रावन विश्वकर्मा, बाँसगढी ।
बर्दियाका बाँसगढी क्षेत्रमा मास्क नलगाई घर बाहिर निस्किनेहरु माथि प्रहरीले निगरानी बढाएको छ । प्रहरी प्रधान कार्यालयको निर्देशन अनुसार बर्दिया प्रहरीले पनि मास्क नलगाई घर बाहिर निस्कनेहरुको निगरानी बढाएको हो । प्रहरीको निगरानीसँगै मास्क नलाउनेहरुलाई कारबाही गर्न थालिएको छ ।
बुधबार बर्दियाको बाँसगढीमा मास्क नलगाई हिड्ने २९ जनालाई प्रहरीले कारबाही गरेको थियो । मास्क नलगाई जथाभावी घर बाहिर निस्कने २९ जनालाई नियन्त्रणमा लिएर सम्झाई बुझाई गरी घर पठाइएको इलाका प्रहरी कार्यालय बाँसगढीका इन्चार्ज प्रहरी निरीक्षक ईन्द्रजित सुनारले जानकारी दिए ।
पहिलो दिन सम्झाई बुझाई पठाइए पनि अबदेखि मास्क नलगाई घरबाहिर निस्कनेलाई पक्राउ गरी संक्रामक रोग ऐन २०२० अनुसार कारबाही गरिने उनले बताए । बाँसगढी प्रहरीले बर्दियाको बाँसगढी, लखना, ककौरा, डेउढाकला, माछागढी लगायतका बजार क्षेत्रमा माईकिङ्ग मार्फत सर्वसाधारणहरुलाई अनिवार्य रुपमा स्वास्थ्य मापदण्ड अपनाउन अनुरोध समेत गरिरहेको छ । घर बाहिर निस्कदा अनिवार्य मास्कको प्रयोग गर्न, कम्तीमा पनि २ मिटर सामाजिक दुरी कायम गर्न, सवारी साधन चलाउँदा सजक र सतर्क भई चलाउन प्रहरीले माईकिङ्ग मार्फत अनुरोध गरेको हो ।
प्रहरीले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्कन समेत सबैमा अनुरोध गरेको छ । स्वास्थ्य मापदण्ड पालना गर्दै लकडाउन खुकुलो बनाउने नीति अबलम्वन गरिएसँगै स्वास्थ्य मापदण्ड व्यापक उल्लंघन भइरहेको छ । लकडाउन खुकुलोसँगै सर्वसाधारण, सरकारी, निजी तथा गैरसरकारी संघ–संस्था तथा कार्यालयहरुले स्वास्थ्य मापदण्ड व्यापक उल्लंघन भइरहेकाले गृह मन्त्रालयको पछिल्लो निर्देशन प्रहरीले कडाईका साथ लागु गर्न थालेको हो ।
बर्दियामा जिल्ला विपद् व्यवस्थापन समितिको निर्णय अनुसार शनिबार बाहेक अन्य दिन विहान ९ बजेदेखि ६ बजेसम्म व्यापार व्यवसाय खोल्न दिने निर्णय अनुसार बजार क्षेत्र खुल्न थालेका छन् । सार्वजनिक सेवा लगायत बजार खुल्न थालेसँगै मानिसहरुको चहल पहल पनि निकै बढेको छ । कोरोना भाईरस संक्रमणको जोखिम बढेको भए पनि मानिसहरुमा कोरोनाको त्रास कम भएको छ । कोरोनाको त्रास कम भए सँगै मानिसहरुका पनि जथाभावी घर बाहिर निस्कन थालेका हुन् ।









प्रतिक्रिया दिनुहोस्