अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकी नागरिकहरूलाई कठिन दुई साताका लागि तयार रहन भनेका छन्।
मंगलबार ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा अमेरिकामा दुई सातामा कोरोना भाइरसका कारण ज्यान गुमाउनेहरूको संख्याले उच्च बिन्दु छुने जानकारी दिदैं ट्रम्पले आफ्ना नागरिकहरूलाई कठिन अवस्थाका लागि तयार रहन भनेका हुन्।
त्यसैगरी राष्ट्रपति ट्रम्प र उनका उच्च तहका स्वास्थ्य सल्लाहकारहरूले कोरोना भाइरसविरुद्धको लडाईंमा अमेरिकी नागरिकहरू सामाजिक दुरीलाई कडाइका साथ पालना गर्नुपर्ने बताएका छन्।
‘आगामी ३० दिनसम्म अमेरिकी मानिसहरूले मार्गदर्शनलाई गम्भिरताका साथ पालना गर्नुपर्नेछ। यो जीवन र मरणको सवाल हो’, ट्रम्पले भने।
उनले कोरोना भाइरससम्बन्धी सुरक्षात्मक मार्गनिर्देशनहरूलाई अप्रिल ३० सम्म लम्ब्याइएको जानकारी दिए।
त्यसैगरी सो पत्रकार भेटघाटमा ह्वाइट हाउसका कोरोना भाइरस संयोजक डिबोरा ब्रिक्सले संक्रमणका कारण अमेरिकामा आउँदा महिनाहरूमा एक देखि दुई लाख चालिस हजार मानिसहरूको ज्यान जान सक्ने तथ्याकं चित्र प्रस्तुत गरेका थिए।
यसअघि आइतबार राष्ट्रपति ट्रम्पले सही प्रयास नगरेको भए २२ लाख मानिसहरूको ज्यान गुमाउने अवस्था आउने बताएका थिए।
अमेरिकामा हालसम्म एक लाख ८८ हजार बढी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेको छ भने ३ हजार ८ सय ८९ जनाको ज्यान गइसकेको छ।
पछिल्लो समय अमेरिका कोरोना भाइरसको इपिसेन्टर बनेको छ।









प्रतिक्रिया दिनुहोस्