कोहलपुरका जनप्रतिनिधिलाई सिकलसेल तालिम



कोहलपुर ।

बाँकेको कोहलपुर नगरपालिकाका जनप्रतिनिधिहरुलाई सिकलसेल एनिमिया तथा थाइलेसिया सम्बन्धि एक दिने तालिम प्रदान गरिएको छ । थारु जातिमा मात्रै हुने बंशाणुगत रोग भएपनि पछिल्लो समय अन्य जातिमा समेत देखिन थालेकोले न्युनिकरणका लागि जनप्रतिनिधिहरुलाई तालिम प्रदान गरिएको हो ।

सिकलसेल एनिमिया र थालेसिया कस्तो रोगको परिचय, लक्षण, रोगलाई निराकरण गर्ने उपाय विषयमा जनप्रतिनिधिहरुलाई अभिमुखिकरण गराइएको थियो । तालिमलाई सम्बोधन गर्दै कोहलपुर नगरपालिकाकी उप–प्रमुख सञ्जु कुमारी चौधरीले सिकसेल एनिमिया तथा थालेसिया रोगको न्यूनिकरण गर्ने उद्देश्यले तालिमको आयोजना गरिएको बताइन् ।

उनका अनुसार नगरपालिकाले सिकलसेल न्यूनिकरण गर्नका लागि आर्थिक वर्ष २०७४/०७५ मा १५ लाख रुपैया छुट्याएको थियो । उक्त बजेट मार्फत कोहलपुरका विभिन्न विद्यालयहरुमा अध्ययनरत बालकालिकाहरुमा साइकेलिङ्ग टेष्ट गरिएको उनले बताइन् । चौधरीले कोहलपुर नगरपालिकाका एक हजार दुई सय विद्यार्थीहरुको सिकसेल सम्बन्धि रगत परिक्षण गरिएकोमा एक सय ३३ जनामा मात्र देखिएको जानकारी दिइन् । सो रोगको निवारण तथा जनचेतनाका लागि चालु आर्थिक वर्षमा पनि आठ लाख छुट्याइएको छ ।

‘कोहलपुर नगरपालिकामा सिकलसेल रोग सम्बन्धि परिक्षण गर्ने मेसिन जडान गर्नेछौ’उनले भनिन्,‘उक्त मेसिनको ३ करोड २१ लाख रुपैयाँ रकम छुट्याइएको छ ।’ कोहलपुर वडा नम्बर ६ का अध्यक्ष रामशरण थारुले सिकलेस रोग सम्बन्धि जनचेतना अभाव रहेको बताए । सिकलसेल रोगका विषयमा विद्यालय स्तरमा पाठ्यक्रमको रुपमा लागु गर्नु पर्नेमा उनले जोड दिएका थिए ।

सहभागी जनप्रतिनिधिहरुलाई भेरी अञ्चल अस्पतालका वरिष्ठ कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे, भेरी अस्पताल नर्सिङ प्रशासन प्रमुख दुर्गा लक्ष्मी श्रेष्ठ, नेपालगञ्ज मेडिकल कलेजका एसिस्टेट प्रोफेसर एण्ड कन्सस्टेट पेडियाट्रिसियन डा. रोमा बोरा लगायतको टोलीले प्रशिक्षण दिएका थिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन ११ गते आइतबार