इटलीमा कोरोनाबाट मृत्यु हुनेको संख्या १० हजार नाघ्यो



एजेन्सी ।

कोरोनाभाइरस संक्रमणबाट सबैभन्दा बढी मृत्यु इटलीमा भएको छ । पछिल्लो २४ घण्टामा ८८९ जनाको मृत्यु भएसँगै इटलीमा ज्यान गुमाउनेको संख्या १० हजार नाघेको छ ।

इटलीमा हालसम्म ९२ हजार ४७२ जनामा कोरोनाभाइरसको संक्रमण देखापरिसकेको छ । संक्रमितहरुमध्ये १२ हजार ३८४ जना निको पनि भइसकेका छन् भने बाँकी रहेका संक्रमितहरुमध्ये ३ हजार ८५६ जनाको अवस्था गम्भीर रहेको छ ।

उता कोरोनाभाइरसको प्रकोप स्पेनमा पनि तीब्र रुपमा देखापरेको छ । गएको २४ घण्टाभित्र मात्रै स्पेनमा यही संक्रमणको कारण ८४४ जनाले ज्यान गुमाएका छन् । अहिलेसम्म स्पेनमा ५ हजार ९८२ जनाले ज्यान गुमाइसकेका छन् ।

स्पेनमा कोरोनाभाइरसबाट ७३ हजार २३५ जना संक्रमित भएका छन् भने १२ हजार २८५ जना निको पनि भएका छन् । बाँकी रहेका संक्रमितहरुमध्ये ४,१६५ जनाको अवस्था गम्भीर रहेको छ ।

  • No tags available
प्रकाशित मिति : २०७६ चैत १६ गते आइतबार