सभापति एक पटक स्वतः महाधिवेशन प्रतिनिधि
प्र
काठमाडौं । नेपाली काँग्रेसको १३औं महाधिवेशन नजिकिदै गर्दा पार्टीका जिल्ला सभापतिहरु संगठित भएर अभियान चलाउन थालेका छन् ।
काँग्रेसको नयाँ निर्वाचन निर्देशीका अनुसार १८ जिल्लाका सभापतिहरु फेरी सभापति बन्न नपाउने भएपछि उनीहरुको अभियनले थप तिव्रता पाउन थालेको छ ।
काठमाडौमा दुई ओटा भेला सम्पन्न गरिरहेका सभापतिहरुले चाडै नै बृहत भेला आयोजना गर्ने तयारी पनि गरेका छन् ।
काँग्रेस काठमाडौंका जिल्ला सभापति भिमसेनदास प्रधानले यसअघि दुई ओटा साना भेलाहरु भईसकेको र चाडै नै अर्को भेला आयोजना गर्न लागिएको बताए । उनले जिल्लामा स्थानीयस्तरका अधिवेशनहरुको तयारी र केन्द्रीय नेताहरु जिल्ला जिल्लामा गएकाले जिल्ला सभापतिहरु अहिले एकैठाउमा भेला हुन नसकेको बताए । “तैपनि हामीले उठाएका एजेण्डका बारेमा फोन मार्फत छलफल भईरहेको र यही ९ गतेपछि अर्को भेला आयोजना गर्ने तयारी भईरहेको छ”, उनले भने । सवै सभापतिहरुको भेला भने जिल्ला अधिवेशन सकिएपछि मात्रै हुन सक्ने उनले बताए ।
उनीहरुले भेला मार्फत् फेरी जिल्ला सभापति बन्न नपाउने नेताहरुको व्यवस्थापन, जिल्ला सभापतिको भुमीका, केन्द्रीयस्तरको नितिगत व्यवस्था लगायतका विषयमा पार्टीलाई दवाव तथा सुझाव दिने तयारी गरेका छन् ।
लामो समय जिल्ला सभापति भईसकेको व्यक्तिलाई कतै न कतै व्यवस्थापन गर्नु पर्ने विषयमा बृहत छलफल गरेर केन्द्रीय समिति वा प्रदेश समितिमा ल्याउने उपायका बारेमा महाधिवेशनलाई सुझाव दिने प्रधानले बताए ।
त्यसैगरी केन्द्रीय सदस्यलाई झै जिल्ला सभापतिलाई पनि एक पटकका लागि स्वतः महाधिवेशन प्रतिनिधि र क्षेत्रीय सभापतिलाई स्वतः क्षेत्रीय प्रतिनिधि हुन पाउने व्यवस्था गर्नु पर्ने, सभापतिले मनोनयन गरेको व्यक्तिका बारेमा अनुमोदन गराउनु नपर्ने लगायतका व्यवस्था गर्नु पर्ने विषयमा पनि आफुहरुले बहस चलाईरहेको प्रधानले जानकारी दिए ।
साथै अहिले क्रियाशिल सदस्यहरुको नामावलीमा देखिएको त्रुटीलाई निर्वाचन समितिले जिल्ला सभापतिसंग समन्वय गरेर निर्णय लिनु पर्ने व्यवस्था गर्न पनि जिल्ला सभापतिहरुले माग गरेका छन् ।
प्रकाशित मिति : २०७२ माघ ७ गते बिहीबार
प्रतिक्रिया दिनुहोस्