भेरीको पीसीआर ल्याबमा अटोमेटिक मेसिन, अब दैनिक एक हजारको स्वाब परीक्षण गर्न सकिने



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जस्थित भेरी अस्पतालमा रहेको कोरोना परीक्षण गर्ने प्रयोगशालामा अटोमेटेड आरएनए एक्सट्रयाक्सन मेसिन जडान गरिएको छ । सोमबार प्रयोगशालामा अटोमेटेड आरएनए एक्सट्रयाक्सन मेसिन जडान गरिएपछि थोरै समयमा धेरै स्वाबको नमुना परीक्षण गर्न सकिनेछ । मेसिन सोमबार जडान गरेर सकिएपछि परीक्षणको काम बाँकी रहेको प्रयोगशाला प्रमुख डाक्टर प्रशन्न मिश्रले बताए । ‘मेसिन जडानको काम सम्पन्न भएको छ ।

अब घण्टौसम्म खट्ने ल्याबका जनशक्तिलाई केही सहज पनि हुन्छ’ उनले भने, ‘मेसिनको परीक्षण सफल भएमा हामीले पनि रिपोर्ट धेरै र छिटो दिन सक्नेछौं ।’ मेसिन जडान भएपछि दैनिक ८ सयदेखि एक हजारसम्मको नमुना परीक्षण गरेर रिपोर्ट दिन सकिने बताइएको छ । ‘सबैभन्दा बढी समय आरएनए एक्सट्रयाक्सनमा लाग्ने हो, त्यसका लागि मन्त्रालयबाट आरएनए एक्सट्रयाक्सन मेसिन ल्याउन सफल भएका छौं,’ भेरी अस्पतालका कोरोना फोकलपर्सन डा.संकेत रिसालले भने, ‘२० घण्टासम्म खट्ने ल्याबका जनशक्तिलाई केही सहज महसुस हुन्छ र हामीले पनि रिपोर्ट धेरै र छिटो दिन सक्छौंैं ।’

मेसिनले एक घण्टामा ९६ वटा स्वाब नमुनाको आरएनए एक्सट्रयाक्सन गर्न सक्छ । संकलित स्वाब नमुनालाई परीक्षणका लागि ४ वटा प्रक्रिया पुरा गर्नुपर्ने हुन्छ । भाइरसको सबैभन्दा सुक्ष्म भनेको आरएनए हुन्छ । सबैभन्दा पहिले ¥यालबाट भाइरसको आरएनएलाई छुट्याउनुपर्छ । अटोमेटेड आरएनए एक्स्ट्रयाक्सन मेसिनले अब त्यो काम गर्छ । आरएनए एक्सट्रयाक्सनमा समय बचत भएपनि अन्य प्रक्रियामा भने उति नै लाग्ने उनले बताए । ‘अटोमेटिक एक्सट्रयाक्सन मेसिनले एक घण्टामा ९६ वटा स्वाब नमुनाको आरएनए एक्सट्रयाक्सन गर्न सक्छ’ प्रयोगशालाका प्रमुख मिश्रले भने, ‘जवकी यही काम गर्न ल्यावका कर्मचारीलाई यसअघि चार÷पाँच घण्टा लाग्ने गरेको थियो ।’

अब पीसिआर परीक्षण गर्न दुई घण्टाबढी समय लाग्ने बताइएको छ । भेरी अस्पतालमा एउटा मात्र पीसीआर मेसिन छ । उक्त मेसिनमा एकपटकमा ७२ वटा स्वावको परीक्षण हुने गरेका छन् । प्रयोगशालामा अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन जडान गरेसँगै अर्को पीसीआर मेसिनको समेत आवश्यकता पर्ने बताइन्छ । काठमाडौंको केन्द्रीय प्रयोगशालापछि भेरीको प्रयोगशालामा सबैभन्दा बढी पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ । अहिले दैनिक बढीमा ३ सय वटा मात्र यहाँ स्वाव परीक्षण गर्न सकिन्छ । अटोमेटिक आरएनए एक्सट्रयाक्सन मेसिन जडान भएपछि एउटा पीसीआर मेसिनबाट एक हजार जती स्वाब परीक्षण गर्ने लक्ष्य लिइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन २७ गते मंगलबार