अमेरिका :
कोरोना भाइरस (कोभिड–१९) बारे गलत तरिकाले प्रचार गरेको भन्दै अमेरिकी नौसेना (नाभी)का एक कमाण्डर बर्खास्तमा परेका छन्। सूचना प्रवाहमा गलत बाटो अपनाएको भन्दै बिहीबार क्याप्टेन ब्रेट क्रोजियरलाई पदबाट बर्खास्त गरिएको सीएनएनले समाचार लेखेको छ।
‘मेरो कमाण्डमा रहेका यूएसएस थियोडोर रुजवेल्टका क्याप्टेन ब्रेट क्रोजियरलाई कमाण्डर पदबाट मुक्त गरिएको छ’, पेन्टागनमा गरिएको पत्रकार सम्मेलनमा नाभीका कार्यकारी सेक्रेटरी थोमस मुड्लीले भने, ‘उनले सूचना प्रवाहमा अत्यन्तै खराब फैसला गरेका छन्।’
मुड्लीले क्याप्टेन क्रोजियरलाई सूचना चुहाएकै कारण बर्खास्त भने नगरेको तर उनको पेषागत दक्षता नदेखिएकाले बर्खास्त गरिएको बताए। ‘कोरोना भाइरस फैलिने जटिल अवस्थामा उनले पेषागत मर्यादामा रहेर सही निर्णय लिन सकेनन्’, उनले भने।
सेक्रेटरी मुड्लीले पहिले आफूलाई थाहा नपाएको तर सन फ्रान्सिस्को क्रोनिकलमा छापिएपछि जहाजमा कोरोना पुष्टि भएको कुरा थाहा भएको बताए। उनले भने, ‘यसरी पत्रिकामा छापिएको देख्दा हामी सबैलाई निकै चकित तुल्यायो।’
क्याप्टेन क्रोजियरले गत साता नौसेनाको नेतृत्वलाई जहाजमा १ सय जनामा कोरोना संक्रमण रहेको बताउँदै लेखेको पत्र सञ्चार माध्यममा लिक भएको थियो। कडा शब्दमा लेखिएको उक्त पत्र मंगलबार सन फ्रान्सिस्को क्रोनिकलमा छापिएको थियो।
सो लगत्तै उनलाई कमाण्डर पदबाट हटाइएको हो।










प्रतिक्रिया दिनुहोस्