कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले लकडाउनको समयमा विभिन्न जिल्लाबाट आएका कामदार तथा मजदुरहरुको लागि विशेष सतर्कता अपनाएको छ । सरकारले आह्वान गरेको लकडाउनकाको मारमा परेका विभिन्न जिल्लाबाट हिडेरै पुगेकाहरुकालाई आराम, खानपिन देखि स्वास्थ्य जाँच गर्नको लागि हेल्थ हेल्प डेस्कको व्यवस्था गरिएको हो ।
दैनिक ३ सय देखि ५ सय जनासम्म व्यक्ति कोहलपुर आउन-जान थालेपछि उनीहरुको आवश्यकतालाई मध्यनजर गर्दै बिहीबारबाट नगरपालिकाले दुई जना स्वास्थ्यकर्मी सहित हेल्थ डेस्क स्थापना गरेको छ । विभिन्न सहयोगी निकायहरुको सहयोगमा पानी तथा खानेकुराको व्यवस्था गरिएको छ ।
तीन प्रदेशको ट्रान्जिट प्वाइन्टको रुपमा रहेको कोहलपुरको चौराहाबाट दैनिक ५ सय जना पैदल यात्रीहरु भित्रिने र बाहिरिने गर्दछन् । प्रदेश ५ कै बर्दिया जिल्लाका बहुसंख्यक मजदुर चौराहा, मानखोला हुँदै घर पुग्ने गरेका छन् । ‘दैनिक विभिन्न जिल्लाबाट मजदुरहरु हिडेर आउँछन् । उनीहरुको निकै बिजोग छ ।
त्यसैले चौराहामा उनीहरुको स्वास्थ्य जाँच देखि खानपिन र आरामको व्यवस्था गरेका छौ’ कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जुकुमारी चौधरीले भनिन् । उनका अनुसार बिहान चार बजेदेखि राति ११ बजेसम्म विभिन्न जिल्लाबाट मजदुरहरु आउने गर्दछन् । अहिले सम्म पूर्वको सुनसरी, गोरखा, चितवन, नुवाकोट लगायतका जिल्लाबाट कर्णाली र सुदूर पश्चिममा जानको लागि कामदारहरु आउने गरेको उनले जानकारी दिइन् ।
उप–प्रमुख चौधरीका अनुसार सबैभन्दा बढी काठमाडौँबाट मानिसहरु हिडेर आएका छन् । उनीहरु अधिकतम् दुई साता देखि न्युनतम एक सातासम्म हिडेरै पुग्ने गरेका छन् । लगातार हिडेका कारण समस्यामा परेका उनीहरुलाई खानपिनका लागि आराम गराएर सुरक्षाकर्मीको रोहबरमा सम्बन्धित जिल्लामा पठाउने गरिएको छ । ‘अहिले सम्म सुदूर पश्चिमका धेरै कामदार आएका छन् ,त्यस पछि बर्दिया जिल्लाका मजदुरहरु हिडेर यहाँ पुगेका छन्’ उनले भनिन्, ‘उनीहरुले कोहलपुर नगरपालिका र सुरक्षाकर्मीहरुको रोहबरमा बैजनाथ गाउँपालिकाको मानखोलासम्म पु¥याउने गरेका छौ ।
त्यसपछि सम्बन्धित स्थानीय तहले सकुशल उद्धार गरिरहेको अवस्था छ ।’ विश्वभरी महामारीको रुपमा फैलिएकोे कोरोना भाइरसका कारण गरिएको लकडाउनका कारण समस्यामा परेकाहरुको उद्धारको लागि नगरपालिका सक्रिय रुपमा लागि परेको उनले बताइन् । चौराहाको हेल्थ डेस्कमा खटिएकी स्वास्थ्यकर्मी लोकमाया भारतीले कोहलपुर नगरपालिकाको अगुवाई हेल्थ डेस्क स्थापना गरिएको बताइन् । उनका अनुसार लगातार हिडेका कारणमा शरिरमा पानीको मात्रा कम देखिएको छ । लगातार हिडेर आएकाहरुको स्वास्थ्य एकदमै नाजुक अवस्थामा रहेको उनले जानकारी दिइन् । ‘अहिले सम्म स्वास्थ्य जाँच गरेको मजदुरहरुको अवस्था नर्मल नै देखिएको छ । लगातार हिडेका कारण शरिरमा पानीको मात्रामा कमि देखिएको छ ।
हामी उहाँहरुलाई कम्तिमा आधा घण्टा आराम गर्न दिन्छौ ।’ अर्का स्वास्थ्यकर्मी सुदिप देवकोटाले भने । १६ देखि ६० वर्ष उमेर समूहका मानिसहरु हिडेर यात्रा गरिरहेको उनले अवगत गराए । यस्तै कोहलपुरमा क्रियाशिल विभिन्न संघ संस्थाहरुले चौराहामा आराम गरिरहेकाहरु कामदारको लागि खानेकुराको व्यवस्था गरेका छन् ।
चौराहामा हेल्थस्थापना भएपछि नगरपालिकासँगको सहकार्यमा खानेपानी र चाउचाउ सहयोग गरिरहेको लायन्स क्लवका चिन्तामणी धितालले जानकारी दिए । उनका अनुसार बिहिबार ६० जनालाई खुवाइएको र शुक्रबार सय जना जतिलाई चाउचाउ र पानी उपलब्ध गराइएको थियो । यता जिल्ला प्रहरी कार्यालय बाँकेले सुरक्षाको लागि जिल्लाका कुसुम बजार, मानखोला, चौराहा र धम्बोजीमा हेल्प डेस्क स्थापना गरिएको जानकारी दिएको छ ।









प्रतिक्रिया दिनुहोस्