नेपालगञ्ज ।
रातको समयमा घरको आँगनमा मकै भेटिएपछि बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–१८ मिलिजुली टोलमा त्रास फैलिएको छ । सबै सुतेपछि अज्ञात व्यक्तिले घरको आँगनमा काँचो मकै फालेर गएको पाइएको स्थानीयले बताएका छन् ।
स्थानीय मनोज डिसीले झण्डै ३० घरको आँगन र करेसाबारीमा काँचो मकै फेला परेको जानकारी दिए । उनका अनुसार उक्त टोलको कुनै पनि घर बाँकी नराखी मकै फालिएको थियो ।
‘कसैको घरमा प्वाँख फालेको मकै त कसैकोमा प्वाँख नफालेको मकै फेला परेका छन्,’ उनले भने, ‘डरले प्रहरीलाई खबर ग¥यौँ।’ घरघरमा फालिएको मकै जिल्ला प्रहरी कार्यालय बाँकेको टोलीले उठाएर लगेको छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता प्रहरी नायब उपरीक्षक शिवबहादुर सिंहले स्थानीयलाई त्रास फैलाउने उद्देश्यले मकै फालिएको हुन सक्ने बताए ।
‘स्थानीयको आँगन र करेसाबारीमा फालिएको मकै परीक्षणका लागि पठाइनेछ’ उनले भने, ‘मकै फालेर त्रास फैलाउनेको प्रहरीले खोजी तिव्र पारेको छ ।’









प्रतिक्रिया दिनुहोस्