भाडावालालाई ‘राहत’ पाउनै मुस्किल



कोहलपुर :

बाँकेको नेपालगञ्जकी सैजा देहलबाई विगत पाँच वर्षदेखि कोहलपुर–११ को गोलपार्कमा बस्छिन् । उनी एक गृहिणी हुन् । उनका श्रीमान कोहलपुर मै जुत्ता सिलाउँछन्  । उनीहरुको मुख्य आम्दानीको स्रोत त्यही जुत्ता सिलाएर आएको ज्याला हो । तर उनीहरु विगत दुई हप्ता देखि घरबाट बाहिर निस्कन पाएका छैन् ।

कोरोना भाइरसका कारण सरकारले लगाएको लकडाउनका कारण भोकमरीको समस्या भएको उनको भनाई छ । स्थानीय सरकारले विपन्नलाई राहात वितरण गर्छ भन्ने सुनेकी उनी मंगलबार वडा नम्बर ११ को कार्यालयमा समेत पुगिन् ।

‘दुई दिन देखि छोराछोरी भोकै छन्, राहात पाइन्छ की भनेर गएकी थिए’उनले भनिन्,‘भाडावाला घरधनीको सिफारिस चाहिन्छ भन्छन् । घरबेटी यहाँ छैनन् । छोराछोरीको भोको पेट पाल्न सकिने भयो ।

दुई केजी चामल दिएपछि केटाकेटीको मन बुझाउथे ।’ संयोग वडा कार्यालयमा उनी जस्तै विपन्नहरुको लागि भनेर राहात वितरण हुदै थियो । तर न वडा अध्यक्ष न त कर्मचारी कसैले उनको समस्या बुझेनन् । मंगलबार दिउँसो वडा कार्यालय मै राहातको लागि पुगेकी सुशिला बमको पनि पीडा उस्तै छ । श्रीमान रोजगारीको शिलशिलामा भारतमा छन् ।

कालिकोट स्थायी घर भएकी की उनी विगत तीन वर्षदेखि  कोहलपुरमा भाडामा बस्छिन् । उनका अनुसार राहात वितरणको लागि भनेर दुई पटक नाम लेखाएको भएपनि राहात पाइएको छैन । घरमा खाने कुरा केही पनि नभएपछि वडा कार्यालयमा पुगेकी रहिछन् ।  भन्छिन्,‘आफू भोकै बसेपनि छोराछोरीको लागि केही सहयोग पाउला सोचेकी थिए ।

लिष्टमा नाम नै आएको छैन भनेर फर्काइदिए ।’  टोलका केही अगुवाहरुका एकै घरका दुई तीन जनाको समेत नाम लेखेको उनले बताइन् । एकतानगर मै बस्दै आएकी मुनकोइला शाहीले पनि सरकारले आह्वान गरेको लकडाउनका कारण भाडावालाहरुलाई बिचल्ली भएको बताइन् । सधै भारतमा गएर कमाएर जिविकोपार्जन गर्ने उनको परिवार समेत लकडाउनको मारमा परेको छ ।

लामो समय बन्द भएपछि केही सहयोग पाइन्छ की भनेर वडा कार्यालयमा आएपनि सहयोग नपाइएको उनको भनाई छ ।‘हाम्रो बस्तीमा राहातको लागि वडा कार्यालयबाट कर्मचारी नै आएका छैनन्, यही टोली एकजना बहिनी आएकी थिइन्’उनले भनिन्,‘कहिले राहत पाउने हो भनेर सोध्दा आफूहरुले लिष्ट नगरपालिकामा नगएको र विपन्नलाई मात्र वितरण गर्ने  हो भनेछन् । हामी पनि विपन्न हो । काम नगरि खानलाउन पुग्दैन । दुई हप्ता सम्म समस्यै समस्यामा छौ ।’

यता वडा कार्यालयले लकडाउनका कारण समस्यामा परेका ज्यालामजदुरी गर्ने, विपन्न र गरिबहरुको तथ्यांक संकलन गरेको जनाएको छ । वडा नम्बर ११ का अध्यक्ष कर्णबहादुर थापाले १ हजार १ सय जनाको तथ्यांक संकलन गरिएको बताए । वडामा रहेका २० वटा टोलमा  अगुवाहरुलाई परिचालन गरेर तथ्यांक संकलन गरि वितरण समेत भइसकेको उनको भनाई छ ।

अध्यक्ष थापाका अनुसार पहिलो चरणमा ११ सय जनालाई वितरण गर्ने र दोस्रो चरणमा छुटेका वास्तविक पीडितहरुलाई वितरण गरिनेछ । वडामा रहेको विपन्न व्यक्ति कोही पनि नछुट्ने  उनको भनाई छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २६ गते बुधबार