बाँकेको कोहलपुर नगरपालिकाले जारी गरेको लकडाउनलाई अझै कडाई गर्ने भएको छ । कोरोना भाइरस (कोभिड–१९) समुदाय स्तरमा फैलिएको भन्दै कोहलपुर नगर क्षेत्रमा भदौं ५ गते राती १२ बजेसम्म लकडाउन घोषणा गरिएको थियो ।
कोहलपुरमा दैनिक जसो ट्राभल हिस्ट्री नभएका संक्रमितहरु थपिने क्रम बढेपछि लकडाउनलाई अझै कडाई गर्न थालिएको हो । कोहलपुर नगरपालिका प्रमुख लुटबहादुर रावतले लकडाउनलाई अझै प्रभावकारी बनाइने बताए ।
‘हामीले सुरक्षाकर्मीहरुको साथ र सहयोग लिएर लकडाउनलाई अझै कडाई गर्नेछौं’ उनले भने, ‘आवश्यक काम बाहेक कोही कसैलाई पनि घर बाहिर ननिस्कन आग्रह गर्दछु ।’ तीजको बेला हुनसक्ने भिडभाड नियन्त्रणमा समेत नगरपालिका चनाखो बनेको नगर प्रमुख रावतले बताए ।
‘हरितालिका तीजमा हुने नाच गान तथा साउण्ड सिस्टमबाट गीत बजाई भिडभाड, हो–हल्ला जस्ता कार्यहरु नगर्ने नगराउन म सबैलाई अनुरोध गर्दछु’ उनले भने । आइतवार समेत अन्य दिनको तुलनामा कोहलपुर नगर क्षेत्र भित्र लकडाउनलाई कडाई गरिएको
थियो ।
यहाँका व्यापार व्यवसाय ठप्प रहे भने मानिसहरुको चहलपहल समेत न्यून रहेको थियो । लकडाउनलाई प्रभावकारी बनाउनको लागि सुरक्षाकर्मीहरु सडकमा खटिएका थिए ।
कोरोना संक्रमण बढेसँगै कोहलपुर नगर प्रवेश गर्ने चार वटै नाका बन्द गर्ने निर्णय समेत गरिएको छ । आइतवार नगरपालिकाले एक सूचना जारी गरेर कोरोनाको जोखिमलाई मध्यनजर गरेर चार वटै नाका बन्द गरिएको जानकारी गराएको हो ।
नगरपालिका प्रमुख प्रशासकीय अधिकृत छविलाल नेपालीले नगर प्रवेश गर्ने चार वटै नाका पूर्ण रुपमा बन्द गरिएको जानकारी दिए । ‘कोहलपुरमा कोरोनाको जोखिम बढेको छ’ उनले भने, ‘जारी गरेको लकडाउनलाई अझै प्रभावकारी बनाउन नाका बन्द लगायतका निर्णयहरु भएका छन् ।’
यो अवधीमा सुरक्षा, एम्बुलेन्स, शववहान, अतिआवश्यक सेवाका ढुवानीका साधनबाहेक अन्य सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाइएको बताइएको छ ।
नगरपालिका कार्यालय, वडा कार्यालयहरु, नगर क्षेत्रमा रहेका सम्पूर्ण सरकारी तथा गैरसरकारी कार्यालय, बैंक तथा वीत्तिय संघ संस्था, होटेल, रेष्टुरेन्ट, व्यापार व्यवसाय, उद्योग कलकारखाना, तरकारी हाटबजार तथा सम्पूर्ण यातायातका साधन बन्द हुनेछन् ।









प्रतिक्रिया दिनुहोस्