नोवल कोरोना भाइरसका कारण अहिले विश्वका कयौँ शक्तिशाली देशहरु पनि आक्रान्त बनिरहेको अवस्था छ । कोभिड–१९ नाम दिइएको उक्त भाइरसको संक्रमणबाट शक्तिशाली देश चीन, अमेरिका, इटाली, इरान, जापान, भारत लगायतका देशहरु पनि अछुत रहन सकेनन् । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार नेपाल पनि यसको उच्च जोखिममा छ, पछिल्लो समय नेपालमा पनि ९ जनामा यसको संक्रमण पुष्टि भइसकेको छ । यसका संक्रमित फेला परेसँगै नेपाल सरकारले अहिले देशभर ‘लकडाउन’ घोषणा गरेको छ । बाँकेको कोहलपुरमा यसको पूर्ण रुपमा पालना गराउन स्थानीय प्रशासन लागिपरेको छ । लकडाउनका कारण आमनागरिकको दैनिक जीवनयापनसँगै हरेक क्षेत्रमा प्रभाव परेको छ । अत्यावश्यक वस्तुहरुमा समेत प्रत्यक्ष असर पुगेको देखिन्छ । यसै सन्दर्भमा कोहलपुर क्षेत्रमा खाद्यवस्तुको पर्याप्तता, बजार अनुगमन, मुल्यवृद्धि, कृतिम अभाव, कालोबजारी लगायतको अवस्थाका बारेमा कोहलपुर नगरपालिकाका उपप्रमुख एवम् उपभोक्ता हित संरक्षण समिति संयोजक सन्जु कुमारी चौधरीसँग यानबी साहुले गरेको कुराकानी ।
१. कोहलपुर क्षेत्रमा अत्यावश्यक वस्तुहरुको पर्याप्तता कस्तो छ ?
कोहलपुर क्षेत्रमा त्यस्तो कुनै अत्यावश्यक खाद्यवस्तुको अभाव देखिएको छैन् । अहिलेसम्म सबै खाद्यवस्तुहरु पर्याप्त नै छ । कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले देशभर लकडाउन घोषणा गरेपनि खाद्यवस्तुहरु निरन्तर आपूर्ती भइरहेको पाइएको छ । खाद्यान्न, फलफुल तथा तरकारीका पसलहरुमा अनुगमन गरिएको दाल, चामल, तेल, तरकारी, फलफुल पर्याप्त मात्रामा भएपनि नुन र पिठोको थोरै अभाव देखियो । त्यो पनि छिट्टै आपूर्ती हुन्छ भन्ने कुरा भएको छ । अत्याश्यक वस्तुहरुको निरन्तर आपूर्ती भइरहेकोले कोलपुर क्षेत्रमा धेरैजसो खाद्यवस्तुहरुको प्रर्याप्तता नै छ तर केहि एक दुई वस्तुहरुको केहि मात्रामा अभाव भएपनि त्यो पनि छिट्टै आपूर्ती हुन्छ । समग्रमा कोहलपुर क्षेत्रमा अत्यावश्यक वस्तुहरु पर्याप्त नै पाइएको छ ।
२. ‘लकडाउन’ को समयमा अत्यावश्यक वस्तुहरुको कृतिम अभाव, कलोबजारी हुन सक्ने सम्भावना पनि हुन्छ । यसलाई कसरी अनुगमन गर्नु भएको छ ?
