मध्यरातीमा कोहलपुरको आइसोलेसनमा ल्याइयो नरैनापुरका ४१ कोरोना संक्रमित



नेपालगञ्ज ।

बाँके नरैनापुर गाउँपालिकाका ४१ जना कोरोना संक्रमितलाई कोहलपुर नगरपालिकाको पिपरीस्थित कृषि विकास बैंकको क्षेत्रीय तालिम केन्द्रको आइसोलेसनमा ल्याइएको छ ।

स्थानीयवासीको चर्को विरोधलाई बेवास्ता गर्दै प्रहरीले नेपालगञ्ज लायन्स डेन्टल आइसोलेसन सेन्टरमा रहेका ४१ जना कोरोना संक्रमितलाई बुधबार मध्यराती पिपरीमा ल्याएको हो।

इलाका प्रहरी कार्यालय कोहलपुर र जिल्लाबाट डीएसपी शिवबहादुर सिंहको कमाण्डको टोलीले नाराबाजीमा उत्रिएका स्थानीयलाई हटाएर राति साढे १० बजे कोरोना संक्रमितलाई पिपरीमा राखेको छ। नरैनापुरमा ५९ जना संक्रमितमध्येमा केहीलाई पिपरीमा राख्ने निर्णय गरेपछि स्थानीयवासी निरन्तर आन्दोलनमा उत्रिएका थिए।

विरोधमा उत्रिएकाहरु रातिसम्म नाराबाजी गर्दै रहेपछि जिल्लाबाट ठूलो संख्या प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी परिचालन गरिएको थियो।

जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका अधिकृत एवं कोरोनाका फोकलपर्सन नरेश श्रेष्ठका अनुसार, पिपरीमा ४१ जना, खजुरास्थित क्यान्सर अस्पतालमा बनाइएको आइसोलेसन अस्पतालमा २८ जना, नेपालगञ्जको डेन्टल लायन्स आइसोलेसन सेन्टरमा २२ जना र दाङको बेलझुण्डीस्थित अस्पतालमा आठ जनालाई राखिएको छ।

  • No tags available
प्रकाशित मिति : २०७७ जेठ ८ गते बिहीबार