कोहलपुर ।
बाँकेको कोहलपुर नगरपालिकाले सुरु गरेको विपत् तथा राहत कोषमा धमाधम सहयोग जुटिरहेको छ । कोरोना भाइरस संक्रमण रोक्नको लागि नगरपालिकाले स्थापना गरेको कोषको लागि धमाधम सहयोग जुटिरहेको हो ।
कोहलपुरमा कोरोना भाइरस संक्रमणसँग जुध्नको लागि व्यक्ति, विद्यालय र विभिन्न संघ संस्थाहरुले सहयोग गरिरहेको नगरपालिकाले जनाएको छ । कोहलपुर नगरपालिका प्रमुख लुट बहादुर रावतले बुधबारसम्म कोषमा २ लाख ४५ हजार रुपैयाँ सहयोग बाफत जम्मा भएको जानकारी दिए ।
नगरपालिकाले सञ्चालनमा ल्याएको कोषमा कोहलपुर बसपार्क बजार सुधार समितिले ५५ हजार, बसोबास महिला बहुउद्देश्यीय सहकारी संस्थाले २५ हजार, गोरखा युनाईटेड पब्लिक स्कूल कोहलपुरले १ लाख रुपैयाँ जम्मा गरेको उनले बताए ।
यसैगरी खिल प्रसाद भूसालले ५५ हजार र अन्य एक जनाले १० हजार रुपैयाँ विपत् कोषलाई सहयोग गरेका छन् । विपत् कोषमा प्राप्त भएको सहयोग कोरोना भाइरस नियन्त्रणको कार्यमा खर्च गरिने नगर प्रमुख रावतले जानकारी दिए ।
‘यो सहयोग नगरपालिकामा अत्यावश्यक क्षेत्रमा खर्च गछौँ, अत्यावश्यक वस्तु खरिद् गर्नेछौं’ उनले भने, ‘विपत्तिमा सघाउनको लागि मनकारी व्यक्ति, विद्यालय र संस्थाहरुले सहयोग गरिरहेका छन् ।
हामी उहाँको सहयोगको सहि सदुपयोग हुनेमा विस्वस्त छौं ।’ नगर प्रमुख रावतले विपत्तिको बेला फजुल खर्च कटाएर कोषलाई सहयोग गर्न सबैलाई आह्वान समेत गरे । अहिले सम्म सबैभन्दा बढी गोरखा युनाइटेड स्कूलबाट १ लाख सहयोग प्राप्त भएको छ ।
यो नगरपालिकाको विपत् कोषमा प्राप्त भएको सबै भन्दा ठूलो सहयोग समेत हो । त्यहाँ कार्यरत शिक्षकहरुको तलब कटाएर सहयोग गरिएको विद्यालयले जनाएको छ ।
स्कुलका प्रबन्ध निर्देशक राजेन्द्र बहादुर गुरुङका अनुसार शिक्षकहरुको तलब कटाएर कोषलाई सहयोग गरिएको थियो । कोरोना भाइरसका कारण उत्पन्न परिस्थितिमा नगरपालिकामा रहेको विपन्नहरुलाई सहयोग पुगोस भनेर सहयोग गरिएको उनले बताए ।
कोषमा ५५ हजार रुपैयाँ सहयोग गर्ने कोहलपुर बसपार्क बजार सुधार समितिका अध्यक्ष कृष्ण रानाभाटले विपत्तिको बेला सर्वसाधारण जनतालाई आईपर्ने समस्या समाधानका लागि सहयोग होस भन्ने उद्देश्यले सहयोग गरिएको बताए । ‘महामारी तथा विपत्तिको बेला सबैको हातेमालो आवश्यक हुन्छ’ उनले भने, ‘म सबैलाई सक्दो सहयोग गर्न समेत अनुरोध गर्दछु ।’
अध्यक्ष रानाभाटले सामाजिक उत्तरदायित्व अन्तर्गत कोषलाई सहयोग गरिएको जानकारी दिए । अहिले कोहलपुर नगरपालिकाले पिपरीमा रहेको कृषि विकास बैंकको तालिम केन्द्रमा क्यारेन्टाइन बनाएको छ । नगरपालिकाले भारत तथा तेस्रो मुलुकबाट आएकाहरुलाई क्यारेन्टाइनमा राख्ने गरेको छ ।
नगर भित्रका स्वास्थ्य संस्था तथा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरलाई आवश्यक स्वास्थ्य साम्रगी समेत दिइएको नगर उपप्रुमख सन्जुकुमारी चौधरीले जानकारी दिइन् ।
कोरोना संक्रमणको भएको शंका लागेमा शिक्षण अस्पताल कोहलपुरमा पठाउने व्यवस्था मिलाइएको छ । अहिले नगरपालिकाले सरकारले घोषणा गरेको लकडाउनको समयमा समस्यामा परेकाहरुलाई वडागत रुपमा राहात वितरण गरिरहेको छ ।









प्रतिक्रिया दिनुहोस्