बाँसगढीका गाउँ गाउँमा पशु प्राविधिक पुगे



रावन विश्वकर्मा, बाँसगढी ।

यति वेला नोवेल कोरोना भाईरसको महामारीबाट विश्व नै आक्रान्त बनेको छ । कोरोना रोकथाम तथा नियन्त्रणका लागि नेपाल सरकारले लकडाउन घोषणा गरेको साढे दुई महिना पुगिसकेको छ । सरकारले जारी गरेको लकडाउनका कारण सबै क्षेत्र प्रभावित बनेका छन् । तर बाँसगढी क्षेत्रमा यतिवेला पशु चौपायामा महामारी फैलन नदिन पशु प्राविधिकहरु गाउँ गाउँमा पुगिरहेका छन् । जारी बन्दाबन्दीका कारण प्रभावित पशु खोप कार्यक्रमलाई पशु प्राविधिकहरु गाउँगाउँमा नै पुगेर तिव्र पारेका हुन् ।

किसानहरुको पशु चौपायामा टोलटोलमा पुगेर विभिन्न रोग विरुद्धको निःशुल्क खोप दिईरहेको कृषि सेवा शाखा बाँसगढीका प्रमुख डा. प्रेम कुमार मण्डलले जानकारी दिए । पशु चौपायमा महामारी फैलन नदिन वर्षेनी खोप कार्यक्रम अनुसार सबै वडाका टोलटोलमा खोप कार्यक्रम सञ्चालन गरिएको उनले बताए । खोप कार्यक्रम अन्तरगत भेडाबाख्रामा पिपिआर रोग विरुद्धको खोप र गाँई भैसीमा लाग्ने खोरेत विरुद्धको खोप लगाउने गरिएको हो ।

बन्दाबन्दीको समयमा पनि पशु सेवा शाखाले पशु खोप कार्यक्रमलाई निरन्तरता दिएपछि सयौं किसानहरु लाभान्वित भएका छन् । पशु सेवा शाखाले जेठ १७ गतेदेखि बाँसगढी वडा नम्बर २ का विभिन्न गाउँमा पुगेर पशुहरुमा खोप लगाउन सुरु गरेको थियो । त्यहाँ १ हजार ५ सय ७४ भेडाबाख्रा पिपिआर रोग विरुद्ध र २ सय गाईभैसीमा खोरेत विरुद्धको गरी १ हजार ७ सय ७४ पशु चौपायमा निशुल्क खोप दिईएको शाखाले जनाएको छ । वडा नम्बर ६ मा समेत ५ सय ६७ पशुहरुमा खोप दिईसकिएको छ ।

त्यस्तै बाँसगढीको मदाहमा ५ सय ५५, नेवाडामा ३ सय ६४, शंखरियामा ३ सय ४ र ककौरामा १ सय ५९ पशु चौपायहरुमा पिपिआर, खोरेत र चरचरे विरुद्धको निःशुल्क खोप लगाईएको पशु सेवा शाखा बाँसगढीका प्रमुख मण्डलले जानकारी दिए । अहिले पनि खोप लगाउन पशु प्राविधिकहरु गाउँ गाउँमा खटिएको उनले बताए ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २५ गते आइतबार