कोहलपुर ।
प्रत्येक वर्ष मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो । दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान् विष्णुको आठौँ अवतारका रुपमा श्रीकृष्णको जन्म भएको शास्त्रमा वर्णन गरिएको छ ।
कंशको अत्याचारबाट मानव जातिलाई मुक्ति दिनका लागि वासुदेव र देवकीको आठौँ गर्भबाट भगवान् विष्णुको आठौँ अवतारका रुपमा आजको दिन श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ । कंशले जेलनेलसहित बन्दी बनाएको अवस्थामा देवकीबाट श्रीकृष्णको जन्म भएको थियो । श्रीकृष्णले नै पापका पर्याय बनेका मामा कंशको बध गरी हजुरबा उग्रसेन, माता–पिता देवकी एवम् वासुदेवलाई जेलमुक्त गरेको विश्वास गरिन्छ । श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।
कौरव र पाण्डवका बीचमा कुरुक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्येका अर्जुनको सारथीका रुपमा श्रीकृष्णले युद्धको शिक्षा दिएका थिए । युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई प्रेरणा दिँदै सत्यको पक्षमा हौसला प्रदान गरेका थिए । यही युद्धका क्रममा श्रीकृष्णले अर्जुनलाई दिएको उपदेश नै ‘श्रीमद्भगवत् गीता’ हो । यसैकारण श्रीमद्भगवत् गीतालाई हिन्दूको पवित्र ग्रन्थ मानिन्छ । आजको दिनमा विशेषगरी महिलाहरु व्रत बसी राति १२ बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जाग्राम बसेर श्रीकृष्णको भक्ति संगीत गाउने गर्दछन् । यसो गरेमा श्रीकृष्ण प्रशन्न भई मनोवाञ्छित फल प्राप्त हुने धार्मिक विश्वास रहेको छ ।
‘घरभित्रै पर्व मनाउनुहोस्’
कोरोना भाइरस संक्रमणको जोमिख कायमै रहेकाले चाडपर्वहरु पारिवारिक रुपमा मात्रै मनाउन आग्रह गरिएको छ । बाँकेसहित देशभर नै कोरोना संक्रमणको जोखिम बढेकाले चाडपर्वहरु घरभित्रै मनाउन आग्रह गरिएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले समेत पर्वहरु पारिवारिक रुपमा घरभित्रै मनाउन सबैलाई आग्रह गरे । ‘अहिलेको समय परिस्थिती विगतको जस्तो छैन । हामी कोरोना महामारीसँग जुधिरहेका छौं’ उनले भने, ‘श्रीकृष्ण जन्माष्टमी लगायतका पर्वहरु घरभित्रै परिवारहरुसँग मनाउनुहोस् ।’ मन्दिर लगायतका धार्मिक पिठहरु समेत चैत्र ११ गतेदेखि खुल्न सकेका छैनन् ।
त्यसकारणले पनि मन्दिरहरुमा श्रीकृष्ण जन्माष्टमीमा विगतका जस्तो भिडभाड नहुँने प्रजिअ कुरुम्बाङले बताए । ‘पहिले देशभरका कृष्ण मन्दिरमा भव्य रुपमा पूजा, आराधना एवम् रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने काम हुन्थ्यौं’ उनले भने, ‘तर यसपटक भने कोरोना महामारीका कारण यस्ता कुनै पनि कार्यहरु हुनेछैनन् ।’ जिल्ला प्रशासन कार्यालय बाँकेले एक सातायता लगाएको निषेधाज्ञा आज राती १२ बजेदेखि मात्रै सकिनेछ । यहाँ समुदायस्तरमा कोरोना संक्रमण फैलिएको पुष्टि भएपछि स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरेको थियो ।
बाँके प्रशासनले पर्वहरू श्रीकृष्ण जन्माष्टमी, हरितालिका तीज, ऋषिपञ्चमीलगायतका पर्वहरू धेरै जना भेला नभई पारिवारिकरूपमा घरभित्रै मनाउन आग्रह गरेको छ । धेरै जना भेला हुँदा संक्रमणको जोखिम बढ्ने भएकाले पर्व मनाउन धेरै जना भेला नभई पारिवारिकरूपमा मनाउन आग्रह गरिएको प्रजिअ कुरुम्बाङले बताए । आजका दिन बाँकेका कुनै पनि धार्मिक शक्तिपिठ खुल्नेछैनन् भने विगतका जस्तो सार्वजनिक स्थानमा भेला भएर नाचगान समेत गर्न पाइनेछैन ।









प्रतिक्रिया दिनुहोस्