सुर्खेत ।
कर्णाली प्रदेशसभा सदस्य जीवन बहादुर शाहीले कोरोना भाइरस (कोभिड–१९) जितेका छन् । कर्णाली प्रदेश सभाका प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस संसदीय दलका नेता समेत रहेका शाहीले कोरोना संक्रमण पुष्टि भएको ९ दिनमै कोरोना जितेका हुन् । उनलाई गत असार २९ गते प्रदेश अस्पताल सुर्खेतमा गरिएको पीसीआर परीक्षणमा कोरोना पोजेटिभ अर्थात संक्रमण पुष्टि भएको थियो । सांसद शाहीले सुर्खेतदेखि गृह जिल्ला हुम्ला जानका लागि कोरोना परीक्षण गरेका थिए ।
कोरोना पोजेटिभ देखिएपछि उनको कर्णाली प्रदेश अस्पताल सुर्खेतका निर्देशक डाक्टर डम्बर खड्काको प्रत्यक्ष निगरानीमा उनकै निवासको आइसोलेसनमा उपचार भइरहेको थियो । मंगलबार शाहीको लगातार पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएसँगै कोरोना मुक्त भएको निर्देशक डा.खड्काले जानकारी दिए । यता आफूले पूर्ण आत्म विश्वासका कारण छोटो समयमा कोरोना जितेको भन्दै खुसी महशुस भएको प्रतिक्रिया दिए । उनले पहिला आफूलाई अली डर लागेको पनि बताए ।
कर्णालीमा थप २२ मा पुष्टि
बुधबार कर्णालीमा थप २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पतालमा गरिएको परीक्षणमा २२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा कालिकोट रास्कोट नगरपालिकाका ६ जनामा र दैलेख अस्पतालमा गरिएको परीक्षणमा दैलेख ठाँटीकाध गाउँपालिकाका १६ जनामा कोरोना पुष्टि भएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालय अन्र्तगतको स्वास्थ्य महाशाखा प्रमुख डा. लक्ष्मीनारायण तिवारीले जानकारी दिए ।
योसँगै कर्णालीमा कोरोना संक्रमित हुनेको संख्या १७ सय ८३ पुगेको छ । बुधबार नै कर्णालीमा १३ जनाले कोरोना संक्रमण जितेर घर फर्किएका छन् । प्रदेश अस्पताल सुर्खेतबाट तीनजना, सुर्खेतको वीरेन्द्रनगर आइसोलेसनबाट पाँचजना, र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट चार जना कोरोना संक्रमणमुक्त भई घर फर्किएको डा. तिवारीले बताए । कर्णालीमा कोरोना संक्रमण निको हुनेको संख्या एक हजार पाँच सय ४६ जना पुगेको छ । हाल सक्रिय संक्रमित दुई सय ३१ जना रहेका छन् । कर्णालीमा कोरोनाका कारण ६ जनाको मृत्यु भइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्