बाँकेको नेपालगञ्ज उपमहानगरपालिका ८ मा पहिलोपटक बैशाख १९ गते कोरोना संक्रमण पुष्टी भयो । एक ६० वर्षीय पुरुषमा पहिलोपटक कोरोना संक्रमण पुष्टी भएको थियो । लगत्तै उनको सम्पर्कमा रहेका व्यक्तिको खोजि गर्दै कन्ट्याक ट्रेसिङ र ट्राभल हिस्ट्री पत्ता लगाउने क्रममा सोही वडामा ठूलो संख्यामा कोरोना संक्रमित पुष्टी भयो ।
केही दिनको फरकमा नै एउटै टोलमा २५ जना कोरोना संक्रमित फेला परेका थिए । ती संक्रमित मध्ये एक सातवर्षीया बालिका समेत संक्रमित भएकी थिइन् । नेपालगञ्जका पहिलो संक्रमित ६० वर्षीय पुरुष, सात वर्षीय बालिका सहित २१ जनाले कोरोनालाई जितेर २० दिनपछि शुक्रबार घर फर्किएका छन् । उनीहरुको खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसन राखेर उपचार भइरहेको थियो । कोरोनालाई जितेर घर फर्किएपछि सात वर्षीय बालिकाका बुबाले करिब ३ साताको आइसोलेसन बसाई, छोरीको दैनिकीबारे मिसन टुडेका शुभाकर विश्वकर्मालाई यसरी सुनाए ।
मेरो छोरी बहुत चञ्चले छ । पहिला पनि उसलाई केही पनि भएको थिएन । एक्कासी हाम्रो टोलमा एक जना संक्रमित भेटिए । मेरो छोरी, मेरो लगायत धेरै जनाको कोरोना जाँच गरियो । पछि हाम्रो पोजेटिभ देखियो । पछि एम्बुलेन्समा आइसोलेसनमा लिइयो । कहिले पनि घर नै नछोडेकी मेरी छोरी मलाई बाटोमा कहाँ जाने बुबा भनेर सोध्थी । पछि अस्पतालमा निश्चित सामाजिक दुरी कायम गर्नुपर्ने थियो । हामी फरक कोठामा बस्नुपर्ने भयो । घरमा सधै मै सँग सुत्थी । सानो बच्चा त भइहाल्यो । उसलाई आफ्नो घरको जस्तो वातावरण भएन । केही त निकै असजिलो भयो । पहिला पहिला त रुन्थी पनि । पछि अस्पतालका मान्छेहरुलाई भनेर एकै कोठामा दुवै बाउ छोरी देखिने गरि बस्यांै ।
पछि बानी पर्दै गई । त्यहाँ खेल्न थाली । उसको दैनिकी भनेको चित्र कोर्ने थियो त्यहाँ । विभिन्न चित्र कोर्थी, रमाउँथी, पढ्थी, सुत्थी । यही नै हो उसको दैनिकी । करिब तीन साता उसलाई खड्किएको अभाव भनेको, साथीसँगैहरुसँग खेल्न नपाउनु थियो । त्यहाँ उसका उमेरका कोही पनि थिएनन् । शुक्रबार बिहान हामी घर जाने भनेपछि भने अघिअघि आई । त्यहाँ हाम्रो सम्मान तथा बिदाईको कार्यक्रम थियो । धेरै मानिसहरुको हाम्रो स्वागतको लागि आएका थिए । सबै जनाले २१ जनालाई क्रमश खादा ओढाएर, पुष्प गुच्छा सहित बिदाइ गरे । उसलाई पनि अरुलाई जस्तै गरेर सबैले माया गरे ।
धेरैले उज्ज्वल भविश्यको कामना गरे । घर फर्कन पाउँदा निकै खुसी छे । म पनि कोरोनाबाट मुक्त भएको छु । पक्कै पनि खुसी महशुस भएको छ । एउटा महा संकटबाट बचे जस्तो लागेको छ । २१ दिनको आइसोलेसन बसाइ निकै राम्रो भयो । खाने, बस्ने र उपचारको काम एकदमै राम्रो थियो । पहिला पनि काही पनि गएका थिएनौ । म भन्न चाहन्छु, सकभर सुरक्षित हुनुहोस् । सरसफाइमा ध्यान दिनुहोस् । कोरोनाको औषधि नै यही हो । अबको चौध दिन अनिवार्य होम क्वारेन्टिनमा बस्ने भनिएको छ । हामी होम क्वारेन्टिन मै बस्छौ । अब हामी पनि जादैनौ । मलाई के अनुभव भएको छ भने यो भनेको त आत्मविश्वासले जितिने युद्ध रहेछ ।










प्रतिक्रिया दिनुहोस्