सम्पादकिय : निपष्क्ष छानविन होस



 

जेष्ठ १० गते रुकुम पश्चिम भएको जातीय नरसंहारको देशभर विरोध भइरहेको छ । अन्तर जातीय प्रेम सम्बन्धका कारण सोतीका गाउँलेद्धारा जाजरकोट र रुकुमका ६ जनाको हत्या भएको घटनाको विरोधमा देशभर प्रर्दशन तथा विरोध भइरहेको हो । सबैले जनप्रतिनिधि सहितका संलग्नतामा भएको जातीय नरसंहारका दोषिमाथि कडा भन्दा कडा कारबाहीको माग समेत गरेका छन् । २१ औ शताब्दीमा समेत कथित तल्लो जातका केटाले कथित माथिल्लो जातकी केटीलाई प्रेम गरेको आधारमा प्रेमी नवराज विक सहित ६ जनाको निर्मम हत्या भएको थियो । प्रेमी भनिएकी शुस्मा मल्ल भने जातीय समानताको नारा लगाउदै १० वर्षे जनयुद्धको सुरुवात भएको रुकुम पश्चिमकी हुन् ।

उक्त जिल्लालाई जातीय छुवाछुत मुक्त जिल्ला समेत घोषणा गरिएको छ । तर एक युवकले एक युवतीलाई प्रेम गरेकै विषयमा ६ जनाको हत्या हुनु क्रुर अमानवीयता हो । यो घटनाको जति निन्दा गरेपनि पुग्दैन । यो हत्याकाण्डले वर्तमान देशको व्यवस्था, अझै संस्थागत रुपमा भइरहेको जातीय विभेद र असमानताको नांगो चित्र प्रस्तुत गरेको छ । देशको शासन व्यवस्था नै विभेदकारी भएको प्रष्ट्याएको छ । जात व्यवस्थाको कत्रो भयानक रुपमा रहेछ भन्ने रहस्य खुलेको छ । देशमा भएको परिवर्तन त केवल नारामा मात्र सिमित रहेछ भन्ने देखाएको छ। रुकुम पश्चिममा जुन प्रकारको घटना घट्यो क्षम्य विषय होइन ।

यसमा दुईचार होइन सिंगो गाउँ नै संलग्न छ । त्यो भन्दा पनि जनप्रनिधिको समेत नेतृत्व दायि भूमिका रहेको पीडित परिवारको गुनासो छ । यसमा राजनीतिक रंग दिने समेत काम भएको छ, तर यो निकै दुःखदाय छ । अहिले पीडित पक्षको माग भनेको दोषि माथि कडा कारबाही हो । र सरकारले आगामी दिनमा यस्ता घटना घट्न नदिनको लागि जसरी भएपनि जातीय आधारमा हुने घटनाका दोषिलाई कडाभन्दा कडा सजाय हुनुपर्छ । घाइतेको उपचार गरिनुपर्छ । त्यो भन्दा पनि घटनाको बास्तविक र निष्पक्ष छानविन
गरिनुपर्छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ २० गते मंगलबार