रावन विश्वकर्मा । बाँसगढी ।
बर्दियाबाट ११ जनाको ‘स्वाब’ कोरोना भाइरस परीक्षणको लागि पठाईएको छ । जिल्लाका विभिन्न स्थानीय तहमा बनाइएका क्वारेन्टाइनमा राखिएका मध्ये बिहीबार ११ जनाको ‘स्वाब’ संकलन गरेर पठाइएको हो । कोरोना परीक्षणको लागि ११ जनाको ‘स्वाब’ प्रदेश जनस्वास्थ्य कार्यालय रुपन्देही बुटवल पठाइएको जिल्ला स्वास्थ्य कार्यालय बर्दियाले जनाएको छ ।
गुलरिया, मधुवन, राजापुर र ठाकुरबाबा नगरपालिकाका विभिन्न क्वारेन्टाइनमा राखिएका मध्ये कोरोना भाईरसको संक्रमणको आशंका गरिएका ११ जनाको ‘स्वाब’ परीक्षणका लागि बुटवल पठाएको स्वास्थ्य कार्यालय बर्दियाका प्रमुख गोकर्ण गिरीले जानकारी दिए । बर्दियाबाट यस अघि पनि कोरोना भाईरस (कोभिड–१९) परीक्षणका लागि ३ जनाको ‘स्वाब’ काठमाडौँ र ३ जनाको बुटवल पठाईएको उनले बताए ।
६ जनाको ‘स्वाब’ परीक्षण नतिजामा रिपोर्ट नेगेटिभ अर्थात कोरोना नभएको पुष्टि भएको थियो । बर्दियामा अहिले सबै स्थानीय तहहरुमा गरी ५ सय ७ बेड क्षमता भएको क्वारेन्टाइनको व्यवस्था गरिएको छ । अहिलेसम्म विभिन्न क्यारेन्टाइनमा ३ सय ९२ जनालाई राखिएको जिल्ला प्रशासन कार्यालय बर्दियाले जानकारी दिएको छ । प्रशासन कार्यालय बर्दियाका अनुसार गुलरियामा २ सय ५, बारबर्दियामा ५२, गेरुवामा ३२, मधुवनमा ३०, बाँसगढीमा २२, बढैयातालमा २०, ठाकुरबाबामा १८ र राजापुरमा १३ जनालाई क्वारेन्टाइनमा राखिएको छ ।
बर्दियामा सरकारले कोरोना संक्रमण फैलिन नदिन घोषणा गरेको लकडाउन प्रभावकारी बनाउन कडाई गरिएको छ । सोही क्रममा बिहीबार मात्र लकडाउन उल्लघंन गर्ने एक दर्जन बढी मोटरसाइकललाई प्रहरी युनिटहरुले नियन्त्रणमा लिएका थिए । बिहीबारसम्म जिल्लाभर लकडाउन उल्लघंन गर्ने १ सय ५० वटा मोटरसाईकललाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्