कोहलपुरमा ३४ सयलाई राहात वितरण



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाका १ देखि १५ वटा वडामा पहिलो चरणमा ३ हजार ४ भन्दा बढि विपन्नले राहत प्राप्त गरेका छन् । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि विगत दुई सातादेखि आह्वान गरिएको लकडाउनका कारण समस्यामा परेका विपन्न नागरिकहरुलाई वडा मार्फत खाद्यान्न वितरण गरिएको हो । पहिलो चरणमा नगरपालिकाले वडाहरुलाई प्रदान गरेको राहत स्वरुप वडाबाट ३ हजार ४ सय ३ जनाले खाद्यान्न प्राप्त गरेका हुन् ।

कोहलपुर नगरपालिका वडा नम्बर १ मा अहिले सम्म ६ जना अपांगता भएका व्यक्ति सहित ८४ जना अति विपन्नले राहत प्राप्त गरेका छन् । वडा अध्यक्ष गोपि खनालले पहिलो चरणमा वडाबाट अति विपन्नले पाएको र दोस्रो चरणमा नगरपालिकालाई संख्या पठाउनको लागि नामावली संकलन कार्य भइरहेको जानकारी दिए । यस्तै वडा नम्बर २ मा ३ सय ११ जनाले राहत पाएका छन् भने अन्यको नामावली संकलन भइरहेको वडा अध्यक्ष कर्णसिंह विसीले बताए ।

पहिलो चरणमा अति विपन्नहरुको मात्रै नामावली संकलन गरेर पठाएको र उनीहरुले पाएको उनको भनाई रहेको थियो । अन्य व्यक्तिहरुले आफूहरुले राहत नपाएको गुनासो गरेका कारण नामावली संकलनको लागि आफै टोलबस्तीमा पुगेको र नगरपालिकालाई संख्या पठाउने तयारी गरेको उनको भनाई छ । नगरपालिकाले वडा नम्बर २ लाई ३ लाख ४१ हजार ३ सय रुपैयाँ विनियोजन गरेको थियो । वडा नम्बर ३ ले शुक्रबारबाट राहत वितरण सुरु गरेको छ । जम्मा २ सय जनालाई वितरण गर्नको लागि नगरपालिकाले २ लाख २० हजार रुपैयाँ विनियोजन गरेकोमा पहिलो दिन ३५ जनालाई वितरण गरिएको वडा अध्यक्ष माधव रिजालले जानकारी दिए ।

यस अघि स्थानीय स्तरबाटै केही व्यक्तिहरुको सहयोगमा ९३ जनाले राहत पाएको उनले बताए । उनले वडामा सरकारी र गैरसरकारी संस्थामा जागिर भएकाहरुलाई नभई टोलटोलमा गई वास्तविक विपन्नको पहिचान गरिएको उनले जानकारी दिए । १५ जनाको समूहमा टोकन सिस्टमबाट राहत प्रदान गर्ने व्यवस्था मिलाइएको उनको भनाई थियो ।

वडा नम्बर ४ मा पहिलो चरणमा १ सय ८५ जनाले राहत पाएका छन् । अत्यावश्यक परेका व्यक्तिहरुलाई व्यक्तिगत रुपमा ३५ जनालाई २ क्विटल चामल सहयोग गरेको वडा अध्यक्ष तिरथराम थारुले जानकारी दिए । उनका अनुसार नगरपालिकाले वडालाई पहिलो चरणको लागि २ लाख ३ हजार ५ सय रुपैयाँ विनियोजन गरेको थियो । वडा नम्बर ५ मा भने २ सय २७ जनालाई राहत वितरण गरिएको छ । वडा अध्यक्ष विष्णु प्रसाद तिवारीका अनुसार २ लाख ४९ हजार ७ सय रुपैयाँ प्राप्त भएको थियो ।

दोस्रो चरणको राहतको लागि नामावली संकलन कार्य भइरहेको उनले जानकारी दिए । वडा नम्बर ६ का अध्यक्ष रामशरण थारुले पहिलो चरणमा जम्मा १ सय ३७ जनाले राहत वितरण गरेको बताए । उनका अनुसार भाडामा बस्ने र विद्यार्थीहरुले वडामा राहत नपाएको गुनासो गरेकोले नामावली संकलन गरेर नगरपालिकामा संख्या पठाउने तयारी भइरहेको छ । वडा नम्बर ७ का वडा अध्यक्ष दिपकजंग शाहलाई बारम्बार फोन गर्दा उनी सँग सम्पर्क हुन सकेन ।

वडा नम्बर ८ का अध्यक्ष रेशम बहादुर खत्रीका अनुसार ६ सय ५० अति विपन्नले राहत प्राप्त गरेका छन् । वडा नम्बर ९ मा १ सय ६२ जनालाई वितरण गरिएको वडा अध्यक्ष ठाकुर प्रसाद थारुको भनाई रहेको छ । वडामा नगरपालिकाले राहत वितरणको लागि १ लाख ६६ हजार पठाएको उनले जानकारी दिए । वडा नम्बर १० मा वडाबाट ३ सय ५३ तथा दाताबाट प्राप्त भएको राहतबाट ८८ जनालाई वितरण गरिएको वडा अध्यक्ष निम बहादुर चलाउनेले बताए । राहत प्राप्त गर्नको लागि वडा पठाएको संख्याको आधारमा नगरपालिकाले ३ लाख ७७ हजार २ सय रुपैयाँ विनियोजन गरेको थियो । यस्तै वडा नम्बर ११ मा ६ सय ९७ जनाले राहत प्राप्त गरेका छन् ।

वडा अध्यक्ष कर्ण बहादुर थापाले पहिलो चरणमा ९ सय ४२ जनाको वितरण संकलन गरिएको जानकारी दिए । दोस्रो चरणको लागि १५ सय जनाको नामावली संकलन गरिएको र व्यक्तिगत रुपमा एक जना व्यक्तिबाट ५६ जना गन्धर्वलाई राहत पारिएको उनले बताए । वडा नम्बर ११ ले पहिलो चरणको राहतको लागि १० लाख ३५ हजार प्राप्त गरेको थापाको भनाई थियो । राहत वितरण कै विषयमा वडा नम्बर १२ र १३ का वडा अध्यक्षहरु त्था अन्य सदस्यहरुलाई समेत फोन गर्दा सम्पर्क हुन सकेन ।

यता वडा नम्बर १४ की वडा सदस्य रुक्मिनी शर्माले दिएको जानकारी अनुसार वडापालिकाको तर्फबाट राहत वितरण भएको छैन । वडाका विपन्नहरुका लागि दुगड ग्रुपले दिएको राहत १ सय ५० जना वितरण भइसकेको छ । उक्त वडामा ३ सय ८८ जनालाई राहत वितरण गर्न बाँकी छ । र वडा नम्बर १५ का अध्यक्ष पतिराम थारुले नगरपालिकामा ७३ जनाको नामावली पठाएको आधारमा ७२ हजार ६ सय रुपैयाँ आएको तर स्थानीयको मागलाई मध्यनजर गर्दै १ सय ७५ लाई राहत वितरण गरिएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २९ गते शनिबार