कोहलपुर ।
बाँकेका ६ वटा स्थानीय तहमा कोरोना संक्रमितहरु पुगेका छन् । मंगलबार साँझसम्म जिल्लामा आठ पालिकामध्ये ६ वटा पालिकाहरुमा कोरोना संक्रमितहरु फेला परेका हुन् ।
नेपालगञ्ज उपमहानगरपालिका, डुडुवा, राप्तीसोनारी, बैजनाथ, खजुरा र नरैनापुर गाउँपालिकामा कोरोना संक्रमितहरु भेटिएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले बताए । उनका अनुसार कोहलपुर नगरपालिका र जानकी गाउँपालिकामा मात्र कोरोना संक्रमितहरु फेला परेका छैनन् ।
पछिल्लोपटक मंगलबार साँझ बैजनाथ गाउँपालिकाका एक जनाका कोरोना संक्रमण पुष्टि भएको थियो । मंगलबार मात्र बाँकेमा नयाँ ८ जना कोरोना संक्रमित थपिएका थिए ।
भेरी अस्पतालमा गरिएको परीक्षणमा नेपालगञ्ज उपमहानगरपालिका–२ का एक पुरुष, डुडुवा गाउँपालिका–१ का २० वर्षीय पुरुष, डुडुवा–२ का २१, ३६ र ४० वर्षीय पुरुष, राप्तीसोनारी गाउँपालिका–३ का ४६ वर्षीय पुरुष र वडा नम्बर ९ का ३८ वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको हो ।
मंगलबार कोरोना पुष्टि भएका सबैजना भारतबाट आएकाहरु रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । उनीहरुको केही दिनअघि मात्र गाउँपालिकाले स्थापना गरेको क्वारेन्टिनबाट नै स्वाब संकलन गरेर परीक्षणका लागि पठाइएको थियो । बाँकेमा भारतबाट आउने क्रम चलिरहेको छ ।
नाकाबाट भित्रिनेलाई सम्बन्धित पालिकाबाट सवारी साधन ल्याएर लैजाने गरिएको छ । क्वारेन्टिनको संख्या र त्यसमा बस्नेको संख्या दिनदिनै बढिरहेको छ । अहिले बाँकेमा क्वारेन्टाइनमा दुई हजार एक सय ६५ जना बसिरहेका छन् ।
भारतबाट आउने र क्वारेन्टिनमा बस्नेको संख्या बढे अनुसार स्वाव संकलन र परीक्षण सुस्त भएको छ । उनीहरु सबै भारतबाट आएकाका स्थानीयहरु हुन् । बाँकेका कोरोना संक्रमितको संख्या १ सय ५४ जना पुगेको छ ।
ती मध्ये मंगलबार रातीसम्म २२ जना कोरोना जितेर घर फर्किसकेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । एक जनाको भने मृत्यु भइसकेको छ ।









प्रतिक्रिया दिनुहोस्