कम्तीमा लकडाउन चैतभरि राख्‍ने तयारी



काठमाडौं ।

कोरोना सङ्क्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लकडाउन (बन्दाबन्दी) लाई कम्तीमा चैतसम्म लम्ब्याउने तयारी गरेको छ ।

सरकारले पहिलोपल्ट चैत ११ देखि साताव्यापी लकडाउनको घोषणा गरेको थियो । १७ गते बसेको उच्चस्तरीय समिति बैठकले २५ गतेसम्म कायम राख्ने निर्णय गरेको थियो ।

बिहीबार बसेको उच्चस्तरीय समितिको १६ औं बैठकले पारिवारिकरूपमा खेती–बालीको काम गर्न दिने, राष्ट्रिय गौरवका आयोजनाभित्र काम गर्न दिनेगरी केही खुकुलो पारे पनि चैतसम्म लकडाउन कायमै राख्ने तयारी गरेको स्रोतले जानकारी दियो । सरकारले अप्रिल १५ सम्म अन्तर्राष्ट्रिय उडान रोकेकोले त्यतिबेलासम्म लकडाउन कायमै रहन सक्ने स्रोतको भनाइ छ ।

“चिकित्सा सामग्री खरिद् गरेर परीक्षणको दायरा फराकिलो बनाउने र कन्ट्याक ट्रेसिङ (सङ्क्रमितको सम्पर्कमा पुगेकाहरूको पहिचान र परीक्षण) गरेपछि मुलुकभित्र केही खुकुलो बनाउने, तर अन्तर्राष्ट्रिय सीमा बन्द नै राख्ने नीति थियो । चिकित्सा सामग्री खरिद्मा समस्या भएपछि चैतसम्म यही अवस्था कायम हुन्छ । त्यसपछि परिस्थिति हेरेर लम्बिने, नलम्बिने भन्न सकिन्छ,” स्रोतले भन्यो ।

सरकारले उपत्यका बाहिर पनि ल्याब त स्थापना गरेको छ । तर, चीनबाट खरिद् गरेर ल्याइएको किट्सको गुणस्तरीयतामै चिकित्सकले शङ्का गरेपछि परीक्षणको दायरा बढ्न सकेको छैन ।

स्वास्थ्य सेवा विभागले चिकित्सा सामग्री खरिद्को जिम्मा पाएको ओम्नी समूहसँग सम्झौता रद्द गरिसकेकाले प्रक्रियामार्फत् ल्याउन कम्तीमा दुईसाता लाग्ने बताइएको छ ।

सरकारले चिकित्सा सामग्री खरिद्का लागि रक्षा मन्त्रालयमार्फत् नेपाली सेनालाई दिने र त्यसको समन्वय स्वास्थ्य मन्त्रालयले गर्ने तयारी गरेको छ । मन्त्रिपरिषद् बैठकले निर्णय पनि गरिसकेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत २१ गते शुक्रबार