दाना खाना नपाएर धमाधम मर्न थाले कुखुरा



कोहलपुर ।

बाँकेमा सञ्चालनमा रहेका फर्मका कुखुराहरु दान खान नपाएर धमाधम मर्न थालेका छन् । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनका कारण दाना ल्याउन नपाउँदा कुखुरा मरिरहेका हुन् । बैजनाथ गाउँपालिका वडा नम्बर २ पहाडीपुरका दीपक गुरुङ अहिले निकै तनावमा छन् । करोडौंको लगानीमा उनले सञ्चालन गरेको फर्मका कुखुरा दाना खान नपाएर धमाधम मरिरहेका छन्, भने अर्कोतिर किस्ता बुझाउन बैंकबाट दिनहुँजसो फोन आइरहेको छ ।

‘दाना खान नपाएपछि कुखुरा मरिरहेका छन्, बैंकले पनि यहीबेलामा किस्ता बुझाउन धेरै ताकेता गरिरहेको छ’ गुरुङले भने । बैदेशिक रोजगार व्यवसाय त्यागेर बाँके आएका उनले दुई करोड २५ लाख रुपैयाँको लगानीमा कुखुरा फर्म खोलेका थिए । लक्ष्यदीप पशु पालन फर्म दर्ता गरेर अण्डा उत्पादनका लागि गुरुङले ‘लेयर्स’ जातका ४ हजार ७ सय ५० वटा कुखुरा हुर्काइरहेका थिए । लकडाउनका कारण नियमित रुपमा दाना खान नपाउँदा अहिले कुखुरा धमाधम मरिरहेको उनले बताए ।

‘लकडाउन भएपछि मर्न सुरु गरेका कुखुरा अहिलेसम्म करिब डेढ सय जति बचेका छन्’ गुरुङले भने, ‘दैनिक रुपमा ६ देखि ७ सयको दरले कुखुरा मरे, एक दिन त १२ सय वटा कुखुरा मरेपछि म बेहोस नै भए । अहिले त कुखुरा फर्म रित्तो भइसकेको छ, फर्मतिर जाँदा रुन मात्रै मन लाग्छ ।’ करिब ७ महिनादेखि पालेका यी कुखुरा र दानामा मात्र उनले झण्डै ७० लाख रुपैयाँ लगानी गरेका थिए । उनको फर्ममा कुखुराका लागि दैनिक पाँच क्वीन्टल दाना खपत हुन्थ्यो, भने कुखुराले दैनिक १८ देखि २० पेटी अण्डा उत्पादन गर्थे । सरकारले कृषिका नाममा अनुदान बाँडेपनि आफूले कहिल्यै नपाएको उनले गुनासो गरे ।

‘मैले अहिलेसम्म राज्यबाट कुनै सहयोग वा अनुदान पाएको छैन, हाम्रा लागि राज्य नै छैन, राज्यको सहयोग बिना कृषि पेशा गर्नै गाह्रो छ’ गुरुङले भने । कुखुरा पालन गर्न काठमाडौंको मैतीदेवीमा रहेको आफ्नो घर बैंकमा धितो राखेर ल्याएको डेढ करोड ऋणको भारी छ । यस्तै साना किसान र विभिन्न ब्यक्तिबाट महंगो ब्याजमा ल्याएको अरु ७५ लाख ऋणले पनि थिचिरहेको छ ।

‘काठमाडौंको घर धितोमा राखेर १४ प्रतिशत ब्याजमा डेढ करोड ऋण ल्याएको छु, त्यो तिर्न सकिरहेको छैन, साना किसान र ब्यक्तिबाट गरेर ७५ लाख ऋण पनि त्यसै छ,’ उनले भने ‘त्यत्रो लगानी गरेर पालेका कुखुरा मरेर सक्किए, उता बैंकले किस्ता तिर्न ताकेता गरिरहेको छ, तनावमा छु ।’ बैंकले घर लिलाम गर्न तीन पटकसम्म पत्रिकामा सूचना प्रकाशित गरिसकेको गुरुङले सुनाए ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत ३० गते आइतबार