नयाँ भवनमा लालपुर सहकारी



कोहलपुर ।

बाँकेको बैजनाथ गाउँपालिका ६ मा रहेको लालपुर दुग्ध उत्पादक सहकारी संस्थाको भवन उद्घाटन गरिएको छ । मंगलबार प्रदेश नम्बर ५ को भूमि व्यवस्था एवं कृषि तथा सहकारी मन्त्री आरती पौडेलले भवनको उद्घाटन गरेकी थिइन् । उनले बैजनाथ गाउँपालिकालाई दुग्ध उद्योगका रुपमा विकास गर्ने बताइन् ।

‘त्यसका लागि गाउँपालिकामा रहेका दुग्ध सहकारीहरुलाई एकिकरण हुनुपर्दछ’ उनले भनिन्, ‘गत आर्थिक वर्ष देखि कृषकहरुलाई प्रति लिटर दुधमा १ रुपैयाँ ९२ पैसा दिने गरेका थियौ । तर चालु आवमा भने २ रुपैयाँ दिने निर्णय गरेका छौं’ । लालपुर दुग्ध उत्पादक सहकारी संस्थाका अध्यक्ष सत्य प्रसाद उपाध्यायले चार कोठे भवन १५ लाख १२ हजार ५ सय १६ रुपैयाँमा निर्माण भएको बताए ।

‘पहिले जिर्ण अवस्थामा रहेको सहकारी अहिले आफ्नै भवनमा काम गर्न पाउँदा ज्यादै खुसी लागेको छ’ उनले भने ‘विगत १० वर्षसम्म चुहिने छानामा काम गर्नुपर्दा असहज भएको थियो ।’ उद्घाटन कार्यक्रममा बैजनाथ गाउँपालिका अध्यक्ष मान बहादुर रुचाल, उपाध्यक्ष शारदा रेग्मी विश्वकर्मा, न्यू हरियाली उपभोक्ता समितिका अध्यक्ष नन्द विश्वकर्मा लगायतको उपस्थित रहेको थियो ।

  • No tags available
प्रकाशित मिति : २०७६ माघ २९ गते बुधबार