शुभाकर विश्वकर्मा । कोहलपुर ।
जुम्लाकी सन्तोषी खड्का बाँकेको कोहलपुरमा व्यवसाय गर्छिन् । उनको स–परिवार कोहलपुर–१२ चप्परगौडीमा बस्दै आएको छ । कोरोना कहरका कारण उनी यसपालि जुम्ला जान पाइनन् । यदि कोरोना कहर नहुँदो त उनी अहिले जुम्ला मै हुन्थिन् । साथीसंगीहरुसँग रमाइलो गर्थिन् । सन्तोषी भन्छिन्, ‘तीजको दर खाने बेला खुबै रमाइलो हुन्थ्यो । आफ्ना समस्या सुनाउँथ्यो गीतका माध्यमबाट । वर्षदिनमा एक पटक माइत जान पाइन्थ्यो । अहिले त कोरोनाका कारण माइत जान पाइएन ।
कस्तो नरमाइलो महशुस भइरहेको छ ।’ तीजको बेलामा आफन्त भन्दा टाढा हुँदा उनलाई नरमाइलो लागेको छ । पहिला सबै जना जम्मा भएर सुख दुःख साटिन्थ्यो । विभिन्न प्रतियोगितामा भाग लिइन्थ्यो । नाचगान त कहिल्यै पनि छुट्दैन थियो । यसपटक भने उनलाई कोरोना कहरका कारण खड्किएको भनेको आफ्नो जन्मभूमि, बालापनका साथी नै हुन् । जहाँ भएपनि हिन्दु नारीहरुको संस्कृतिको रुपमा रहेको तीज त जसरी पनि मनाउनैप¥यो । ‘बिहानै उठेर नुवाईधुवाई गरे । कोठाभित्रै महादेवको पूजाआजा गरे । श्रीमानको दीर्घायुको कामना गरियो । फलाहार वर्त बसेकी छु ।’ मिसन टुडेसँग टेलिफोनमा कुराकानी गर्दै उनले भनिन् ।
कोरोना कै कारण टाढाका मात्रै होइन, नजिकैका महिलाहरु समेत मन्दिरमा गएर पूजा गर्न, रा्माइलो गर्न र माइत समेत जान पाएनन् । बाँके बैजनाथ गाउँपालिका– ६ की जानकी बस्नेतलाई पनि यसपालिको तीज गत वर्षहरुको जस्तो भएन । कोरोना कहरकै कारण घर नजिकै रहेको माइतीघर तीजमा जान उनी पाइनन् । कोहलपुर मै बसेर सामान्य रुपमै उनले तीज मनाइन् । गतवर्षको जस्तो धेरै जनाको जमघट भएन । सधै तीजको समयमा माइती जाने उनी यसपटक भने कोरोना कै कारण गइनन् । बस्नेतले कोरोना कहरका बीच बन्द भएका कारण माइत जान नपाएपनि सबैसँग फोनमा कुराकानी भएको जानकारी दिइन् । उनका अनुसार घर भाडामा बस्नेहरुसँग सामान्य रुपमा तीज मनाइयो । ‘साउण्ड सिस्टममा गीत बजाउन दिदैनन् । धेरै जना जम्मा नहुनु भनेका छन् ।
यसपालि सामान्य नै भयो’ उनले भनिन् । सिंगो मानव जगतलाई नै त्रसित बनाइरहेको कोरोनाबाट बचेमा चाडपर्व अर्को वर्ष पनि आउने भन्दै सबैलाई सुरक्षित रहन बस्नेतले आग्रह गरिन् । तर कोरोना कहरका बीच मै माइतीमा गएका नारीहरुको भने तीज रमाइलै भएको छ । बाँकेको कोहलपुरमा बस्दै आएकी सीता विक यतिबेला प्युठानमा छिन् । कोरोना कहरका कारण लामो समय भएको लकडाउनमा यतै बसेकी उनी लकडाउन खुल्न वित्तिकै उता गएकी थिइन् । कोरोनाका कारण अफिस बिदा नभएको भए उनी माइत जान पाउँदिनथिन् होला । विवाह गरेको सात वर्षपछि पहिलोपटक माइतीको दैलोमा तीज मनाउन पाएको उनले बताइन् । तर यसपटकको तीजको रौनक भने त्यहाँ पनि छैन । ‘यस्तै बसिबसाउ भयो, खास्सै तीजको रौनक भने भएन । कोरोनाका कारण कतै जान पाइएन ।’ तीज सोचजस्तो नभएपनि कोरोनाका कारण माइती घरमा जाने अवसर मिलेको उनी मख्ख छिन् ।
कोरोना महामारीका कारण यसपटकको तीजलाई नेपाली हिन्दु नारीहरुले परिवारभित्र मात्रै मनाउन बाध्य भए । तीजमा चेली माइती घरमा नआउँदा दाजु भाईहरु पनि निराश देखिए । बाँके नेपालगञ्ज उप–महानगरपालिका–१८ का हरी कठायतले चेलीहरु माइतीघर नआउँदा तीज खल्लो भएको बताए । ‘विगतमा वर्षहरुका तीजमा घर छुट्टै माहौल हुन्थ्यो’ उनले भने, ‘कोरोना कहरका कारण दिदि र बहिनीलाई लिन जान पाइएन् ।’ कोरोना कहरका कारण कतीपयका दाजुभाई आफ्ना चेलीहरुलाई तीजमा लिन जान पाएनन् भने चेलीहरु माइतीघरमा नभएर कर्म घरमा नै तीज मनाउन बाध्य भए ।









प्रतिक्रिया दिनुहोस्