विश्व नै महामारीको संकटमा रहेको बेला मूल्यवृद्धि, कृतिम अभाव, कालोबजारी हुन सक्छ भनेर चर्चा परिचर्चा भइरहँदा कोहलपुर क्षेत्रमा हामीले त्यसलाई रोक्नका लागि नगरपालिकाले उपप्रमुख एवम् उपभोक्ता हित संरक्षण समितिको संयोजकत्वमा (मेरो आफ्नै) नेतृत्वमा टोलि खटाएको अवस्था छ । यो टोलिमा म आफै भएकोले एकदमै चिन्तित र गम्भिर पनि छु । आम उपभोक्ताहरुलाई अत्यावश्यक खाद्यवस्तुहरुको सहज आपूर्ती कसरी गराउने र सरल सहज तरिकाले उनीहरु समक्ष कसरी पु¥याउने भन्ने कुरामा । अत्यावश्यक खाद्यवस्तुको मूल्यवृद्धि, कृतिम अभाव, कालोबजारी हुन सक्ने परिस्थितिलाई मध्यनजर गर्दै नगरपालिकाले निरन्तर अनुगमन गरिरहेको छ । सुरु सुरुमा मूल्यवृद्धि हुन थाल्यो भनेर केहि गुनासाहरु आएपनि अहिले बजारमा गएर बुझ्दा त्यस्तो पाइएको छैन । त्यसका साथै केहि दिन पहिले तरकारीमा कालोबजारी भयो भनेर गुनासो आएपछि हामीले तरकारी पसलहरुमा छड्के अनुगमन ग¥यौ र एक दुई वटा पसलमा त्यस्तो भटियो । उनीहरुलाई तत्कालै कारवाहीको दायरामा ल्याएउन सफल भएका थियौँ । अहिले पछिल्लो समय अनुगमन गर्दा कुनै मूल्यवृद्धि, कालोबजारी भएका पाइएको छैन् । सरल र सहज रुपमा विक्रि वितरण भइरहेको छ ।
३. अनुुगमनका क्रममा कुनै व्यापारीहरुले कृतिम अभाव वा कालोबजारी सिर्जना गरेको पाइएमा कस्तो कारवाही हुन्छ ?
कुनै पनि व्यक्ति वा व्यापारीले अत्यावश्यक खाद्यवस्तुहरु महंगो मूल्यमा बेचेको, कालोबजारी, कृतिम अभाव गाएको पाइएमा प्रचलित कानुन वमोजिम नै उनीहरुलाई कारवाही हुन्छ नै । त्यसैगरी, अहिलेको अवस्थामा अत्यावश्यक वस्तुहरुको अभाव हुन नदिन संघ, प्रदेश र स्थानीय सरकारले पनि व्यापारीहरुलाई पटक पटक ध्यानाकर्षण गराएको अवस्था छ । स्थानीय सरमकारे पनि विभिन्न सञ्चार माध्यमबाट मुल्यवृद्धि, कालोबजारी, कृतिम अभाव जस्ता कार्यहरु नगर्न अथराउन आग्रह गर्दै आइरहेको छ । यसरी पटक पटक आग्रह अपिल गर्दा पनि कुनै कसैले अटेर गरेर त्यस्तो गरेको पाइमा प्रचलित कानुन वमोजिम कारवाही हुन्छ, र भएको पनि छ ।
४. अहिले अत्यावश्यक खाद्यवस्तु, तरकारी, फलफुलको मुल्य महँगो किन्नु परेका गुनासाहरु पनि आउने गरेका छन् । साँचिकै मूल्य वृद्धि भएको हो ?
हैन, अहिलेसम्म त्यस्तो कुनै पनि अत्यावश्यक वस्तुहरुको मूल्यवृद्धि भएको पाइएको छैन् । हामीले त्यसको निरन्तर अनुगमन गरिरहेका पनि छौँ । कहिले खाद्यान्न पसल, कहिले तरकारी त कहिले औषधी पसलहरुमा । बिचमा केहि समय औषधी पसलहरु नखुलेको, सामान्य विरामीहरु औषधी किन्न आउँदा नपाएर फर्किनु पर्ने गुनासाहरु आएपछि नगरपालिकाबाट स्वयं मेरै नेतृत्वमा निजि क्षेत्रका व्यवसायी तथा औषधी पसल सञ्चालकहरुसँग समन्वय गरेर अहिले निरन्तर सञ्चालन गर्ने व्यवस्था मिलाइएको छ । लकडाउन सुरु हुनु भन्दा अगाडिको अवस्थामा मूल्यवृद्धि, कृतिम अभाव हुन सक्छ भन्ने केहि हल्ला चलेपनि अहिलेको अवस्थामा नगरपालिकाले निरन्तर अनुगमन गरेपछि त्यस्तो अवस्था सिर्जन हुन पाएको छैन । यदि कहिँ कतै भएको पाइएमा तुरुन्त फोन गर्न समेत आग्रह गरेका छौँ । अत्यावश्यक वस्तुको कृतिम अभाव, कालोबजारी भएको पाइएमा तत्काल कारवाही गछौँ ।
५. आम नागरिकहरुमा एउटा अन्यौलता के पनि छ भने अत्यावश्यक वस्तुका पसलहरु कुन समयमा खुल्छन् । त्यहाँसम्म कसरी जाने भन्ने पनि छ ?
