नेपालगञ्जमा पुगे २३ जना कोरोना संक्रमित, एउटै टोलमा २२ संक्रमित



नेपालगञ्ज ।

बाँकेको नेपालगञ्जमा कोरोना पुष्टी भएका २३ जनामध्ये २२ जना एउटै टोलका रहेका छन् । उनीहरु नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८ महेन्द्रपार्क नजिकै रहेको जोलहनपुर्वा टोलका हुन् । स्वास्थ्य कार्यालय बाँकेका कोरोना रोग फोकल पर्सन नरेश श्रेष्ठले कुल ९४ जना ब्यक्तिको ‘स्वाब’ को पीसीआर परीक्षण गर्दा एउटै टोलका २२ जनामा कोरोना पोजिटिभ देखिएको जानकारी दिए । ‘संकलन गरिएको सबैको रिपोर्ट आउँदा मंगलबा नयाँ ७ जना संक्रमित थपिए’ उनले भने ‘कोरोना पोजिटिभ देखिएका सबै २२ जना ब्यक्ति एउटै टोलका हुनुहुन्छ ।’

गत शुक्रबार यसअघि नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ७ का ६० बर्षिय ब्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको थियो । उनी वडा नम्बर ८ महेन्द्रपार्क स्थित जोलहनपुर्वा टोलमा रहेको अन्सारियन मस्जिदमा साँझ–बिहान नमाज पढ्थ्ये, भने मदरसा इस्लामिया फैजुल उलुमका शिक्षक रहेको कोरोना फोकल पर्सन श्रेष्ले बताए । उनीले त्यही टोलका बालबालिकाको घरमै पुगेर ट्युसन (उर्दु) पढाउने गरेका थिए । ती संक्रमितले अन्य ब्यक्तिमा पनि संक्रमण फैलाएको आशंकामा उनको ‘कन्ट्रयाक्ट ट्रेसिङ’ का आधारमा गत शनिबारबाट वडा नम्बर ७ र ८ मा स्वाब संकलन सुरु गरिएको थियो ।

मंगलबार नेपालगञ्ज आएको विश्व स्वास्थ्य संगठनको प्राविधिकसहितको टोली ।

कोरोना फोकल पर्सन श्रेष्ठका अनुसार कुल संकलन गरिएको ९४ वटा स्वाबलाई तीन चरणमा परीक्षण गर्दा नयाँ ७ सहित २२ जनामा पोजिटिभ देखिएको हो । नेपालगञ्जका ६० बर्षिय ब्यक्तिमा शुक्रबार पहिलो पटक संक्रमण पुष्टि भएपछि संकलित स्वाब परीक्षण गर्दा आइतबार एकैदिन ९ र ६ गरी १५ जनामा संक्रमण पुष्टि भएको थियो । पछिल्लो पटक मंगलबार पुष्टि भएका ७ जनामध्ये ४ महिला र ३ जना पुरुष रहेका छन् । संक्रमित पुरुष २२, ३०, ४० र महिला ९, ३२, ३४ र ३५ वर्षका हुन् । नेपालगञ्जमा अहिलेसम्म फेला परेका संक्रमित ७ बर्षदेखी ६० वर्ष उमेरसम्मका रहेका छन् ।

संक्रमित आइसोलेसनमा

नेपालगञ्जका कोरोना संक्रमित २३ जनालाई नै बाँकेको खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा लगिएको छ । जिल्लामा कोरोना पुष्टी भएकाहरुलाई खजुरास्थित सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा लैजाने गरिन्छ । मंगलबार पोजेटिभ रिपोर्ट आएका नयाँ ७ जनालाई समेत दिउँसो आइसोलेसनमा लगिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

यसअघि कोरोना पोजेटिभ देखिएका अन्य १६ जनालाई समेत सुशील कोइराला प्रखर क्यान्सर अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको थियो । स्वास्थ्यकर्मी र सुरक्षाकर्मीहरुले कोरोना पुष्टी भएकाहरुलाई एम्बुलेन्समा राखेर आइसोलेसन अस्पतालमा राखेका थिए । संक्रमितको संख्या बढ्दै गएपछि अहिले नेपालगञ्जको महेन्द्र पार्क नजिक रहेको जोलहनपुर्वा टोललाई चारैतिरबाट सुरक्षाकर्मीले घेरेर राखेका छन् । पहिलो संक्रमित फेला परेपछि नै उक्त टोलसहित एकलैनी, डिएसपी रोड, धम्बोझी लगायत क्षेत्रलाई स्थानीय प्रशासनले शिल गरेको थियो ।

डब्ल्युएचओको टिम नेपालगञ्ज

लक्षण विना ठूलो मात्रामा कोरोना संक्रमित नेपालगञ्जमा भेटिएपछि विश्व स्वास्थ्य संगठनको एक टोली यहाँ आइपुगेको छ । विश्व स्वास्थ्य संगठनको उक्त स्वास्थ्य टोली नेपालगञ्ज आएको बाँके जिल्ला स्वास्थ्य कार्यालयका फोकल पर्शन नरेश श्रेष्ठले बताए । यहाँ ठूलो संख्यामा कोरोना भाइरस संक्रमित भेटिएपछि यतिबेला विश्व स्वास्थ्य संगठनको ध्यान नेपालगञ्ज केन्द्रित छ । विश्व स्वास्थ्य संगठनको स्वास्थ्य तथा प्राविधिक टोली मंगलबार नेपालगञ्ज आइपुगेको हो ।

नेपालगञ्ज आएसगैं उक्त टोलीले यहाँका विभिन्न टोल तथा बस्तिमा स्वाब संकलन कार्यमा सहजिकरण गरिरहेको छ । मंगलबार नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर ८, महेन्द्रपार्क नजिक टेन्ट लगाएर बाँकेको स्वास्थ्य टिमसँग विश्व स्वास्थ्य संगठनको उक्त टिमले कोरोना भाइरस आंशकित ब्यक्तिहरुको स्वाब संकलनको कार्यमा सहयोग गरेको थियो । विश्व स्वास्थ्य संगठनको टोलीमा डाक्टर लगायतको टिम रहेको छ भने उनीहरुको विस्तृत जानकारी खुलाइएको छैन । सो टोलीले यतिबेला नेपालगञ्जको कोरोना संक्रमित स्थलमा काम गरिरहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७७ वैशाख २४ गते बुधबार