शुभाकर विश्वकर्मा । कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिका, ११ मा भाडामा बस्दै आएकी कमला खड्का फुटपातमा कपडा बेचेर दैनिक चलाउँथिन् । दैनिक कपडा बेचेर कमाएको पैसाले उनको दैनिकी चल्थ्यो । सुर्खेत स्थायी घर भएकी उनी वर्षयता भने श्रीमान सँगै बस्दै आएकी थिइन् ।
तर उनी विगत २ महिनायता कोठाबाट बाहिर निस्कन सकेकी छैनन् । कोरोना भाइरसका कारण जारी लकडाउन सुरु भएदेखि कपडा बेच्न जान नपाइएको उनले बताइन् ।
उनका अनुसार सुरुवाती केही हप्ता अलिअलि भएको पैसाले खानपिन गर्दै आएपनि अहिले भने दैनिकी चलाउन निकै समस्या भइसकेको छ ।
अहिले सबैभन्दा ठूलो मारमा अनौपचारिक क्षेत्रका श्रमिक छन् । बन्दाबन्दीले उनीहरूको दैनिक रोजीरोटी गर्ने माध्यम नै ठप्प भएको छ । ‘लामो समयको बन्दाबन्दीले हाम्रो चुल्हो बल्न छोड्यो ।
साहुको ऋण गरेर खरिद् गरेर ल्याएको कपडा कोठामा थन्किएको छ । कमाउने यो बाहेक अर्को विकल्प छैन’ उनी भन्छिन् । श्रीमान पनि एक अण्डा सप्लाई गर्ने उद्योगमा काम गर्थे । लामो समयको लकडाउनका कारण उनी काममा जान पाएका छैनन् ।
काममा नगएपछि साहुले पैसा पनि दिदैन । ‘पहिला नगरपालिकाले एकै ठाउँमा बसेर कमाउन दिएन । अहिले यस्तो दुःखको बेला न सरकारले हेरेको छ न त नगरपालिकाले ।
हामी काम गरि खानेहरुलाई त कहिले यो कोरोना जाला भन्ने भएको छ,’ उनी आफ्नो दुःख सुनाइन् । उनीसँग नागरिकता नभएकोले वडाले राहत दिएन तर श्रीमानको नाममा दिएको राहत समेत सकिसकेको छ ।
लकडाउन बढ्ने निश्चित जस्तै भएका कारण कमलाको परिवारमा कालो बादल छाइसकेको छ । उनको परिवार मात्रै होइन कोहलपुरका यस्ता धेरै बस्तीका नागरिकहरु सरकारले दिने राहत कुरिरहेका छन् दैनिक छाक टार्नको लागि ।
यता कोहलपुरले नगरपालिकाले भने पहिलो चरणको राहत वितरण सकिएको जनाएको छ । नगरपालिकाले शुक्रबार पत्रकार सम्मेलनको आयोजना गरेर अहिले सम्म राहत वितरणमा गरेको खर्चको विषयमा समेत जानकारी दिएको हो ।
यता प्राय वडाले भने दोस्रो चरणको राहतको तयारीमा रहेको जनाएका छन् । कोहलपुरमा रहेका १ देखि १५ नम्बर वडा मध्ये अधिकांश वडाअध्यक्षहरुले दोस्रो चरणको राहत वितरणको तथ्यांक संकलन भइसकेको तथा केही समयमा दोस्रो चरणको राहत वितरण सुरु हुने बताएका छन् ।
वडा नम्बर १२ का कार्यबाहक अध्यक्ष नैनबहादुर शाहीले एकसाता भित्र आफ्नो वडाले दो्रस्रो चरणको राहत वितरण सुरु हुने जानकारी दिए । उनका अनुसार अहिले वडा कार्यालय राहतको वितरणको पूर्वतयारीका कार्य गरिरहेको छ ।
यस्तै वडा नम्बर पाँचका अध्यक्ष विष्णु प्रसाद तिवारी समेत वडा कार्यालय दोस्रो चरणको राहत वितरणको प्रक्रियामा रहेको बताउँछन् ।
उनले वडा नम्बर पाँचमा वडामा कोरोना संक्रमण भेटिन नदिन सक्रिय रुपमा कार्य गरिरहेको बताए । वडा नम्बर २ ले भने दोस्रो चरणको राहत वितरण गरिरहेको छ । वडा अध्यक्ष कर्ण बहादुर बुढाक्षेत्रीले राहत वितरणको अन्त्यमा आएको जानकारी दिए ।
उनका अनुसार दोस्रो चरणमा कुल १ हजार ४ सय ९७ जनाले राहत प्राप्त गरेका छन् । यस अघि वडाले पहिलो चरणमा ३ सय ११ जनालाई राहत वितरण गरेको थियो । अन्य वडा कार्यालयले समेत दोस्रो चरणको राहत वितरणको तयारीमा रहेको बताएका छन् ।









प्रतिक्रिया दिनुहोस्