भेटियो चार महिनापछि युवाको कंकाल



सुर्खेत ।

सिकार खेल्न गएका युवाको कंकाल चार महिनापछि भेटिएको छ । जिल्लाको बराहताल गाउँपालिका वडा नम्वर १ समसेनीका ३१ वर्षीय शिवराम रानाको कंकाल चार महिनापछि भेटिएको हो । २०७६ फागुन १० गते शिवराम उनका साथीहरु याम बहादुर बिसी र सुर्य बहादुर वली बर्दिया राष्ट्रिय निकुञ्जमा सिकार खेल्न गएका थिए । सोही क्रममा हराएका उनको कंकाल चार महिनापछि हत्या गरेर फालिएको अवस्थामा निकुञ्जभित्र भेटिएको हो ।

उनकी श्रीमती मनरुपा रानाले याम बहादुर र सुर्य बहादुरले आफ्ना श्रीमान्लाई बेपत्ता पारेका भन्दै जिल्ला प्रहरी कार्यालय सुर्खेतमा किटानी जाहेरी दिएकी थिइन् । उजुरी परेपछि दुवैजनालाई असार १६ गते सुर्खेतले नियन्त्रणमा लिई अनुसन्धान अगाडी बढाएको थियो । जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक राजेन्द्रप्रसाद भट्टले प्रारम्भिक अनुसन्धानमा यामबहादुर र सूर्यबहादुरले शिवरामलाई बाघले मारेको बयान दिएका थिए ।

अभियुक्तद्वयले बर्दिया राष्ट्रिय निकुञ्जको पाँडेखोलामा बाघले आक्रमण गरेको बयान दिएका थिए । सोही सूचनाको आधारमा घटनास्थल पुगेर खानतलासी गर्दा बेपत्ता भनिएका शिवरामको हत्या भएको खुलेको हो । बर्दिया राष्ट्रिय निकुञ्जको समन्वयमा र प्रहरी निरीक्षक गोपाल रायमाझीको कमाण्डमा असार ३१ गते घटनास्थल पुगेको प्रहरी टोलीले घटनास्थलबाट एक थान भरुवा बन्दुक, मानव कंकाल, कपडा, झोला, गनपाउडर, खुकुरी, खाने थाल लगायतका सामाग्रीहरु बरामद गरेको प्रहरी उपरीक्षक भट्टले बताए ।

घटनास्थलबाट संकलन गरिएका मानव कंकाल र कपडाको आधारमा बुवा हरिराम राना र श्रीमती मनरुपाले मृतक शिवराम नै भएको पुष्टि गरेका छन् । प्रहरी अनुसन्धानबाट सिकार खेल्ने क्रममा विवाद हुँदा यामबहादुर र सूर्यबहादुरले शिवरामको हत्या गरेर त्यहीँबाट उनीहरु भारत गएको खुलेको छ । भारतबाट घर फर्केका यामबहादुर र सूर्यबहादुरले मृतकका परिवारलाई सिकार खेल्नेक्रममा शिवरामलाई बाघले खाएको भन्दै पैसाको प्रलोभन देखाएका थिए ।

उनले व्यक्ति बेपत्ता सम्वन्धी कसुरको ठाउँमा कर्तव्य ज्यान मुद्धामा जाहेरी लिएर अनुसन्धान प्रक्रिया अघि बढाएको जानकारी दिए । सुर्खेतले प्रहरीले यामबहादुर र सूर्यबहादुर विरुद्ध हातहतियार सम्वन्धी मुद्धा र बर्दिया राष्ट्रिय निकुञ्जमा चोरी–शिकारी कसुरमा पनि मुद्धा चलाउने बताएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ साउन ५ गते सोमबार