मध्यपश्चिमको पानी गुणस्तरहीन, अनुगमन टोलीले तिरायो २ लाख जरिवाना



कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ मा रहेको मध्यपश्चिम पानी उद्योगले गुणस्तरहीन पानी उत्पादन गर्ने गरेको खुलेको छ । गुणस्तरहीन पानी उत्पादन गरेर बिक्रीवितरण गरेको भन्दै उद्योगलाई कारबाही स्वरुप २ लाख जरिवाना गरिएपछि यस्तो कुरा बाहिर आएको हो । वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय, नेपालगञ्जका प्रमुख कृष्ण पौडेलको नेतृत्वमा गएको अनुगमन टोलीले पानी उद्योगलाई शुक्रबार कारबाही गरेको थियो ।

‘गुणस्तरहिन पानी उत्पादन तथा बिक्रीवितरण गरेको पाइएकोले मध्यपश्चिम पानी उद्योगलाई उपभोक्ता संरक्षण ऐन २०७५ को दफा ३८ (ङ) को कसुरमा सोही ऐनको दफा ३९ (१) (ख) बमोजिम तत्काल २ लाख जरिवाना गरिएको छ’ उनले भने । कार्यालय प्रमुख पौडेलले अनुगमनमा पुग्दा नेपाल सरकारको न्यूनतम मापदण्ड समेत पुरा नगरेको पाइएकोले कारबाहीस्वरुप तत्काल २ लाख जरिवाना गरिएको र पानीको गुणस्तर सुधार गरि पुनः परीक्षण गराई प्रतिवेदन पेश गर्न समेत निर्देशन दिइएको जानकारी दिए ।

‘खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयको प्रतिबेदनमा उक्त उद्योगले सरकारी मापदण्ड पुरा नगरेको पाइयो’ उनले भने, ‘उद्योगले गुणस्तर सुधार गरि पुनः परीक्षण गर्दा गुणस्तरमा सुधार भएको पाईएमा मात्र उत्पादन तथा बिक्रि बितरण गर्न दिईनेछ ।’

वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालय, बाँकेको नेतृत्वमा गएको उक्त अनुगमन टोलीमा जिल्ला प्रशासन कार्यालय बाँकेका प्रशासकीय अधिकृत हरिसचन्द्र शर्मा, खाद्य प्रविधी तथा गुण नियन्त्रण कार्यालयकी खाद्य निरीक्षक नेत्रा बोगटी, वाणिज्य, आपूर्ती तथा उपभोक्ता संरक्षण कार्यालयका सूचना अधिकारी देविलाल चौलागाईको उपस्थिती रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन १० गते शनिबार