नेपालगञ्ज ।
व्यवसायीक एकता भएमा मात्र बाँकेको नेपालगञ्जमा व्यवसाय फँस्टाउने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका हुन् । व्यवसायीहरु फुटेर भन्दा पनि एकता गरेर अगाडि बढे व्यवसायीक रुपमा सफलता मिल्ने उनीहरुले जोड दिए । बाँकेको नेपालगञ्जमा बुधबार नेपालगञ्ज इलेक्ट्रोनिक्स एशोसिएसनले आफ्नो स्थापना दिवसको अवसरमा गरेको कार्यक्रममा बोल्ने सहभागिहरुले उक्त कुरामा जोड दिएका हुन् । कार्यक्रममा बोल्ने यहाँका व्यवसायीहरुले व्यवसायीक विकासको लागि अहिलेको आवश्यता भनेको व्यवसायीक एकता रहेको बताएका थिए । यस क्षेत्रमा ठूला व्यवसायीक घरानाहरुले आफ्ना शाखाहरु खोल्नुले यहाँको उद्योग व्यवसायहरुलाई अगाडि बढाउन मद्धत पु¥याउने उनीहरुले भनाई रहेको थियो ।
नेपालगञ्ज उद्योग बाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी ‘चुन्ना’ले व्यवसायी एकताको खाँचो औंल्याए । ठूला लगानीमा रहेका भाटभटेनी जस्ता सुपरमार्केट आउनु नेपालगञ्जका लागि राम्रै कुरा भएको उनले बताए । ‘कुनै पनि शहरको बैभव भनेको यस्तै सुपरमार्केटले देखाउँछ । यस्ता सुपरमार्केट आउनु समग्रमा शहरका लागि राम्रै कुरा हो ।’ अध्यक्ष चुन्नाले भने, ‘साना व्यवसायीलाई यसले पार्ने प्रभावका बारेमा पनि अब हामीले सोच्नुपर्ने बेला आएको छ ।’ शुक्रबारदेखि सञ्चालनमा आउन लागेको भाटभटेनीको विरोध गर्ने नभई व्यवसायीहरुले अब आ–आफ्ना कम्पनीसँग मार्जिनका बिषयमा छलफल चलाउनुपर्ने बेला आएको उनले बताए । ‘हामी व्यवसायीहरुबीच अहिले एकताको खाँचो छ ।
मिलेर अगाडी बढ्न हामी तयार छौं’ संघका अध्यक्ष चुन्नाले भने । भाटभटेनी सुपरमार्केटले छुटसहित सस्तोमा विभिन्न साम्रगीहरु दिने बताएपछि यहाँका साना व्यवसायीहरु व्यवसायमा गिरावट आउन सक्ने भन्दै निराश देखिएका छन् । संघका महासचिव चिरञ्जीवी ओलीले भाटभटेनी सुपरमार्केटसँग आफुहरुले लडाई नभएको बताए । ठूला व्यापारीक मलहरु र प्रतिष्ठानहरु यहाँ आउँदा हामी खुशी हुनुपर्ने भन्दै उनले उनीहरुका कारण बाहिर बाहिरका ग्राहकहरु नेपालगञ्जमा आउँने दाबी गरे । ‘भाटभटेनी नेपालगञ्ज आउँदा कोही कोही व्यापारी साथिहरु त्रसित र सशंकित भएको देखे’ महासचिव ओलीले भने, ‘ठूलो व्यापारीक प्रतिष्ठान भएकोले इलेक्ट्रोनिक्स सामानमा उसले कम्पनीबाट बढी प्रतिशत छुट पाउँछ र ग्राहाकलाई धेरै नै प्रतिशतसम्म छुट दिन्छ ।’
साना व्यवसायीहरुले कम्पनीबाट कम प्रतिशत मात्र छुट पाउँने हुदाँ ग्राहकलाई पनि कमै प्रतिशत छुट दिने गरेको उनले बताए । ‘भाटभटेनीसँग त्रसित र सशंकित नभई बरु एकजुट भएर कम्पनीसँग लड्नुपर्छ’ उनले भने । इलेक्ट्रोनिक्स व्यवसायी जहाँगीर मुसलमानले भाटभटेनीले यहाँका साना व्यवसायीहरुलाई चुनौती थपिदिएको बताए । ‘ठूलो लगानीमा केही दिनमा सञ्चालनमा आउन लागेको सुपरमार्केटले साना व्यवसायीहरुलाई समस्या पार्न सक्छ’ उनले भने, ‘उसले भारी छुटमा विभिन्न सामानहरु दिनसक्ने भएकाले अन्य व्यवसाय कमजोर हुन्छ ।’ यसबारे समयमा नै सरोकारवालाहरुले ध्यान दिनुपर्ने उनको भनाई रहेको थियो ।









प्रतिक्रिया दिनुहोस्