यसमा केन्द्र सरकारले नै सूचना जारी गरेको छ कि अत्यावश्यक काम बाहेक बाहिर नस्किनु भनेर । त्यस्तै प्रदेश र स्थानीय सरकारले पनि अत्यावश्यक काम बाहेक अन्य समयमा घर बाहिर ननिस्कौँ, लकडाउनको पूर्ण रुपमा पालना गरेर आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भनेर पटक पटक जानकारी, अनुरोध र विभिन्न माध्यमबाट सूचनाहरु दिँदै आइरहेको अवस्था छ । यदि अत्यावश्यक अवस्थामा निस्कनै पर्ने भएमा स्थानीय प्रहरी प्रशासनलाई जानकारी गराएर निस्केको खण्डमा सहयोग गरेको पनि छ । तर अनावश्यक रुपमा हिडडुल गर्नेहरुलाई नियन्त्रणमा लिएको अवस्था पनि छ । त्यसैले अत्यावश्यक वस्तु किन्नका लागि स्थानीय प्रशासनको समन्वयमा पसहरु खुलेको समयमा जुनसुकै समयमा पनि जान सकिने हुन्छ ।
६. यो समयमा दैनिक ज्याला मजदुर गर्ने तथा विपन्न परिवारका लागि छाक टार्नै मुस्किल पर्ने अवस्था छ । नगरपालिकाले त्यस्तो कुनै राहतको कार्यक्रम ल्याएको छ ?
पक्कै पनि लकडाउनको समयमा प्रत्यक्ष सबैभन्दा धरै असर पर्ने भनेको नै दैनिक ज्याला मजदुर गर्ने श्रमिक, अतिविपन्नहरु नै हुन् । नगरपालिकाले सबै वडाहरुबाट उनीहरुको लगत संकलन गरेर राहत वितरण कार्य पनि सुरु भइरहेको छ । नगरपालिकका १५ वटै वडाहरुबाट गरी करिब ४ हजार ३ सय जना दैनिक ज्याला मजदुरी गर्ने र अति विपन्न परिवारको तथ्यांक आएको छ । यो विषयमा नगरपालिका एकदमै सचेत छ । कोही पनि भोक भोक मर्न नपरोस् भनेर राहत वितरणको जिम्मा प्रत्येक वडा कार्यालयलाई दिएका छौँ । सोही अनुसार नै वितरण कार्य भइरहेको छ ।
७. राहत वितरण गर्दा दैनिक ज्याला मजदुर गर्ने विपन्नहरुको पहिचान कसरी गर्नु भएको छ ?
यसको लागि नेपाल सरकारले नै मापदण्ड तयार पारेर फम्र्याट नै पठाएको छ । त्यो फम्र्याट अनुसार दैनिक ज्याला मजदुर गर्ने विपन्नहरु परिवारको डाटा संकलन गरिन्छ । सोही फम्र्याटका आधारमा उनीहरुको पहिचान गरिन्छ ।
८. कतिपय पालिकामा गुणस्तरहीन अर्थात राजनीतिक पहँुचका आधारमा राहत वितरण गरियो भन्ने गुनासाहरु पनि आएका छन् । के यहाँको नगरपालिकामा ?
कोहलपुर नगरपालिकामा अहिलेसम्म त्यस्तो कुनै समस्या देखिएको छैन । गुणस्तरहीन खाद्यवस्तु नहोस् अथवा पहुँचको आधारमा वितरण नहोस् भनेर म आफै फिल्डमा खटेको छु । कुनै कुनै स्थानीय तह वा पालिकाहरुमा गुणस्तरहीन, किरा लागेको चामल, दाल वितरण गरिएको भन्ने कुरा विभिन्न अनलाइन, पत्रपत्रिका, रेडियोहरुमा सुनियो । तर त्यसप्रति कोहलपुर नगरपालिका एकदमै सचेत छ ।
९. कोहलपुर क्षेत्रमा लकडाउनको पूर्ण रुपमा पालना भएको देखिएन । साँझ बिहान सडकहरुमा मानिसहरुको भिडभाड उस्तै देखिन्छ त ?
