काठमाडौं ।
रुकुम पश्चिममा दलित युवकको हत्या भएको विषयमा संसदीय समितिमा जवाफ दिन पुगेका गृहमन्त्री रामबहादुर थापा बादलले अमेरिकाजस्तो देशले पनि विभेद अन्त्य गर्न नसकेको बताएका छन् ।
प्रतिनिधिसभाको कानून न्याय तथा मानव अधिकार समितिमा उनले अमेरिका लोकतन्त्रको उच्चतम रुप भएको ठाउँमा समेत विभेद अन्त्य नभएको प्रतिक्रिया दिएका हुन् ।
‘अमेरिकामा पनि विभेद दण्डनीय छ । लोकतन्त्रमा (अब्राहम) लिंकनको परिभाषा सर्वश्रेष्ठ मानिन्छ । त्यही देशमा त्यही रुपमा लोकतन्त्र कार्यान्वयनमा भएको छैन । मार्टिन लुथर किङको हत्या भएको थियो । कानूनमा विभेदको अन्त्य भएको भए पनि पूर्ण कार्यान्यन भएको छैन’ उनले भने ।
नेपालमा पनि २०६२/६३ पछि राजनीतिक र कानूनी रुपमा विभेद अन्त्य गरे पनि वैचारिक र सैद्धान्तिक रुपमा अन्त्य हुन नसकेको गृहमन्त्री थापाले बताए । ‘अमेरिकाले पनि सकेको छैन। हामीले पनि सकेका छैनौं’ उनले भने ।
अमेरिकामा पनि हालै एक अश्वैत नागरिक मारिएको विरोधमा देशभर प्रदर्शन भइरहेको छ । अमेरिका शक्तिशाली र लोकतन्त्रको प्रत्याभूति भएको देशमा पनि विभेद कायमै रहेको मन्त्री थापाले बताए । ‘अमेरिका विश्वकै ठूलो शक्तिशाली लोकतन्त्रको प्रत्याभूति भएको देश मानिन्छ । नेपाल गरिब देशको सूचीमा पर्छ’ उनले भने ।









प्रतिक्रिया दिनुहोस्