ठाकुरद्धारामा प्रकृति संरक्षण दौड



नेपाली सेनाले नागरिक बिचको सम्बन्ध बिस्तार, प्रकृति संरक्षण र नेपाल भ्रमण वर्ष सफल पार्ने उद्देश्यका साथ बर्दियाको प्रमुख पर्यटकीय स्थल ठाकुरद्धारामा शनिबार पहिलो प्रकृति संरक्षण तथा रमाइलोका लागि दौड प्रतियोगिता गरेको थियो ।
,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,,

कृष्ण ओली । कोहलपुर ।

बर्दियाको प्रमुख पर्यटकिय क्षेत्र ठाकुरद्धारामा पहिलो पहिलो प्रकृति संरक्षण दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल भ्रमण वर्ष २०२० सफल पार्ने उद्देश्यका साथ बर्दिया राष्ट्रिय निकुञ्जको मुख्यालय ठाकुरद्धारामा शनिबार पहिलो प्रकृति संरक्षण तथा रमाइलोका लागि दौड प्रतियोगिता गरिएको हो । ‘अन्धोपनको नाटक नगर, दयालु व्यवहार गर’ भन्ने नारा सहित ‘प्रकृति संरक्षणका लागि दौड, रमाइलोका लागि दौड तथा नागरिकमैत्री सेना’ भन्ने नाराका साथ दौड भएको थियो । नेपाली सेनाको श्री ४ नम्बर बाहिनी अड्डा राँझा बाँकेको आयोजना तथा बर्दिया निकुञ्ज सुरक्षार्थ खटिएको शिव दल गणको आतिथ्यतामा प्रतियोगिता भएको हो ।

२१ किलोमिटर दौड, १० किलोमिटर पुरुष तथा महिला दौड र ५० वर्ष उमेर माथीका लागि ५ किलोमिटर दौड प्रतियोगिता सञ्चालन भएको थियो । प्रतियोगितामा नेपाली सेनाका अमल्दार खगेन्द्र भाट प्रथम भएका थिए । २१ किलोमिटर हाफ म्याराथनतर्फ भाट प्रथम भएका हुन् । उनले नगद ५० हजार रुपैयाँ पाए । हाफ म्याराथनतर्फ सिपाही जितेन्द्र दनुवार द्धितिय र सुवास कार्की तृतिय भए । उनीहरुले क्रमशः ३० हजार र २० हजारसहित प्रमाणपत्र प्राप्त गरेको शिव दल गणका निमित्त गणपती सेनानी विशाल नरसिँह अधिकारीले जानकारी दिए । प्रथम भएका भाटले १ घण्टा ५ मिनेट ४८ सेकेण्ड, द्धितिय भएका दनुवारले १ घण्टा ७ मिनेट २ सेकेण्ड, तृतिय कार्कीले १ घण्टा ७ मिनेट ४ सेकेण्डमा २१ किलोमिटर दौड पार गरे । १० किलोमिटर पुरुष दौडतर्फ नन्दनाथ योगी प्रथम, माधव कुमार चौधरी द्धितिय र ओम प्रसाद रोकाय तृतिय भएका थिए ।

महिलातर्फ भने शिवु कुमारी थारु प्रथम, अन्जु थारु द्धितिय र कञ्चन चौधरी तृतिय भएको नेपाली सेनाले जनाएको छ । उनीहरुलाई क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदसहित प्रमाण पत्र प्रदान गरिएको थियो । यसैगरी ५० वर्ष उमेर माथीका लागि भएको ५ किलोमिटर दौडमा पठनिया थारु प्रथम, चक्र बहादुर थारु द्धितिय र नारायण पाण्डे तृतिय हुन सफल भए । उनीहरुलाई क्रमशः ५ हजार, ३ हजार र २ हजार नगद सहित प्रमाणपत्र प्रदान गरिएको थियो । दौडसँगै रमाईलोका लागि रमाइलो दौड र रमाईलो साईकल रेस पनि भएको शनिबार सम्पन्न भएको थियो ।

महाशिवरात्रीका दिनमा पर्ने सेनाको दिवसको अवसर पारी शनिबार नेपाली सेना र नागरिक बिचको सम्बन्ध बिस्तार, प्रकृति संरक्षण र नेपाल भ्रमण वर्ष सफल पार्ने उद्देश्यका साथ प्रतियोगिताको आयोजना गरिएको श्री ४ नम्बर बाहिनी अड्डा बाँकेका बाहिनीपति सहायक रथी (जर्नेल) शुरेस कुमार बानियाले जानकारी दिए । सबैसँग सहकार्य गर्दै नेपाली सेना नागरिकमैत्री बन्न खोजेको उनले दाबी गरे । ‘नेपाली सेना अहिले समुदायमा कसरी सहयोगीको रुपमा अघि बढीरहेको भन्ने सबैलाई बुझाइरहेका छौं’ उनले भने, ‘आगामी दिनमा अझैँ कसरी अघि बढ्न सकिन्छ भन्नेबारे सल्लाह सुझाव लिइरहेका छौं ।’

नेपाली सेना र समुदाय बिचको सुमधुर सम्बन्ध परापुर्वकालदेखि रहिआएको बताउँदै उनले त्यसैलाई निरन्तरता दिन र अझैँ प्रगाढ बनाउँदै नेपाली सेना र समुदाय बिचको सम्बन्ध कायम राख्नका लागि अझैँ अघि बढिरहेको सन्देश दौडले दिएको बाहिनीपति सहायक रथी बानियाले बताए । प्रतियोगितामा नेपाली सेना, स्थानीहरु संरक्षणकर्मी, पर्यटन व्यवसायी लगायतको सहभागिता थियो । दौड प्रतियोगितामा झण्डै चार सय बढीको सहभागिता रहेको शिव दल गणका सहसेनानी (क्याप्टेन) सन्दीप कार्कीले जानकारी दिए ।

  • No tags available
प्रकाशित मिति : २०७६ फागुन ११ गते आइतबार