बाँके जिल्ला सुरक्षाको हिसावले अति संवेदनशिल मानिन्छ । नेपाल प्रहरीले समेत बाँकेलाई सुरक्षाको हिसावले अति संवेदनशिल जिल्लाको सूचिमा राखेको छ । सोही अनुसार बाँके जिल्लाको सुरक्षा व्यवस्था मिलाइएको हुन्छ भने अहिले पनि रहेको छ । ६५ किलोमिटर भारतसँगको खुल्ला सीमानको कारण यहाँको सुरक्षा चुनौती थपिएको हो । केही वर्षअघिसम्म बाँकेमा भुमिगत समुहको दबदवा रहेको थियो । विगतका भन्दा पछिल्लो समय बाँकेमा सुरक्षा चुनौती त केही घटिसकेको छ । केही वर्ष अघिसम्म अपहरण र गोली प्रहार दैनिक जसो हुने बाँकेमा अहिले त्यो वातावरण छैन ।
अहिले त्यो वातावरण लगभग अन्त्य भइसकेको भन्दा पनि हुन्छ । राजनितिक स्थिरता अन्त्य भएसँगै बाँकेमा ठूला अपराधका घटनाहरु न्यूनिकरण भएको बताइन्छ । तीन वटा केन्द्रको केन्द्रबिन्दु भएकाले पनि अझै बाँके सुरक्षा हिसावले अति संवेदनशिल नै रहेको छ । यो भिभिआइपी र भिआइपीको धेरै आवतआवत हुने स्थान समेत हो । उनीहरुको सुरक्षादेखि स्कटिङसम्म ठूलो जनशक्ति खट्नुपर्ने अवस्था रहेको छ । अन्य जिल्लाजस्तै बाँकेमा पनि आवश्यता अनुसार सुरक्षाकर्मी छैनन् । एकातर्फ सुरक्षा जनशक्ति न्यून रहेको छ भने नागरिकबाट प्रहरी माग बढ्दो क्रममा रहेको छ । ठूला घटनाका मुद्धाहरुको संख्या घटेपनि अन्य घटनाका मुद्धा संख्या भने बाँकेमा बढिरहेका छन् । महिला हिंसा, चोरी डकैती, बलात्कार, लागूऔषध लगायतका अपराधहरुमा भने वृद्धि भएको पाइन्छ । बाँके नेतृत्वको पछिल्लो चुनौती भनेको महिला हिंसा र लागूऔषध नियन्त्रण गर्नु नै हो । भारतसँगको खुल्ला सीमानाको कारण बाँकेमा लागूऔषध प्रयोगकर्ता र बेचबिखन गर्नेहरु समेत बढिरहेका छन् । जिल्लामा नयाँ आउने प्रहरी प्रमुखहरुले शुरुमा जिल्लालाई अपराध मुक्त बनाउने घोषणा गर्दछन् ।
केही दिन अघि मात्र बाँके प्रहरीको कमाण्ड सम्हालेका प्रहरी उपरीक्षक ओम बहादुर रानाले आफ्ना कार्यकालमा जिल्लालाई अपराधमुक्त बनाउने घोषणा गरिसकेका छन् । उनले घोषणा गरेजस्तो जिल्लालाई अपराधमुक्त बनाउने भने अहिले कुनै पनि हालतमा सम्भव छैन । तर अपराधलाई न्यूनिकरण भने गर्न सकिन्छ । नयाँ प्रहरी प्रमुखलाई जनस्तरसम्म सम्बन्ध सुधार गर्नुपर्ने चुनौती समेत उस्तै रहेको छ । भुसको आगोसरी फैलिएको लागूऔषध कारोबारी तथा प्रयोगकर्तालाई न्यूनिकरण गर्नु फलामको च्यूरा चपाएको भन्दा पनि कठिन देखिन्छ । नयाँ प्रहरी प्रमुखले के बाँकेलाई अपराध मुक्त गराउँला त त्यो थाहा पाउन त केही महिना कुर्नेपर्छ ।









प्रतिक्रिया दिनुहोस्