद्यार्थीलाई उनीहरुको शिक्षादिक्षाका लागि छात्रवृत्ति प्रदान गरिने विद्यालयले जनाएको छ । मातापिताको सम्झना तथा विद्यालयमा अध्ययनरत जेहेन्दार तथा गरिब विद्यार्थीहरु आर्थिक अभावका कारण शिक्षा लिनबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले निर्जला देवी–जनक पुरस्कार अक्षयकोष स्थापना गरिएको अधिकृत उपाध्यायले जानकारी दिए ।

साथै आफूले शिक्षा आर्जन गरेको विद्यालयमा मातापिताको नाममा अक्षयकोष स्थापना गर्न पाउँदा खुशी लागेको उनको भनाइ छ । उपाध्यायका दुई दाजुभाइ मिलेर मातापिताको नाममा कोष स्थापना गरिएको हो । यस्तै वडा नम्बर १ का वडाअध्यक्ष रुपबहादुर मल्लले आफ्नो वडामा रहेको विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार विद्यार्थीको लागि अक्षयकोष स्थापना गरेकोमा अधिकृत उपाध्यायका स–परिवारलाई धन्यवाद व्यक्त गरे ।

उनका अनुसार अक्षयकोष मार्फत गरिब र जेहेन्दार विद्यार्थीहरुको शिक्षा आर्जनमा महत्वपूर्ण भूमिका खेल्नेछ । विद्यालयका प्रधानाध्यापक जयबहादुर विष्ट अक्षयकोषबाट विद्यालयमा अध्ययनरत गरिब तथा जेहेन्दार छात्र र छात्रा एक÷एक जनालाई वर्षभरिको शिक्षादिक्षाका लागि छात्रवृत्ति प्रदान गरिने बताउँछन् । साथै उनले अक्षयकोषदातालाई धन्यवाद दिँदै उक्त रकम सहि सदुपयोग गरिने प्रतिबद्धता समेत जनाए ।

  • No tags available
प्रकाशित मिति : २०७७ भदौ १७ गते बुधबार