कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकामा लकडाउनको समयमा भारत लगायत तेस्रो मुलुकबाट आउने नागरिकको व्यवस्थापन सम्बन्धित वडाले गर्ने भएका छन् । विशेषगरि रोजगारी, व्यवसाय र अन्य कामको शिलशिलमा भारतबाट फर्किएका नागरिकहरुको व्यवस्थापन सम्बन्धित वडाले नै गर्ने भएका हुन् । पछिल्लो समय भारतबाट ठूलो संख्यामा नागरिक घर फर्किन थालेपछि प्रत्येक वडामा क्वारेन्टिनमा निर्माण गर्ने निर्णय गरिएको हो । यसअघि कोरोना भाइरसका कारण सरकारले गरेको लकडाउनको दुई महिनासम्म नगरपालिकाभरी एउटा मात्रै क्वारेन्टिान थियो । देशभरका विभिन्न नाकाबाट नगरपालिकाका नागरिक आउने क्रम बढेसँगै नगरपालिकाले प्रत्येक वडामा एक÷एक क्वारेन्टिन निर्माण गर्ने भएको हो ।
अब कोहलपुरका १५ वटै वडामा क्वारेन्टिन निर्माण गरिने र आफ्ना वडाका नागरिक सम्बन्धित वडाले नै व्यवस्थापन गर्ने नगरपालिकाले जनाएको छ । नगरप्रमुख लुट बहादुर रावतले शनिबार सबै वडाका अध्यक्ष, सुरक्षा निकायसहित बसेको बैठकले नगरपालिकाका सबै वडामा क्वारेन्टिन बनाउने निर्णय गरेको जानकारी दिए । उनका अनुसार सम्बन्धित वडाका विद्यालयमा क्वारेन्टिन निर्माण गर्ने गरि वडालाई निर्देशन दिइएको छ । ‘हामीले केही सुविधा सम्पन्न स्थानमा क्वारेन्टिन राख्ने निर्णयको व्यापक विरोध भयो । हामी अबको उपयुक्त विकल्पको रुपमा प्रत्येक वडामा क्वारेन्टिन निर्माण गर्ने भएका छौ । बाहिरबाट आएका नागरिक सम्बन्धित वडामा बस्दाँ खाने, लाउनेदेखि हरेक हिसाबले उपयुक्त हुने ठानेपछि यस्तो निर्माण भएको छ, यसमा सबै अध्यक्षहरु सहमत हुनु भयो’ उनले भने ।
अब भारत लगायतका मुलुकबाट आएका नागरिकको खाने व्यवस्था सम्बन्धित परिवारले नै गर्नेछ भने क्वारेन्टाइनमा बस्नको लागि आवश्यक अन्य व्यवस्था नगरपालिकाले गर्ने गरि निर्णय गरिएको छ । नगरपालिकाको यस्तो निर्णयसँगै अब क्वारेन्टिनमा बस्ने नागरिकहरुले खाने व्यवस्था नगरपालिकाले गर्ने छैन आफै गर्नुपर्नेछ । क्वारेन्टिन निर्माण गर्दा विश्व स्वास्थ्य संगठन र नेपाल सरकारले जारी गरेको मापदण्ड अनुसार नै क्वारेन्टिन निर्माण गरिने नगर प्रमुख रावत बताए । पछिल्लो समय भारतबाट प्रत्येक दिन जसो नगरपालिकाका स्थानीयहरु आइरहेका छन् । भारतबाट आएका नागरिकलाई सम्बन्धित वडाले क्वारेन्टिनमा राख्ने क्रम सुरु भइसकेको छ । नगरपालिकाको वडा नम्बर १ मा ३ जना, वडा नम्बर २ मा १५ जना र ३ नम्बर वडामा १० जना क्वारेन्टिनमा बसिरहेका छन् । यस्तै वडा नम्बर ७ मा ४ जना, वडा नम्बर ८ मा ११ जना र वडा नम्बर १० मा १२ जना रहेको नगर प्रमुख लुट बहादुर रावतले जानकारी दिए । उनका अनुसार वडा नम्बर ११ मा सबैभन्दा बढी ६९ जना, वडा नम्बर १२ मा २१ जना, वडा नम्बर १४ मा १५ जना र वडा नम्बर १५ मा १२ जनालाई क्वारेन्टिनमा राखिएको छ । उनीहरु सबैजना भारतबाट आएका हुन् । अहिलेसम्म वडा नम्बर ४, ५, ६ र १३ मा कोही पनि नागरिक नआएको र क्वारेन्टिन तयारी अवस्थामा रहेको छ ।
कोहलपुरका विभिन्न वडाका क्वारेन्टिनमा अहिले कुल १ सय ७२ जना रहेका छन् । ‘दैनिक न्युनतम १५ जनाका दरले भारतबाट नगरबासी आइरहेका छन् । उनीहरुलाई सम्बन्धित स्थानीय तहले निर्माण गरेका क्वारेन्टिनमा राखिएको छ । अझै आउने क्रम रोकिएको छैन ।’ मिसन टुडे दैनिकसँग कुराकानी गर्दै नगर प्रमुख रावतले भने । अझै निरन्तर आउने क्रम जारी रहेकोले उनीहरुको व्यवस्थापनको लागि नगरपालिका तयारी अवस्थामा रहेको उनले जनाए । निरन्तर मानिसहरु आउने क्रम जारी रहेकोले आउने मानिसको संख्या हेरेर क्वारेन्टिन विस्तार गर्दै लैजाने नगरपालिकाको योजना रहेको छ ।
यद्यपि नेपालमा लकडाउन सुरु हुनु अघिल्लो दिनसम्म १ सय ४९ जना कोहलपुरका नागरिक आएको पाइएको छ । अहिलेसम्म जम्मा ६० जना मात्रै क्वारेन्टिनमा बसेर घर फिर्ता भएका छन् । भने भारतका समेत ६७ जनालाई १ महिना क्वारेन्टिनमा राखेर आफ्नै देश पु¥याइएको नगरपालिकाले जनाएको छ । तेस्रो मुलुकबाट आउने नागरिकको व्यवस्थापनको तयारी के छ भन्ने प्रश्नमा नगर प्रमुख रावतले विदेशमा रहेका कोहलपुर नागरिक आएमा क्वारेन्टिनमा राख्ने, उनीहरुको अनिवार्य स्वास्थ्य जाँच गरि व्यवस्थापन गर्ने योजनामा नगरपालिका रहेको जानकारी दिए । नेपालमा कोरोना संक्रमणका कारण लकडाउन बढ्न सक्ने सम्भावना र बाहिरी देशबाट नागरिकहरु आएमा नगरपालिकाले व्यवस्थापन गर्ने क्षमता रहेको उनको भनाई रहेको छ । यस्तै जिल्ला सुरक्षा समिति बाँके निर्णयमा स्वास्थ्य कार्यालय बाँकेको व्यवस्थापनमा अहिले नगरपालिकाको वडा नम्बर ८ मा रहेको कृषि तालिम केन्द्रमा आइसोलेसन कक्ष सञ्चालनमा रहेको छ । त्यहाँ नरैनापुर गाउँपालिकाका ४१ जना कोरोना संक्रमित नागरिकको उपचार भइरहेको छ ।









प्रतिक्रिया दिनुहोस्