नेपालगञ्ज ।
जिल्ला स्वास्थ्य कार्यालय बाँकेले असार २४ गते बाँकेका तीन वटा स्थानीय तहलाई कोरोना ‘फ्री’ घोषणा ग¥यो । घोषणासँगै त्यसबेला जारी रहेको बन्दाबन्दी सरकारले अन्त्य भएको घोषणा गरेको थियो । जिल्ला स्वास्थ्य कार्यालय बाँकेले असार २४ गते बाँकेका तीन वटा स्थानीय तहलाई कोरोना ‘फ्री’ मुक्त घोषणा ग¥यो । दुई साताअघि १२ जना कोरोना संक्रमितहरु मात्र आइसोलेसनमा सेन्टरमा थिए । त्यसपछि भने कोरोनाको दर बाँकेमा दिनप्रतिदिन बढिरहेको छ । लकडाउन अन्त्य भएसँगै शहर बजारदेखि सरकारी कार्यालयहरुमा समेत भिडभाड लागेको थियो ।
यही मौकामा कोरोना ‘यत्रतत्र सर्वत्र’ भनेझैं ‘भुसको आगोसरी’ सबैतिर फैलियो । सुरुवातमा कहिँकतै ‘ट्राभल हिष्ट्री’ नभएका तर, सेवाग्राहीको अध्याधिक चाप हुने यातायात व्यवस्था कार्यालयका एक जना महिला कर्मचारी र त्रिभूवन चौकमा मिठाई पसल गर्दै आएका एक जना पुरुषमा देखिएको कोरोना संक्रमणले समुदायस्तरमै प्रवेश ग¥यो । त्यसयता आन्तरिक राजस्व कार्यालयका ११ जना कर्मचारीमा कोरोना देखिएपछि कार्यालय नै आइसोलेसन सेन्टरका रुपमा परिणत गर्नुप¥यो । त्यसको केही दिनपछि बाँके जिल्ला अदालत र बाँकेमा कार्यरत स्वास्थ्यकर्मी पनि कोरोनाबाट संक्रमित भए ।
सरकारी कार्यालयलाई निसाना बनाइरहेको कोरोना संक्रमणले चिकित्सक र अदालतका कर्मचारीलाई पनि छाडेन । दुई दिनअघि मात्रै बाँके जिल्ला अदालतका पाँच जना र नेपालगन्ज–२० स्थित नेपाली सेनाको राँझा अस्पतालमा तीन जना संक्रमित भए । समुदायस्तरमै फैलिएको कोरोना संक्रमणले नेपालगञ्ज उप–महानगरपालिकालाई पनि अछुतो हुन दिएन । सोमबार मात्रै नेपालगञ्ज उप–महानगरपालिकाका एक वडाध्यक्षसहित कार्यालयका अन्य ७ जना कर्मचारीमा कोरोना पुष्टि भएको छ । जसअनुसार उपमहानगरका दुई वडा सचिव, चार अधिकृत र एक जना कम्प्युटर अपरेटरमा पनि संक्रमण देखिएको छ । वडाध्यक्षसहित कर्मचारीमा संक्रमण देखिएपछि उप–महानगरपालिका पूर्णरुपमा बन्द गरिएको छ । भेरी अस्पतालस्थित कोरोना भाइरस जाँच प्रयोगशालाको रिपोर्ट अनुसार नेपालगञ्ज उप–महानगरपालिकामा कोरोना संक्रमितको संख्या अझैं बढ्ने देखिन्छ ।
उप–महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओमबहादुर खड्काद्वारा जारी सूचनामा उप–महानगरपालिका अर्को सूचना नहुदाँसम्म सिल गरिएको उल्लेख छ । कोरोना संक्रमणका कारण जनप्रतिनिधि र कर्मचारी संक्रमित भएर उपचारमा रहेकाले विरामी निको भई उप–महानगरपालिकामा कोरोनाको सन्त्रास नहट्दासम्म कार्यालय बन्द रहने उल्लेख छ । पछिल्लो समय सरकारी कार्यालय र नागरिकको स्वास्थ्य परीक्षणमा तीव्रता दिएसँगै बाँकेमा संक्रमितको संख्या बढ्दो छ । तर, उचित र मापदण्डअनुसारका आइसोलेसन र क्वारेन्टिन पर्याप्त नहुँदा संक्रमण देखिएका र बाहिरबाट आएका ब्यक्तिलाई सुरक्षितरुपमा ब्यवस्थापन गर्न समस्या भइरहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेशबाबु श्रेष्ठ बताउँछन् ।
यसअघि बनाइएका क्वारेन्टिन र आइसोलेसनहरु सम्बन्धित पालिकाले हटाइसकेका छन् । अहिले कोरोना संक्रमणको जोखिम बढेपछि जनस्वास्थ्यको निर्देशनमा बाँकेका स्थानीय तहहरुले पुनः क्वारेन्टिन निर्माण गर्ने काम शुरु गरेका छन् । बाँकेको खजुरामा रहेको कोरोना विशेष आइसोलेसन अस्पतालमा कोरोना संक्रमितको संख्या दैनिक बढेको छ । फोकल पर्सन श्रेष्ठले भने, ‘आइसोलेशनको क्षमता कम भएकाले संक्रमित विरामी कहाँ कसरी ब्यवस्थापन गर्ने अहिले समस्या देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका–१ का वडाध्यक्षलाई कोरोना भाइरस संक्रमण देखिएपछि सोमबार विहान १० बजेसम्म उनलाई कहाँ राख्ने भन्ने विषयमा समस्या देखिएको थियो,’ फोकल पर्सन श्रेष्ठले भने ।
जिल्ला कोरोना विपद् व्यवस्थापन समितिको छलफल र आइसोलेसन कक्ष व्यवस्थापनपछि वडाध्यक्ष रिजाललाई खजुरा लगिएको थियो । तर, आइसोलेसनको अभावमा नेपालगञ्ज आन्तरिक राजश्व कार्यालयमा भेटिएका कर्मचारीलाई भने सोही कार्यालयमै आइसोलेसन कक्ष तयार गरेर राखिएकोे छ । यसले बाँकेमा कोरोना संक्रमित बढ्दै जाँदा आइसोलेसन र क्वारेन्टिन अभाव हुँदै गएको प्रष्ट छ । जिल्ला प्रशासन कार्यालय बाँकेले निषेधाज्ञा जारी गरेसँगै बढाइएको कोरोना भाइरस परीक्षणका क्रममा बाँकेमा संक्रमितको संख्या दैनिक बढिरहेको छ । सरकारी कार्यालयमै संक्रमणको दर उच्च देखिएसँगै सरकारी संयन्त्र पनि संक्रमणको उच्च जोखिममा देखिएको छ ।
सरकारी कार्यालयका कर्मचारीमा समेत कोरोना संक्रमण देखिन थालेपछि बाँके जिल्ला कोरोना संक्रमणको जोखिम उच्च छ । सरकारी कार्यालयमा संक्रमण देखिएसँगै अत्यावश्यक सेवाबाहेक अन्य सेवाहरु बन्द गरिएका छन् । बाँकेका सरकारी अधिकारी तथा स्वास्थ्यकर्मीहरूले लापरवाही गरे नेपालगञ्जको अवस्था भयानक दुखदायी हुनसक्ने चेतावनीसमेत दिँदै आएका छन् । कोरोनाको जोखिममा रहेका मानिसलाई क्वारेन्टिनमा राख्न छोडेपछि समुदायस्तरमै कोरोना संक्रमण फैलिन थालेको छ ।









प्रतिक्रिया दिनुहोस्