कोहलपुर ।
बाँकेमा शुक्रबार एकैदिन थप १४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । नयाँ संक्रमित बैजनाथ र राप्तीसोनारी गाउँपालिकामा भेटिएका हुन् । भेरी अस्पताल नेपालगञ्जले शुक्रबार साँझ जारी गरेको सूचना अनुसार संक्रमित बैजनाथका ७ र राप्तीसोनारीका ७ गरी कुल १४ जना रहेका छन् ।
नयाँ संक्रमित बैजनाथ गाउँपालिका वडा नम्बर २ का २ जना, वडा नम्बर ३ का ३ जना, ५ का २ जना र वडा नम्बर ६ का १ जना रहेको स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए । त्यसैगरी राप्तीसोनारी ३ का २ जना र वडा नम्बर ८ का ५ जना रहेका छन् ।
राप्तीसोनारी ३ मा १८ महिनाकी बालिकालाई समेत कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बिष्णु प्रसाद चुदालीले भारतबाट आएर खैरेहनी क्वारेन्टिनमा बसेकी १८ महिने बालिकामा कोरोना पुष्टि भएको जानकारी दिए । ‘भारतबाट आएर क्वारेन्टिनमा अभिभावकसँग बसेकी बालिकामा कोरोना पुष्टि भएको हो’ उनले भने, ‘बालिका र उनको हेरचाहको लागि आमालाई नेपालगञ्जमा रहेको आइसोलेसन सेन्टरमा लगिएको छ ।’
बैजनाथ गाउँपालिका ६ का कोरोना संक्रमित समेत ९ वर्षिय बालक हुन् । यसैबिच शुक्रबार नै भेरी अस्पतालले जारी गरेको सूचना अनुसार बर्दिया बढैयातालका २, गेरुवा गाउँपालिकाका १ र गुलरिया नगरपालिकाका ४ जनामा कोरोना संक्रमण पुष्टि भएको
थियो ।









प्रतिक्रिया दिनुहोस्