स्वास्थ्य सामाग्री लिएर केहीबेरमा जहाजमार्फत सुर्खेत पुग्दै स्वास्थ्य राज्यमन्त्री रावत



सुर्खेत ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री नवराज रावत कर्णाली प्रदेशका लागि प्राप्त हुने स्वास्थ्य सामाग्रीसहित सुर्खेतका लागि उडने तयारी गरेका छन् ।

नेपाली सेनाको स्काई ट्रक मार्फत कर्णाली प्रदेशका लागि प्राप्त स्वास्थ्य सामाग्री लिएर उनी काठमाडौं विमानस्थलबाट सुर्खेत विमानस्थलमा आउने तयारी गरेको हुन् ।

स्वास्थ्य राज्यमन्त्री रावतले कोभिड–१९ को नियन्त्रण, उपचारका लागि आवश्यक स्वास्थ्य सामाग्री सरकारले जुटाईरहेको जानकारी दिए ।

कोरोना भाइरस (कोभिड–१९) को उपचार तथा रोकथामका लागि प्रयोग हुने स्वास्थ्य सामाग्री ल्याएर राज्यमन्त्री आउन लागेको बताइएको हो । उनले भने ‘सरकारले कोभिड–१९ परिक्षण केन्द्र सातै प्रदेशमा स्थापना गर्ने निर्णय गरेको छ ।

सोही निर्णय बमोजिम कर्णाली प्रदेशको प्रादेशिक अस्पतालमा विशेषज्ञ स्वास्थ्यकर्मी समेत खटाईएको छ ।’

कर्णाली प्रदेश अस्पतालमा कोभिड–१९ परिक्षण विशेषज्ञ डा. महेन्द्र प्रसाद भट्ट, रामकृष्ण श्रेष्ठ, सुनिल प्रसाद लेखक खटाउने स्वास्थ्य मन्त्रालयले निर्णय गरेको छ ।

कर्णाली प्रदेशका लागि प्राप्त स्वास्थ्य सामाग्री सुर्खेत विमानस्थलमा झारी कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयलाई हस्तान्तरण गरी कर्णालीका सबै अस्पताल, स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीहरु सम्म पुग्ने व्यवस्था मिलाइने जनाइएको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १७ गते सोमबार