दाङ ।
कोरोना भाइरस ‐कोभिड –१९) को बढ्दो जोखिमलाई मध्यनजर गर्दै दाङमा निषेधाज्ञा घोषणा गरिएको छ । शुक्रबार जिल्ला प्रशासन कार्यालय दाङमा बसेको संकट व्यवस्थापन केन्द्रको बैठकले आठ दिन निषेधाज्ञा जारी गर्ने निर्णय गरेको हो । निषेधाज्ञा भदौ एक गतेदेखि आठ गतेसम्म साँझ सात बजेदेखि बिहान पाँच बजेसम्मका लागि जारी गरिएको छ ।
बैठकले रातको समयमा बजार, यातायात, हिँडडुलमा समेत पूर्णरुपले बन्देज लगाउने पनि निर्णय गरेको थियो । दाङका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालको अध्यक्षतामा गाउँपालिकाका अध्यक्षहरु, सुरक्षा निकायमा प्रमुखहरु, विषयगत कार्यालयहरु, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघलगायतको उपस्थितिमा बसेको बैठकले चाडपर्वको नाममा समाजमा बढि रहेको भीडभाडलाई कम गर्नका लागि जतिसुकै समयमा हुने नाचगान, भेला, गोष्ठी, सेमिनार, कार्यक्रमलाई पूर्णरुपले रोक लगाउने, मठमन्दिरमा हुने दैनिक नृत्यकर्म बाहेक अन्य सबै खाले पूजापाठलाई बन्द गर्ने निर्णय गरेको हो ।
बैठकले बजारलाई व्यवस्थित गर्न अनिवार्य रुपमा स्वास्थ्य सामग्री प्रयोग गर्ने, सामाजिक दुरी कायम गर्ने, माइकिङलगायतका कार्यहरु गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय दाङले जनाएको छ । यातायात क्षेत्रलाई पनि व्यवस्थितरुपमा सञ्चालन गर्ने, जिल्लामा सबै खाले गतिविधिलाई अनुगमन गर्नका लागि जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, उद्योग वाणिज्य संघ, नेपाल पत्रकार महासंघ, स्वास्थ्य कार्यालय, स्थानीय तहहरुसहितको जिल्ला अनुगमन समिति गठन गरेको छ ।
बैठकमा सहभागी नेपाल पत्रकार महासंघ दाङका अध्यक्ष सविन प्रियासनले कोरोना कहरका बीचमा जिल्लामा दैनिक भइरहने गतिविधिमा विशेष कडाई गर्ने निर्णय भएको जानकारी दिए । यस विषयमा प्रमुख जल्ला अधिकारी रिजालले दाङलाई कोभिडबाट मुक्त राख्नका लागि राति पूर्णरुपले बन्देज र दिउँसो नियन्त्रणमूखी उपाएको खोजि गरिएको बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्