नेपालगञ्ज ।
बाँकेको नेपालगञ्जमा रहेको राष्ट्रिय वाणिज्य बैंक त्रिभुवन चोक शाखाका प्रबन्धक ललितबहादुर शाही पक्राउ परेका छन् ।
बैंकलाई झुक्याएर ऋण लिएको अभियोगमा पक्राउ परेका क्रणीको बयानको आधारमा उनलाई पक्राउ गरिएको हो । नेपालगञ्ज उपमहानगरपालिका-११ का सुनचाँदी व्यवसायी रिजवान अहमद जसगढ राष्ट्रिय वाणिज्य बैंकलाई झुक्याएर १ करोड २५ लाख रुपैयाँ ऋण लिएको अभियोगमा २७ जेठमा पक्राउ परेका थिए ।
उनीमाथि जग्गाधनी प्रमाणपत्र (लालपूर्जा), ट्रेस, नक्सा र कर तिरेको रसिदलगायतका सरकारी कागजात किर्ते गरेको आरोप लागेको छ । उनको बयान र अनुसन्धानका आधारमा बैकका प्रबन्धक शाहीलाई जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले पक्राउ गरेको हो । जसगढमाथि मालपोत कार्यालय, नेपालगञ्ज उपमहानगरपालिकाको लेटरप्याड, हस्ताक्षर, छाप र प्रमुखको हस्ताक्षरसमेत किर्ते गरेको आरोप लागेको छ ।
मुद्दाको अनुसन्धान गर्ने क्रममा बैंक प्रबन्धक शाहीलाई पनि पक्राउ गरिएको जिप्रका बाँकेका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास खड्काले जानकारी दिए । प्रहरीले अहिले सरकारी कागजात किर्ते गरेको अभियोगमा अनुसन्धान प्रक्रिया अघि बढाएको छ । बैंकिङ कसुरको मुद्दा चल्दा भने उनी बैंकका थुप्रै खालका अनुसन्धानका दायरामा आउन सक्नेछन् ।









प्रतिक्रिया दिनुहोस्