तपाइले भनेको कुरा एकदमै ठिक हो । यो समस्या कोहलपुर नगरपालिकामा मात्र नभई सबै ठाउँमा यस्तै छ । लकडाउनको उल्लङ्घन समयमा बाहिर हिडडुल गर्नेहरुको संख्या साँझ र बिहानको समयमा बढेको पाइएको छ । उहाँहरुले नबुझेर गर्नु भएको हो कि बुझिबुझि बुझ् पचाउनु भएको हो । अटेरी गरेको देख्दा हामीलाई अचम्म लागिरहेको छ । स्थानीय प्रशासन पनि यसलाई कसरी कन्ट्रोल गर्न सकिन्छ भनेर लागेको छ । केन्द्र सरकारले पनि आइतबार मात्रै एक पालिकाबाट अर्को पालिका प्रवेश गर्न रोक लगाएको छ । यसमा आम नागरिकहरु आफैमा सचेत हुन पनि अत्यन्तै जरुरी छ । कोहलपुर नगरपालिकाको सोमबार बसेको सर्वदलिय÷सर्वपक्षिय भेलाले पनि लकडाउनलाई थप प्रभावकारी बनाउन विभिन्न निर्णयहरु समेत पारित गरेको छ ।
१०. कोहलपुरमा सोमबार बसेको सर्वदलिय÷सर्वपक्षिय भेलाले के के निर्णय गरेको छ ?
नगरप्रमुख लुट बहादुर रावतको अध्यक्षतामा समेतबार बसेको सर्वदलिय÷सर्वपक्षिय भेलाले लकडाउनलाई थप प्रभावकारी बनाउन कोहलपुरमा कडाई गर्ने निर्णय गरेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि गरिएको लकडाउनलाई पूर्ण रुपमा पालना गर्न कोहलपुर प्रवेश गर्ने चार वटै नाका बन्द गर्ने निर्णय समेत गरिएको छ । जसअन्तर्गत पुर्वमा चप्परगौंडी–रोहिनी खोला, पश्चिममा मदनचोक भन्दा अगाडी नगरपालिकाको सिमा, उत्तरमा कौशिलानगर र दक्षिणमा पार्वतीपुरसम्मको नाका बन्द गर्ने निर्णय भएको छ । लकडाउनको अवधिभरि निजि सवारी साधन संचालनमा पूर्ण रुपमा रोक लगाउनुका साथै कोहलपुर क्षेत्रभित्र पेट्रोल बेच्न नदिने निर्णय समेत गरेको छ । विशेष गरी निजि सवारी साधन मोटरसाईकललाई पेट्रोल उपलब्ध नगराउने तर अत्यावश्यक सवारी साधन भने उद्योग वाणिज्य संघ तथा ईलाका प्रहरी कार्यालयसँग समन्वय गरेर संचालन गर्न दिने निर्णय गरिएको छ भने प्रत्येक वडाका मुख्य सडकहरु पूर्ण रुपमा बन्द गर्ने र विपन्न समुदायका ब्यक्तिहरुको घरमै पुगेर राहत वितरण गरिएको छ ।
११. अन्त्यमा आम कोहलपुर नगरवासीहरुलाई के सुझाव दिन चाहनु हुन्छ ?
अहिले विश्व नै कोरोनाको महामारीमा छ । यस नोवल कोराना भाइरसका विरुद्ध सबै देशहरु लडिरहेको अवस्थामा नेपालमा पनि यसको जोखिम उत्तिकै छ । केहि व्यक्तिमा यसको संक्रमण पुष्टि भइसकेको अवस्था छ । हामीले यसलाई अझै पनि हल्का रुपमा लियौ भने भोलि भयावह अवस्था सिर्जन हुन सक्छ । यसको लागि हामी सबै उत्तिकै जिम्मेवार छौँ । हामी स्वयं आफैले आफ्नो व्यक्तिगत सुरक्षाका बारेमा सोचेनौँ भने भोलि विकराल स्थिति पनि आउन सक्छ । सरकारले लागु गरेको लकडाउनलाई सबैले पूर्ण रुपमा पालना गरौँ । कोरोनाको महामारी बढ्दो क्रममा रहेकोले आफू पनि बचौँ र अरुलाई पनि बचाऔँ भन्न चाहन्छु ।
अन्तयमा उपप्रमुख चौधरीसंग यानबी साहुले मिसन टुडे दैनिक र रेडियो मिसनका लागि गरेको कुराकानी :









प्रतिक्रिया दिनुहोस्