वडाअध्यक्ष चलाउनेको आरोप ‘कोहलपुर नगरपालिका एनजिओ जस्तै हो’ [अडियोसहित]



कोहलपुर/   बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर १० का अध्यक्ष निमबहादुर चलाउने ‘निरज’ले कोहलपुर नगरपालिका गैरसरकारी संस्था (एनजिओ) जस्तो भएको आरोप लगाएका छन् । कोहलपुर नगरपालिकामा गैरसरकारी संस्थामा आवद्ध भएकाहरुको हालीमुहाली चलिरहेको उनले आरोप लगाएका हुन् ।

फोटो : फाईल 

आइतबार बिहान रेडियो मिसनको कार्यक्रम ‘मिसन चौतारी’मा कुराकानी गर्दै अध्यक्ष चलाउने कोहलपुर नगरपालिका जब सम्म एनजिओहरुको ‘कन्टिव्युसन’ योगदानमा चल्छ तब विकास नै नहुने दाबी गरे । ‘यो त एनजिओ नगरपालिका हो । गैससले आतंकित नगरपालिका हो । यहाँहरुले बुझिसक्नु भाछ’ उनले भने, ‘जब सम्म गैससमा आवद्ध भएकाहरुको हालमुहालीमा नगर चल्छ । तब सम्म यो देशको विकास हुँदैन यो ठाउँ (नगर)को विकास हुदैन, सम्भवै छैन ।’ यस्तै वडाअध्यक्ष चलाउनेले फरक बेलामा जनताबाट निर्वाचित भएको जस्तो आफूलाई आभास हुने गरेको बताए ।

नगरपालिकाले किसानको लागि वितरण गर्ने अनुदानमा समेत झण्झटिलो प्रक्रियाका कारण वास्तविक किसान लाभान्वित हुन नसकेको उनको भनाई रहेको थियो । ‘नगरपालिकाले किसानलाई प्रत्यक्ष अनुदान दिनुप¥र्यो, राम्रो व्यवसाय गर्नेले पाउँदैनन्, जो बाठो छ कागजी प्रक्रिया पुरा गरेको छ । उसले मात्रै पहुँचको आधारमा पाउँछ’ उनले भने । नारामा मात्रै सिंहदरबारको अधिकार गाउँ गाउँमा आएको भनिएपनि वास्तविक किसानहरुले अनुभूत गर्न नपाएको समेत वडाअध्यक्ष चलाउनेले गुनासो गरे ।

कार्यक्रममा बोल्दै कोहलपुरमा किसानका नाममा आउने अनुदानमा अनियमितता भएको समेत उनले आरोप लगाए । यदि त्यो निकायको अनुदानको निगरानी गर्ने हो भने, कोही पनि नबच्ने उनको भनाई थियो । उनीहरुको लागि ठूला–ठूला जेल बनाउनु पर्ने पनि उनले बताए । शैक्षिक क्षेत्रमा समेत निहित पहुँचवाला र राजनीतिक दलहरुको आतंक रहेको वडा अध्यक्ष चलाउनेले बताएका थिए ।

नगरपालिकामा रहेको नीजि तथा सामुदायिक विद्यालयम रहेका वेथिति अन्त्य गर्नको लागि नगरपालिकाले नेतृत्व लिनुपर्ने उनले दाबी गरे । पारदर्शिता, सुशासनमा पनि नीति विपरित कार्य हुने गरेको भन्दै एनजिओहरुको उपस्थितिमा नै खोट रहेको वडाअध्यक्ष चलाउनेले आरोप लगाए । जनताको कर होटलमा गरिने कार्यक्रम, नास्ता र विदेश भ्रमणमा मात्रै खर्च हुने गरेको भन्दै नियमन गर्न सम्बन्धित निकायलाई उनले आग्रह समेत गरेका थिए । चुनावको बेलामा जनताका माझमा गरेका बाचा पुरा नगरेमा अर्को चुनावमा जनताले नै भोटका माध्यमबाट सबैको मुल्यांकन गर्ने उनले दाबी गरे । वडाअध्यक्ष चलाउने गएको स्थानीय तह निर्वाचनमा नेपाली काँग्रेसबाट विजयी भएका हुन् ।

यसैबिच वडाअध्यक्ष चलाउनेले लगाएको आरोपको बारेमा के कोहलपुर नगरपालिका साँच्चै एनजिओ नै हो त ? भन्ने मिसन टुडेको प्रश्नमा नगर प्रमुख लुट बहादुर रावतले कोहलपुर स्थानीय सरकार भएको भन्दै एनजिओ हुनैै नसक्ने बताए । ‘कुनै वडाअध्यक्षले कुनै प्रसंगमा भनेको होला, यस विषयमा म धेरै बोल्न चाहन्न । कुनै पनि वडाअध्यक्ष ज्युले भन्नुहोला जस्तो मलाई लाग्दैन’ उनले भने, ‘तपाईहरु पत्रकार त्यो कुरा आएपछि भन्नु भयो, अरु पछि कुरा गरौंला, म कार्यक्रममा छु ।’

फोटो क्यासनः
रेडियो मिसनको कार्यक्रम ‘मिसन चौतारी’मा कुराकानी गर्दै वडाअध्यक्ष निमबहादुर चलाउने ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन २० गते मंगलबार